राधा लुइटेल
फिदिम, जेठ १ गते । पाँचथरको फिदिम नगरपालिका–१४ स्थित लुङरुपा एकेडेमीमा अध्ययनरत बालकमाथि शिक्षिकाबाट निर्घात कुटपिट भएको छ ।
पीडित बालक सेसेफुङ नेम्वाङकी आमा सावित्रा नेम्वाङका अनुसार विद्यालयका शिक्षिका सुमित्रा सेन्दाङ (नेम्वाङ) ले ‘वान टु’ लेख्न नजानेको भन्दै बालकलाई भाटाले हानेकी हुन् ।
ढाडमा १८ भाटा हानेपछि बिरामी परेका सेसेफुङलाई शुक्रबार फिदिम स्थित गणेशमानसिंह सामुदायिक अस्पतालमा भर्ना गरिएको छ ।
"छोरो रातभरी सुत्न नसकेर छटपटाउनका साथै ज्वरो आएपछि लुगा फुकालेर हेर्दा शरीर भरी निलडाम देखिएपछि सोधपुछ गर्दा मिसले कुटेको थाहा भयो," आमा सावित्राले भन्नुभयो ।
घटनाबारे अभिभावकले वडाध्यक्ष राजकुमार नेम्वाङलाई जानकारी गराएका थिए । वडाध्यक्ष राजकुमार नेम्वाङले घटनाको जानकारी पाएपछि बालकको अवस्था दयनीय देखिएकाले तत्काल उपचारका लागि अस्पताल लैजान विद्यालय पक्षलाई निर्देशन दिएको बताउनुभयो ।
विद्यालय सञ्चालक संयोग सारु मगरले बालकमाथि कुटपिट गर्ने शिक्षिकालाई निलम्बन गरिएको तथा उपचार खर्च विद्यालय प्रशासनले व्यहोर्ने सहमति अभिभावकसँग भएको बताउनुभयो ।
पीडित पक्षले भने विद्यालय प्रशासन सम्पर्कमा नआएको गुनासो गरेका छन्। "हामीले फोन गर्दा पनि उठाउनु भएको छैन । सञ्चालकको श्रीमती मार्फत मेरो मोवाइलमा उपचार खर्च व्यहोर्छौं भनेर म्यासेज चाहिँ आएको छ," सावित्राले भन्नुभयो ।