• २ जेठ २०८३, शनिबार

मनसुनजन्य विपद् न्यूनीकरणका लागि प्रतिकार्य बेस स्थापना

blog

केशवराज भट्ट
बैतडी, जेठ २ गते ।
मनसुन सक्रिय हुने समय नजिकिँदै जाँदा सम्भावित प्राकृतिक विपदबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि बैतडीमा सशस्त्र प्रहरी बल नेपालले अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ ।

जिल्लाको पुर्चौंडी नगरपालिका–१ हाटमा शुक्रबार अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको हो । बाढी, पहिरो, आगलागीलगायत विपद्जन्य घटनामा परेका नागरिकको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन बेस स्थापना गरिएको सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक जंगबहादुर कुँवरले जानकारी दिनुभयो ।

बेसमा सशस्त्र प्रहरी सहायक नायब निरीक्षक दिनेश आग्रीको नेतृत्वमा १५ जनाको टोली परिचालन अवस्थामा रहने उहाँले बताउनुभयो । विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त जनशक्ति र आवश्यक उद्धार सामग्रीसहित टोलीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिने जनाइएको छ ।

“मनसुन सक्रिय हुने समय भएकाले जुनसुकै बेला विपद्जन्य घटना हुन सक्छ,” सशस्त्र प्रहरी नायब उपरीक्षक कुँवरले भन्नुभयो, “घटनाको सूचना प्राप्त हुनासाथ आवश्यक जनशक्ति तुरुन्त परिचालन गरिनेछ ।”

यसअघि गत वैशाख १० गते जिल्लाको दशरथचन्द नगरपालिका–४ छेलामा पनि यस्तै अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको थियो ।