• १ जेठ २०८३, शुक्रबार

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

blog

फाइल तस्बिर

काठमाडौँ, जेठ १ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहत निकायमा रिक्त पदमा पदपूर्ति, नियुक्ति र मनोनयनका लागि रोष्टर सूचीमा नाम सूचीकृत गर्न आह्वान गरेको छ ।

मन्त्रालयका प्रवक्ता, सहसचिव जयनारायण आचार्यले मन्त्रालयको वेबसाइटमा गई रोष्टर सूचीमा नाम सूचीकृत हुनेसम्बन्धी सूचना खोलेर त्यहाँ रहेको ‘क्यूआर कोड’ स्क्यान गरी इच्छुक व्यक्तिले नाम सूचीकृत गर्न सक्ने गरी आवश्यक व्यवस्था मिलाइएको जानकारी दिनुभयो । 

उहाँका अनुसार यसरी नाम सूचीकृत गर्न यही जेठ ६ गतेसम्मका लागि समय तोकिएको छ । सरकारी योजनाअनुसार नियुक्तिलाई खुला र पारदर्शी बनाउन मन्त्रालयले नयाँ अभ्यासको सुरुआत गरेको र सोही सूचीकृत नामबाट पदपूर्ति, नियुक्ति र मनोनयन हुने पनि उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “यस मन्त्रालयसम्बद्ध निकायहरूमा रिक्त पदमा पदपूर्तिरनियुक्तिरमनोनयनका लागि रोस्टर सूचीमा सूचीकृत गर्न तयार गरिएको यसैसाथ संलग्न लिङ्करक्यूआरमा गई योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मिति २०८३ जेठ ६ गतेसम्म अनलाइन फाराम भरी सूचीकृत हुन सकिने व्यहोरा जानकारीका लागि अनुरोध छ ।”

मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी क्षेत्र विकास कोष, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल होटल, पर्यटन तथा पर्वतीय प्रतिष्ठानमा आवश्यक पदपूर्तिका लागि नाम दर्ता गराउन आह्वान गर्दै सूचना प्रकाशित गरिएको हो ।

यस्तै सांस्कृतिक संस्थान, तारागाउँ विकास समिति, देवघाट क्षेत्र विकास समिति, नेपाल पञ्चाङ्ग निर्णयक विकास, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति, बौद्धनाथ क्षेत्र विकास समिति, पाटन सङ्ग्रहालय विकास समिति र हनुमान ढोका दरबार सङ्ग्रहालयका लागि पनि नाम दर्ता गराउन भनिएको छ । रासस