• १ जेठ २०८३, शुक्रबार

स्थानीय तहद्वारा गोलिया काठ निकासी गर्न रोक

blog

मिक्वाखोला गाउँपालिकास्थित एक निजी वनबाट निकासी गरिएको गोलिया काठ । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ १ गते । ताप्लेजुङका स्थानीय तहले गोलिया काठ निकासीमा रोक लगाएका छन् । सडक पूर्वाधारहरु जोगाउन स्थानीय तहहरुले गोलिया निकासी तथा ढुवानी गर्न रोक लगाएका हुन् ।

जिल्लाका स्थानीय तहले बर्खा यामभर गोलिया काठ निकासी, ढुवानी र ओसारपसार गर्न नपाउनेगरी रोक लगाएका छन् । केही स्थानीय तहले जेठ महिनादेखि नै गोलिया काठ निकासी तथा ढुवानी गर्न रोक लगाएका छन् भने केहीले आउँदो असारदेखि गोलिया निकासी गर्न रोक लगाएका छन् ।

जिल्लाको मिक्वाखोला गाउँपालिकाले आउँदो असार १ गतेदेखि गोलिया काठ निकासी तथा ओसारपसार गर्नमा रोक लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत विमल गौतमले बिहीबार जारी गर्नुभएको सूचनाअनुसार असार १ गतेदेखि अर्को सूचना नभएसम्म गोलिया काठ निकासी, ढुवानी र ओसारपसार गर्नमा रोक लगाइएको उल्लेख गरिएको छ ।

हाल वन जङ्गलबाट निकासी गरिँदै आएको गोलिया काठ जेठ मसान्तभित्र ढुवानी तथा ओसारपसार गरिसक्नुपर्ने पनि प्रमुख प्रशासकीय अधिकृत गौतमद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । यस्तै आठराई त्रिबेणी गाउँपालिकाले गएको सोमबार नै सूचना प्रकाशित गर्दै जेठ १ गतेदेखि आगामी असोज मसान्तसम्म गोलिया काठ ढुवानी तथा निकासीमा रोक लगाएको छ ।

यहाँको सिरिजङ्घा गाउँपालिकाले पनि जेठ १ गतेदेखि नै अर्को सूचना नभएसम्मका लागि गोलिया काठ निकासी, ढुवानी र ओसारपसार गर्नमा रोक लगाएको छ । वर्षातको समयमा यातायात नै अवरुद्ध हुनेगरी सडकहरु बिग्रने र भत्किने भएकाले गोलिया निकासी र ढुवानी गर्न रोक लगाएको स्थानीय तहहरुले उल्लेख गरेका छन् । 

हालसम्म जिल्लाका ग्रामीण सडकहरु कुनै पनि पक्की अर्थात कालोपत्रे गरिएका छैनन् । वर्षातको समयमा ट्रयाक्टर र ठूला ट्रकहरुमा गोलिया निकासी तथा ढुवानी गर्नाले कच्ची सडकहरु भत्किएर क्षतिग्रस्त हुने गर्दछ । ग्रामीण सडक क्षति हुनबाट जोगाउनका निम्ति बर्खा यामभरलाई गोलिया निकासी तथा ढुवानी गर्न रोक लगाइएको आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमु (दिपेन) को भनाइ छ ।

स्थानीय तहले प्रतिबन्ध अर्थात रोक लगाएपछि गोलिया निकासी तथा ओसारपसार गरेको पाइएमा कारबाही हुने चेतावनीसमेत दिएका छन् । यता चालु आर्थिक वर्षको बैशाख मसान्त सम्ममा जिल्लामा १५ लाख ३६ हजार ५७४.८५ क्युविक फिट काठ निकासी भएको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । 

निमित्त डिभिजनल वन अधिकृत ललितकुमार यादवका अनुसार बैशाख सम्ममा निजी वनबाट उक्त परिमाणमा गोलिया काठ निकासी गरिएको हो । उत्तिस, चिलाउने, मलातोलगायत प्रजातिको गोलिया काठ निकासी गर्ने गरिएको यादवले बताउनुभयो । उहाँका अनुसार गोलिया काठ निकासीबाट बैशाख सम्ममा पाँच करोड ९३ लाख २७ हजार २८९ रुपियाँ राजस्व सङ्कलन भएको छ ।