• १ जेठ २०८३, शुक्रबार

वैशाखमा ५२ हजार भक्तजनले गरे पाथीभरा दर्शन

blog

ताप्लेजुङस्थित पाथीभराको दर्शन गर्न पुगेका भक्तजनको भिड ।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ १ गते । पछिल्लो एक महिनाको अवधिमा ५२ हजार बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार बैशाख महिनामा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् । 

समितिले बिहीबार साँझ सार्वजनिक गरेको विवरणअनुसार बैशाख महिनामा ५२ हजार २२८ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । बैशाख महिनाभर प्राय, वर्षा भएर मौसम प्रतिकूल भए पनि पाथीभरा दर्शन गर्ने भक्तजनहरु उल्लेख्य सङ्ख्यामा आएका समितिले जनाएको छ ।

प्रसिद्ध शक्तिपीठ पाथीभराप्रति आस्था र विश्वास भएकै कारण वर्षा र झरीबादल नभनी भक्तजनहरु दर्शनमा आएका समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङको भनाइ छ । कार्यकारी निर्देशक हाङ्बाङ अनुसार देशका विभिन्न जिल्ला तथा नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल लगायतका ठाउँबाट पाथीभराको दर्शन गर्न भक्तजन आएका छन् ।

यता उल्लेख्य सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेसँगै भेटी रकम पनि वृद्धि भएको छ । समितिका अनुसार बैशाख महिनामा एक करोड छ लाख २८ हजार रुपियाँ भेटी सङ्कलन भएको छ । गत चैत महिनामा ५८ लाख ४४ हजार ५०० रुपियाँ मात्र भेटी रकम जम्मा भएको समितिको तथ्याङ्क रहेको छ ।