• २ जेठ २०८३, शनिबार

साधक लालसोर सेन्दाङ

blog

सुदूरपूर्वी नेपालमा मुख्य रूपमा आवाद भएर रहेका लिम्बूहरूले आफूलाई ‘याक्थुङ’ भन्छन् । युद्ध वा सुरक्षाका लागि बनाइएको किल्ला वा गढीलाई लिम्बूहरूले आफ्नो मातृभाषामा ‘यक’ भन्छन् । र लिम्बू भाषामै ‘थङ’ भनेको शक्ति प्राप्त गर्नु हो । अर्थात् ‘यक’ र ‘थङ’ मिलेर यकथङ हुँदै याक्थुङ शब्दको व्युत्पत्ति भएको मानिन्छ । यस अर्थमा गढीका शक्तिशाली भन्ने अर्थमा याक्थुङ शब्दको व्युत्पत्ति भएको मान्यता रहेको छ ।

अर्को मत अनुसार ‘यक’ र ‘तुम’ मिलेर याक्थुङ शब्दको व्युत्पत्ति भएको मान्यता रहेको छ । यकको अर्थ गढी वा किल्ला भइहाल्यो र ‘तुम’ भनेको जेठो वा अगुवा भन्ने अर्थ लाग्दा गढीको जेठो, अगुवा वा अधिपति भन्ने अर्थबाट पनि याक्थुङको व्युत्पत्ति भएको मान्यता रहेको छ । 

जब राज्यको विकास हुन थाल्यो तब विभिन्न समूहहरूबिच युद्ध हुने अवस्था आएकाले सुरक्षा वा युद्धका लागि गढी किल्लाहरू निर्माण गर्नुपर्ने बाध्यता आइपरेपछि त्योसँगै याक्थुङ नाम शब्द आएको हो कि जस्तो लाग्छ । त्योभन्दा अघि लिम्बू र त्यो नै शब्द उच्चारण नभए पनि त्यो शब्दसँग ध्वनि र अर्थ मिल्ने शब्द प्रचलित थियो भन्ने मान्यता पनि अघि सार्न सकिन्छ । मुन्धुममा ‘लुङजिरी साहा ? लुङ्बोःङ्वा साहा ?’ तथा ‘खाम्जिरी साहा ? खाम्बोङ्वा साहा ?’ नामधारीहरू आउँछन् । उनीहरूमध्ये लुङजिरी साहा ? लुङ्बोःङ्वा 

साहा ? अर्थात् ढुङ्गाबाट बनेका ढुङ्गाका सन्तति र खाम्जिरी साहा ? खाम्बोङ्वा साहा ? अर्थात् माटोबाट बनेका माटोका सन्तति हुन् । तिनै मुन्धुमी मान्यता अनुसार ‘लुङ्बोङ्वा’ बाट लिम्बू शब्दको व्युत्पत्ति भएको हुन सक्ने आधार पनि निक्कै बलियो छ । लिम्बूहरूको मुन्धुम अनुसार लुङजिरी साहा ? लुङ्बोःङ्वा साहा ?’ तथा ‘खाम्जिरी साहा? खाम्बोङ्वा 

साहा ?’ उनीहरूका प्राचीन पुर्खा हुन् ।  लिम्बूहरूको मूल दर्शनशास्त्र मुन्धुम हो । लिम्बूहरूका आध्यात्मिक अगुवाहरू येवा, येमा तथा फेदाङ्माहरूले मौखिक रूपमा गाउँदै, फलाक्दै जोगाउँदै ल्याएको गेयात्मक श्रुतिशास्त्र हो मुन्धुम । 

मुन्धुमविद् वैरागी काइँलाले ‘मुन्धुम’ शब्दलाई फुटाएर यसको अर्थ पर्गेल्ने प्रयास गर्नुभएको छ । यस लेखकसँगको संवादमा काइँलाले उल्लेख गर्नुभए अनुसार ‘मुन् थुम्’ शब्द मिलेर मुन्धम् शब्द निर्माण भएको हो । लिम्बू भाषामा मुन् (मुम्–मा) को अर्थ हल्लनु वा गतिशील हुनु भन्ने अर्थ लाग्छ । यस्तै थुम् (थुम्–मा) को अर्थ बलियो हुनु वा कठिन हुनु भन्ने अर्थ लाग्छ । यसरी हेर्दा लिम्बूहरूको सामाजिक, सांस्कृतिक तथा आध्यात्मिक जीवन गतिशील, बलियो तथा कठिन किसिमबाट अघि बढिरहेको भन्ने अर्थ खुलाउन सकिन्छ ।

लिम्बूहरूको श्रुतिशास्त्रमा आधारित यो दर्शन लामो समयसम्म श्रुति परम्परामै बाँचिरह्यो । तर यसको संरक्षण हुनुपर्ने बोध गरेका विद्वान्हरूले यसलाई लिपिबद्ध गर्ने प्रयास गरे । सुरुमा इमानसिंह चेम्जोङले मुन्धुम प्रकाशनमा ल्याए । अझ व्यवस्थित र वैज्ञानिक व्याख्याका साथ मुन्धुम सङ्कलन र प्रस्तुत गर्ने श्रेय वैरागी काइँलालाई जान्छ । 

मुन्धुम लेखनको प्रारम्भिक पहल 

लिम्बूहरूको आफ्नै भाषा र लिपि छ । लिम्बूको पनि सिङथेवे कुलमा जन्मिएका सिरिजङ्गाले आविष्कार गरेकाले उक्त लिपिलाई लिपिका आविष्कारकप्रति नै सम्मान व्यक्त गरेर यसलाई ‘सिरिजङ्गा लिपि’ नाम दिइएको छ । 

यिनै सिरिजङ्गाले आफूले आविष्कार गरेको लिपिबाट मुन्धुम र खाहुन (उपदेश) हरू लेखेका थिए । नेपालका तत्कालीन बेलायती राजदूत ब्राइन हज्सनले सङ्कलन गरी बेलायत पु¥याएका सामग्रीसहित अध्ययनका लागि नेपाल आएका बेलायती विद्वान् आरके स्प्रिगबाट इमानसिंह चेम्जोङले ती सामग्री पाई ‘किरात मुन्धुम खाहुन’ प्रकाशनमा ल्याए । चेम्जोङबाट मुन्धुम प्रकाशन भएपछि त्यसको प्रभाव वैरागी काइँलामा प¥यो । नेपाली भाषामा कविता लेखेर चर्चाको चुली चढिरहेका आयामेली कवि वैरागी काइँलाले त्यसपछि मुन्धुम सङ्कलन, लेखन र विश्लेषणमा आफूलाई पूर्ण रूपमा समर्पित गर्नुभएको पाइन्छ ।

हज्सनले सङ्कलन गरेको र सिरिजङ्गा आफैँले लेखेको पाण्डुलिपिमा जून, घाम, आकाश, पशुपन्छी, 

रुखपात तथा मानिसको उत्पत्ति भएका प्रसङ्ग परेको मुन्धुम पाइन्छ । यताबाट हेर्दा मुन्धुमलाई लिपिबद्ध गरेर संरक्षणको पहिलो पहल गर्ने आदिविद्वान् पनि उनै सिरिजङ्गा हुन् भन्नुमा कुनै कञ्जुस्याइँ गरिरहनु पर्दैन । 

मुन्धुम संरक्षणमा लालसोर सेन्दाङ

इमानसिंह चेम्जोङअघि मुन्धुमलाई लिपिबद्ध गरेर संरक्षणको पहलकदमी गर्ने व्यक्तित्व हुन्– लालसोर सेन्दाङ । उनी यस्ता साधक हुन्, जसले साधनाका क्रममा व्यक्तिगत रूपमा सुखभोगको क्षण बेहोर्न पाएनन् । स्वदेशमा बस्ने अवस्थासमेत नभएपछि प्रौढावस्थामा उनी स्वनिर्वासित भएका थिए । वस्त्रको समेत अभाव बेहोरेका उनले एउटा लगौटी मात्र लगाएर मुन्धुमको संरक्षण र प्रचारको लागि निरन्तर पहल गरेका थिए । 

रणबहादुर मेन्याङ्बोद्वारा लिखित 

‘लालसोर सेन्दाङको परिचयात्मक जीवनी’ (२०६२) अनुसार ताप्लेजुङ जिल्लाको छिन्ताङमा विसं १९०० माघ २ गते भएको थियो । मुन्धुम र लिपि लेखनको अभ्यास र प्रचारका लागि उनले आफ्नै अभिभावकबाट प्रेरणा पाएका थिए । उनका बुवा बागदलले घरमा सुरक्षित राखेको सिरिजङ्गा लिपिमा लेखिएका हस्तलिखित पुस्तकहरूको अध्ययनबाट उनले लेखपढ सिकेका थिए । सोही अनुसार लिपि, संस्कृति र मुन्धुमको प्रचारका लागि उनले आफूलाई दत्तचित्त बनाएका थिए । 

उनी अल्लोबाट बुनिएको भाङ्राको वस्त्र लगाउँथे । गुन्द्री मात्र ओछ्याएर भाङ्राकै बर्को ओढेर सुत्थे । यस्तो सादगीपन अपनाएर उनी साधनामा समर्पित थिए । मौलिक भाषा, संस्कृति, लिपि र मुन्धुम सिकाउँदै हिँडेका उनीविरुद्ध सरकारमा उजुरी प¥यो । त्यो बेला श्री ३ महाराज तथा प्रधानमन्त्रीको हैसियतले चन्द्रशमशेरको रजगज चलिरहेको थियो । आफूलाई पक्राउ गर्ने तयारी भइरहेको थाहा पाएपछि कैदी भई बाँच्नुभन्दा स्वनिर्वासित हुनु नै उत्तम ठानेर उनी आफूसँग भएका ग्रन्थहरूसहित २४ जना अनुयायीका साथ विसं १९७२ असोज २१ गते ताप्लेजुङबाट सिक्किमतर्फ लागे । 

उनी ज्ञान बाँड्ने क्रममा सिक्किम, कालिम्पोङ, दार्जिलिङ, कर्सियाङ आदिमा घुमफिर गर्दै रहे । उनी आफूले लगाएको भाङ्राको वस्त्र फाटेपछि उनको शरीरमा केवल लँगौटी बाँकी रहेको उनीबारे जान्ने सुन्नेहरू चर्चा गर्छन् । उनी छाप्रोमा बालिएको आगो तापेर जाडो छल्थे । उनी घुमी हिँड्ने ठाउँका मानिसहरू उनलाई भाङ्राको लँगौटी लगाउने हुँदा कतै ‘भाङ्रे साधु’ र सरीरको माथिल्लो भागमा वस्त्र भएकाले ‘नाङ्गे साधु’ भनी सम्बोधन गर्थे । उनी हरदम काठको दाप भएको खुकुरी भाङ्राकै डोरीले बाँधेर कम्मरमा भिर्ने गर्थे । 

इतिहासकार इमानसिंह चेम्जोङले पनि बाल्यकालमा उनै लालसोर सेन्दाङबाट सिरिजङ्गा लिपि लेखपढ गर्न सिकेका थिए । इमानसिंहका बुवा मेघवरसिंहले सिरिजङ्गा लिपिमा लेखिएका हस्तलिखित पुस्तक सुरक्षित राखेका थिए । तर त्यसलाई लेखपढ गरेर अर्थ लगाइदिने व्यक्तिको अभाव थियो । त्यस लिपिमा लेखपढ गरेर अर्थ लगाइदिन सक्ने लालसोर सेन्दाङ घुम्दै फिर्दै कालिम्पोङको रिङ्केबुङ पुग्दा मेघवरसिंहले आफ्ना छोरा इमानसिंहलाई लेखपढका लागि उनैलाई जिम्मा दिए । उनीबाटै सिरिजङ्गा लिपिमा लेखपढ गर्न सिकेका इमानसिंह बेलायती विद्वान् आरके स्प्रिगबाट हज्सन पाण्डुलिपि पाउँदा त्यसको अर्थ लगाएर पुस्तक छाप्न सक्षम भएका हुन् । पछि इमानसिंहले सुबेदार बाजवीर थलङको सङ्गत गर्ने अवसर पाए । उनीहरू दुवै मिलेर ‘तुम् याक्थुङ साप्ला’ पाठ्यपुस्तक निर्माण गर्न सक्षम भए । लिम्बू भाषा र सिरिजङ्गा लिपिमा लेखिएको यो पाठ्यपुस्तक नेपाल, सिक्किम, भुटान, आसाम, दार्जिलिङ, कर्सियाङ, कालेम्पोङ, बर्मा आदि ठाउँमा फिँजाए ।

यसरी भाषा, लिपि र मुन्धुम जोगाउन जीवनभर साधना गरेका लालसोर वृद्धावस्थामा पुग्दै गर्दा र शारीरिक अशक्तताले शिथिल बन्दै जाँदा जीवनको अन्तिम समयतिर भारत भूमि आसामको जोगीखोपामा रहेकी आफ्नी माइली छोरी हाङ्मतीको घरमा गएर बस्ने निधोमा पुगे । यहाँ पुगेको दुई महिना जति पछि विसं १९८६ माघ १७ गते ८६ वर्षको उमेरमा उनको देहान्त भयो ।  जीवनभर साधनामा समर्पित यी साधक लामो समय गुमनाम रहे । तर ढिलै भए पनि उनको सम्झना गर्न थालिएको छ । मोरङको पथरी शनिश्चरेमा सेन्दाङ बन्धुहरूले उनको पूर्ण कदमा सालिक स्थापना गरेर उनीप्रति सम्मान व्यक्त गरेका छन् । यसरी साधकहरूको सम्मान गर्ने परिपाटीले असल काम गर्न प्रेरणा प्रदान गर्छ ।