विसं २०८२ चैतमा राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा करिब एक महिनाभित्रै विसं २०८३ वैशाख २९ गते सार्वजनिक भयो । सम्भवतः यो इतिहासमै चाँडो नतिजा प्रकाशन हो । यसै सन्दर्भमा लेखकलाई करिब चार दशकअघिको यस्तै परीक्षाको समय, परिवेश, अवस्था, घटना र परिघटना सम्झनामा आए । त्यसबेला एसएलसी र हाल एसइई भनिने परीक्षालाई विगत (तीन/चार दशकअघि) मा फलामे ढोकाका रूपमा लिइन्थ्यो ।
एसएलसी हुनुअघि इतिहासको कुनै कालखण्डमा यसलाई ‘म्याट्रिकुलेसन परीक्षा’ भनिन्थ्यो । यो परीक्षा नेपालमा हुँदैनथ्यो । राणा शासनकाल विसं १९३६ मा नेपालका लागि प्रथम पटक कलकत्ता (हाल कोलकाता) विश्वविद्यालयले यो परीक्षा लिएको थियो । त्यो पहिलो म्याट्रिक परीक्षामा सामेल हुन नेपालबाट जङ्गबहादुर राणाका भतिजा पुगे पनि उनी अनुत्तीर्ण भएपछि अर्को वर्ष विसं १९३७ मा चन्द्रशमशेर नै उत्तीर्ण हुने पहिलो नेपाली हुन पुगे । विसं १९८० देखि भने पटना विश्वविद्यालयले यो म्याट्रिक परीक्षा लिन सुरु ग¥यो । त्यसबेला यो पढाइ र परीक्षाको महत्व कति ठुलो थियो भने पढ्न जाने, आउने, बस्नेलगायतका सबै खर्च/व्यवस्थापन सरकारले गथ्र्याे ।
विसं १९९० मा (जुद्धशमशेरको पालामा) एसएलसी परीक्षा बोर्डको गठनपछि परीक्षा दिन पटना जानु नपर्ने भयो । यति हुँदा पनि प्रश्नपत्र, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन जस्ता काम भने पटनाबाटै हुन्थ्यो । विसं २००३ देखि मात्र सो परीक्षासम्बन्धी सम्पूर्ण काम नेपालमै हुन थाल्यो । यसपछि यसलाई म्याट्रिकको सट्टा प्रवेशिका परीक्षा तथा एसएलसी परीक्षा नामकरण गरियो । विसं १९९० मा नेपालमै सञ्चालित पहिलो एसएलसी परीक्षामा भक्तपुरका पुष्पभक्त मल्ल बोर्ड फस्ट हुनुभएको थियो । यस लेखकले पढेको स्कुल सरस्वती माध्यमिक विद्यालय, विराटनगरका तत्कालीन हेडसर (प्रधानाध्यापक) श्यामकृष्ण गौतम १९९३ सालको नेपालको बोर्ड फस्ट हुनुहुन्थ्यो ।
अहिले एसएलसी एसइई बनेको छ । एसइईको नतिजा विभिन्न सामाजिक सञ्जाल तथा विद्युतीय (डिजिटल) माध्यमबाट ग्रेडसहित तत्कालै थाहा पाउन सकिन्छ । तत्कालीन समयमा परीक्षाफल प्रकाशन हुने माध्यम गोरखापत्र मात्रै थियो । कलकत्तास्थित बोर्डबाट सञ्चालित म्याट्रिकको परीक्षाफलको खबर पनि त्यसबेलाको गोरखापत्रमा छापिने गथ्र्यो तर नेपालमा बोर्ड स्थापना भएपछि भने गोरखापत्रमा नियमित प्रकाशन हुने परीक्षाफल विसं २००७ देखि नेपाल गजेट (राजपत्र) मार्फत केही वर्षसम्म प्रकाशन भयो । पछि कुनै समय रेडियो नेपालबाट पनि सिम्बोल नम्बरसहित नतिजा क्रमैसँग प्रसारण हुन्थ्यो । एसएलसी परीक्षाको लामो इतिहासमा राणाशाही अन्त्य भई प्रजातन्त्र स्थापना भएको साल (विसं २००७) दुई पटक परीक्षा भएर, दुई जना परीक्षार्थी बोर्ड फस्ट घोषणा गरिएका थिए ।
विसं २०३२ देखि २०३४ सम्म भने नयाँ शिक्षाप्रणाली र पुरानो शिक्षाप्रणालीबाट छुट्टाछट्टै परीक्षा भएका थिए र बोर्ड फस्ट पनि सोहीबमोजिम फरक फरक विद्यार्थी थिए । विसं २०३२ को बोर्ड फस्ट (पुरानो शिक्षाबाट) हङकङस्थित गोर्खा हाइस्कुलबाट रामचन्द्र शर्मा खतिवडा (यस लेखकका भान्जा) हुनुहुन्थ्यो । विसं २०३४ मा पुरानो र नयाँ शिक्षा गरी चार जना बोर्ड फस्ट भए । विसं २०३४ देखि ९०० पूर्णाङ्कमा सुरु भएको एसएलसी परीक्षा २०४१ सालसम्म चालु रह्यो भने विसं २०४२ देखि ९ र १० दुवै कक्षामा पढेका विषयका सबै पाठबाट सोध्न सकिने गरी प्रश्नावली बनाएर ७०० पूर्णाङ्कमा एसएलसी परीक्षा हुने परिपाटी सुरु भयो । बोर्ड परीक्षामा उत्कृष्ट १० स्थानसम्म हासिल गर्ने परीक्षार्थीको नाम, सिम्बोल नम्बर, स्कुल र प्राप्ताङ्क २०५५ सालसम्म गोरखापत्रमा छापिन्थ्यो । २०६२ सालसम्म उत्कृष्ट १० मा बोर्डमा आउने छात्रछात्राको विवरण पनि छापिने गरेकोमा २०६३ सालमा देशमा आएको राजनीतिक परिवर्तनसँगै उत्कृष्ट १० जना (टप टेन) को विवरण छाप्न बन्द गरियो ।
यसै सन्दर्भमा २०४२ सालको एसएलसी परीक्षा यस्तै माघ महिनामा सञ्चालन भए जस्तो लाग्छ । विराटनगरस्थित सरस्वती माविमा सो समयमै कक्षा ९ देखि नै अङ्ग्रेजी, नेपाली र गणित (तीन विषय) अनिवार्य; कार्यालय सञ्चालन र लेखा विषय व्यावसायिक र ऐच्छिकमा विज्ञान र गणितका साथमा एक थप ऐच्छिक विषय हुन्थ्यो । लेखकले ऐच्छिकमा विज्ञान समूह रोजेको थियो । २०४१ सालदेखि थप ऐच्छिकमा वाणिज्य अङ्कगणित थपिएको थियो । यस विषयको शिक्षक सो स्कुलमा एक जना मात्र हुनुहुन्थ्यो । नयाँ विषय र एउटै शिक्षक भएका कारण कहिल्यै ट्युसन नपढेको यस लेखकले एसएलसी आउनु करिब तीन/चार महिनाअघि जेहेनदार विद्यार्थीका रूपमा अलि बढी माया गर्ने ओम (गुरुआमा) को सिफारिसमा सोही विषयमा निःशुल्क ट्युसन लिएको थियो ।
माघको चिसोमा हाम्रो स्कुलको परीक्षा केन्द्र सत्यनारायण हाइस्कुल, धरानरोडमा परेको थियो । पहिलो दिनको परीक्षा अङ्ग्रेजी विषयको जस्तो लाग्छ । अरूको पनि त्यति याद छैन तर ऐच्छिक विज्ञान विषयको परीक्षाको सम्झना भने बिर्सन नसकिने छ, जसले परीक्षाफल निस्कने समय (असार) सम्म करिब पाँच महिना लेखकलाई निकै डर उत्पन्न गराएको थियो । भएको के थियो भने १०० पूर्णाङ्कको सो विषयमा तीन या चार खण्डमा विभाजन गरी सोधिएका १२ वटा प्रश्नमध्ये कुनै आठ प्रश्नको उत्तर दिनुपर्ने थियो, जसमा तोकिएका चार वटा प्रश्न अनिवार्य र बाँकी चार वटा छानेर हल गर्न मिल्ने थिए । प्रश्नपत्रको सिरानमै यस्तो निर्देशन थियो तर सो निर्देशनलाई ध्यान नदिई सोझै प्रश्न मात्र पढेर सजिला (आफूलाई आउने) प्रश्नको उत्तर लेख्न थालियो । समय तीन घण्टाकै थियो । सो समय सकिन १० मिनेटपहिले वार्निङ घन्टी बज्थ्यो, समय सकिएपछि पनि उत्तरपुस्तिका स्वयम् नबुझाए त थुतेरै लानुहुन्थ्यो गार्ड बस्ने सर/म्याडमले । सो घन्टी बज्ने बेलासम्म लेखकले आठ वटै प्रश्नको निकै राम्रोसँग उत्तर लेखेको थियो । सात वटा विषयमध्ये सायद छैटौँ, यो विषय अरूमध्ये सबैभन्दा राम्रो भएको थियो तर त्यो वार्निङ घन्टी बजेको एक मिनेटपछि छाँगाबाट खसे झैँ भएँ, जिउ सिरिङ्ग भयो, ओठतालु सुके । कारण, त्यतिखेर उत्तरपुस्तिका पुनः सरसर्ती हेर्ने भनेर प्रश्नपत्रसँगै रुजु गर्दा पो बल्ल थाहा भयो, अनिवार्य उत्तर लेख्नुपर्ने चार वटा प्रश्नमध्ये तीन वटा छाडेर अरू सजिलासहित आठ वटा चाहिँ लेखिएको रहेछ । अर्थात् अङ्कभारका रूपमा हेर्दा ३९ अङ्क नै छाडेर ६१ को मात्र उत्तर लेख्न भ्याइएको रहेछ । उत्तीर्णाङ्क ३२ थियो । माघको चिसोमा पसिना खलखली छुट्नुको कारण १०० पूर्णाङ्क भएको विषयमा त्यत्रो मेहनतले तीन घण्टामा सबै आठ वटा प्रश्नको उत्तर लेख्न भ्याइयो है भनेको त अन्तिममा ६१ नम्बरको मात्रै गरिएछ । फेल नै भइने पो हो कि ? भन्ने भयो ।
त्यसपछि बाँकी रहेको पाँच/सात मिनेटमा ती अनिवार्य भनिएका प्रश्नको सीमित छोटो उत्तर लेख्ने कोसिस त गरियो तर कत्ति नै लेख्न सकिन्थ्यो र त्यो पाँच/सात मिनेटमा ? जिउ कामिरहेको थियो । सँगै एउटै बेन्चमा सहपाठीहरू केदार भट्टराई (हाल गोरखापत्र दैनिकमा कार्यकारी सम्पादक हुनुहुन्छ) र सुमनकुमार कर्ण (जसले पछि आर्किटेक्टमा विद्यावारिधि गर्नुभयो) पनि हुनुहुन्थ्यो । आखिर तीन घण्टाको समय सकिएको घन्टी बजेपछि उत्तरपुस्तिका थुतियो र त्यही गलेको जिउ लिएर लुरुलुरु घर फर्किन विवश भइयो । भोलिपल्ट अन्तिम परीक्षा थियो कुनै अर्को विषयको ।
यसरी एसएलसी परीक्षा त सकियो । झन्डै पाँच महिनापछि मात्र रिजल्ट आउने भएकाले सबै साथीभाइ लाखापाखा लागे । त्यो फुर्सदको बेला टाइप सिक्ने काम गरियो, कम्प्युटर त आएकै थिएन । मन अलि अलि त भुल्दै गयो तर जब एसएलसी नतिजा आउने दिन नजिकिँदै गयो, आफ्नो मन भने आत्तिएर आउँथ्यो । यही विज्ञान विषयमा दाग लागेर आफ्नो चिलिम फर्किने पो हो कि भन्ने डरले (कुनै विषयमा अनुत्तीर्ण हुनुलाई दाग लाग्ने मानिन्थ्यो) ।
नभन्दै २०४३ असारको एक दिन रेडियो नेपालबाट बिहान ७ बजे समाचार आयो, आज २०४२ सालको एसएलसी परीक्षाको नतिजा प्रकाशन भएको छ भनेर । आजकाल जस्तो तुरुन्त नतिजा कहाँ थाहा पाउनु र ? त्यतिखेर आएको परीक्षाफल थाहा पाइने एक मात्र माध्यम गोरखापत्र दैनिक थियो । त्यो पनि, पास भएको भए कुन डिभिजन (श्रेणी) मा भइयो, नत्र कि त विथहेल्ड कि नम्बर नभेटिए फेल । आफूलाई भने पास भइयो कि फेल भन्ने औडाहा ।
काठमाडौँवासी भएको भए सायद धर्मपथस्थित गोरखापत्र संस्थान गएर पत्रिका हेरेर थाहा पाइन्थ्यो होला । विराटनगरवासीले कि विमानस्थल गएर कसैले ल्याएको भए गोरखापत्र हेर्नु प¥यो कि त टेलिफोन/आकाशवाणी गरेर काठमाडौँवासी आफन्तलाई सोध्नु प¥यो । काठमाडौँमा फोन गरेर सोध्ने यस लेखकको केही उपाय थिएन, विमानस्थल पनि गइएन । अर्को उपाय भनेको त्यतिखेर काठमाडौँ–विराटनगर दुई वटा रात्रि बस चल्थे– मोरङ पशुपति र कोशी पशुपति यातायात । ती गाडीलाई भोलिपल्ट बिहानै बसपार्क वा महेन्द्रचोक गएर कुर्ने अनि त्यहाँ काठमाडौँबाट ल्याइएको गोरखापत्र लिई हेर्ने ।
सोहीबमोजिम साइकल चढेर बिहान ६ बजेतिर महेन्द्रचोक (मलाया रोड) मा गएर नाइट बस कुर्न थालियो । स्कुलका अरू दुई/तीन जना साथी पनि भेटिए । यस्तै ७ः०० बजेतिर एउटा बस आएर रोकियो । सोही स्कुलकै मनोज ढकाल (दाइ) बसभित्र छिर्नुभयो र केही छिनमै परीक्षाफल भएको गोरखापत्र कोही अनजान यात्रुबाट लिएर बाहिरिनुभयो । हामी कुर्दै थियौँ, उहाँ त साइकलमा हुइँकिनु पो भयो । पछि बुझ्दा थाहा भो, एकछिन परीक्षाफल हेरेर दिन्छु भनेर लिएको त्यो गोरखापत्र त उहाँले नफर्काई लिएर भाग्नुभएको पो रहेछ ।
नतिजा हेर्न आतुर हामी पनि उहाँलाई पछ्याउँदै साइकलमै पछि पछि हुइँकियौँ । मनोज दाइले संसारीमाईस्थानतिर कसैको घरमा साइकल रोक्नुभो । मैले पनि त्यहीँ साइकल रोकेर उच्च व्यग्रतासाथ आफ्नो सिम्बल नम्बर खोज्न थालेँ । उत्तीर्ण हुनेका सिम्बल नम्बरले भरिएका गोरखापत्रका पाना पाना पल्टाउँदै गएँ । पाँच महिनादेखिको व्यग्रता तब शान्त भो, जब आफ्नो सिम्बल नम्बर उत्तीर्ण हुनेको सूचीमा भेटियोे, त्यो पनि प्रथम श्रेणीमा ।
त्यसपछि प्रतिशतको कुरा हुन्थ्यो । हरेक विषयमा कति कति प्राप्ताङ्क आयो भनी बुझ्न मार्कसिट भने एक/दुई महिनापछि मात्र स्कुलमा आउँथ्यो । आफूलाई अझै खुल्दुली थियो, त्यो विज्ञानमा चाहिँ कति आयो होला ? दुई महिनापछि प्राप्त मार्कसिटमा प्राप्ताङ्क हेरेपछि भने फेरि छक्क परियो जब ६१ नम्बरको मात्र उत्तर दिएको सो विषयमा ५१ नम्बर आएको रहेछ । प्रथम श्रेणीमा भने आफूसहित अन्य तीन जना पास भएका रहेछौँ । स्कुलको समग्र नतिजा भने निराशाजनक (करिब २० प्रतिशत मात्र उत्तीर्ण) थियो ।
सो एसएलसीको नतिजा त्यतिखेर चलेको परम्परा र आफ्नो पनि इच्छा अनुसार कलेजस्तरको पढाइ विराटनगरकै महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसमा भौतिक विज्ञान समूहमा आइएस्सी पढ्न आवश्यक र पर्याप्त रह्यो । त्यसपछि पनि इन्जिनियरिङ विषयमा उच्च अध्ययन गर्दा त्यसको काम धेरै लाग्यो ।
विदेशबाट सुरु भएको एसएलसी, एसइई हुँदै अब प्रदेशतिर जाँदै छ । लामो समय कुर्नुपर्ने नतिजा पनि एक महिनामै आउने भइसकेको छ । पहिले प्रतिशतमा हुने नतिजा अहिले अक्षराङ्क प्रणालीमा छ अर्थात् प्रणालीमा परिवर्तन छ तर कता कता हाउगुजी पनि छ । अभिभावक र विद्यालयमा फलामे गेटकै मान्यताको धङधङी छ । सामाजिक सञ्जालले नतिजा छरपस्ट गर्छ तर अक्षराङ्कलाई प्रतिशतमै फर्काएको भान हुन्छ । जे भए पनि धेरै सहज भने छ ।
बदलिएको शिक्षाप्रणाली र मापदण्डले एसएलसी/एसइईलाई फलामे ढोका भनेर किशोर मनमस्तिष्कमा आतङ्क मच्चाउनु पर्दैन । एसइईको नतिजा कक्षा १० मा मात्र सीमित हो । पहिले जस्तो उच्च शिक्षाका लागि एसएलसीको १० प्रतिशत चाहिँदैन । पहिले त्यो आवश्यक हुँदा फलामे गेटको हाउगुजी बनाएर घोकन्ते शिक्षाका लागि आर्थिक चलखेल र अमर्यादित परीक्षा पनि हुन्थे । अब भने व्यावहारिक शिक्षा र परीक्षा पद्धति आवश्यक छ । व्यावसायिक र प्रायोगिक शिक्षा र परीक्षाप्रणाली आवश्यक छ ।