हेटौँडा समाचारदाता
हेटौँडा, जेठ २ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठुलो मानव निर्मित जलाशयका रूपमा परिचित इन्द्रसरोवर तालवरिपरि बृहत् सरसफाइ गरिएको छ । आठ वर्षपछि सञ्चालन गरिएको सरसफाइ अभियानबाट तीन ट्रकभन्दा बढी फोहोर सङ्कलन गरिएको मत्स्य विकास केन्द्र कुलेखानीले जनाएको छ । पर्यटकीय क्षेत्रबाट सङ्कलित फोहोरमध्ये प्लास्टिकजन्य र सिसाजन्य सामग्री छुट्याइएको छ ।
इन्द्रसरोवर तालक्षेत्रमा आउने आन्तरिक पर्यटकले जथाभाबी फाल्ने पानीका बोतल, मदिराका सिसा तथा चाउचाउ, चिप्सलगायतका खानेकुराका प्लास्टिकजन्य फोहोरका कारण इन्द्रसरोवर क्षेत्र प्रदूषित बन्दै गएको थियो । ताल वरपर फालिएको फोहोरले पर्यटकीय सौन्दर्यसँगै जलीय वातावरणसमेत प्रभावित भएको स्थानीयले बताएका छन् ।
मत्स्य विकास केन्द्रका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, गाउँपालिकाका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, इन्द्रसरोवर मत्स्य व्यावसायिक सङ्घ मार्खु, इन्द्रसरोवर डुङ्गा सङ्घ मार्खु तथा स्वास्थ्य चौकीका कर्मचारीको सहभागितामा ताल वरपर र मार्खु क्षेत्रमा सरसफाइ गरिएको हो । करिब तीन सय जनाको सहभागितामा सरसफाइ गरिएको थियो । मत्स्य विकास केन्द्र कुलेखानीका प्रमुख तथा मत्स्य विकास अधिकृत भीमदत्त भट्टले कुलेखानी क्षेत्रमा करिब आठ वर्षपछि बृहत् सरसफाइ गरिएको जानकारी दिनुभयो । सरकारको सप्ताहव्यापी सरसफाइ अभियानसँग एकै समयमा परेकाले संयुक्त रूपमा बृहत् सरसफाइ गरिएको उहाँले बताउनुभयो ।
प्रत्येक शुक्रबार कार्यालयपरिसर तथा इन्द्रसरोवर तालपरिसरमा नियमित सरसफाइ गरिने उहाँले बताउनुभयो । प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र हेटौँडाका प्रमुख सरोजकुमार यादवले स्थानीयले खेतीपातीका क्रममा प्रयोग गर्ने रासायनिक मल र विषादी बगेर कुलेखानीमा मिसिँदा माछाको उत्पादन घट्दै गएको बताउनुभयो । उहाँले स्थानीय जातका माछाका भुरा उत्पादन तथा अन्य माछाको सङ्ख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।