• २ जेठ २०८३, शनिबार

मुख्यमन्त्रीको विश्वासको मत लिने कार्यक्रम सर्‍यो

blog

धनुषा समाचारदाता

जनकपुरधाम, जेठ २ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जेठ ८ गते विश्वासको मत लिनुहुने भएको छ । प्रदेश सभाबाट शुक्रबार विश्वासको मत लिने कार्यक्रम भए पनि तयारी नपुगेको भन्दै जेठ ८ का लागि सारिएको छ । 

मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने भनी प्रदेश सभा सचिवालयमा पत्र पठाएपछि सभामुख रामअशिष यादवले मधेश प्रदेश प्रमुखको सिफारिसबमोजिम प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गर्नुभएको थियो तर बैठक सुरु हुनुअगावै मुख्यमन्त्री यादवले ‘विशेष कारण’ देखाउँदै प्रदेश सभा सचिवालयमा अर्को पत्र पठाएर विश्वासको मतका लागि जेठ ८ गतेको समय निर्धारण गर्न आग्रह गर्नुभयो । त्यसपछि सचिवालयले एक साता समय सारेर जेठ ८ का लागि नयाँ समय तोकेको हो ।

सभामुख रामअशिष यादवले प्रदेश सभा कार्य सञ्चालन नियमावली अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक बसी सर्वदलीय सहमतिमा शुक्रबारको कार्यतालिकाबाट मुख्यमन्त्रीको विश्वासको मत लिने कार्यक्रम हटाइएको जानकारी दिनुभयो ।

नेपाली कांग्रेसभित्रकै आन्तरिक किचलो र सरकारमा सहभागी दलहरूबिचको विवादका कारण ‘फ्लोर क्रस’ हुन सक्ने थाहा पाएर मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम सार्नुभएको हो । मुख्यमन्त्री यादवले कांग्रेसभित्रको आन्तरिक कारणले होइन, प्राविधिक कारणले विश्वासको मत नलिएको जानकारी दिनुभयो । उहाँले नेपाली कांग्रेसभित्र कुनै विवाद नरहेको र सरकारमा सहभागी दल पनि समर्थनमै रहेकाले आगामी जेठ ८ गते सहजै विश्वासको मत लिने दाबी गर्नुभयो ।

जनता समाजवादी पार्टी नेपालले पनि समयमा निर्णय नगरेका कारण विश्वासको मत लिने कार्यक्रम सारिएको बताएको छ । जसपा नेपालभित्र विश्वासको मत दिने विषयमा फरक मत आएका कारण तोकिएको समयमा निर्णय आएको थिएन । जसपा नेपालको निर्णय ढिलो आएको कारणले पनि बैठक सारिएको बताइएको छ । यद्यपि जसपा नेपालले वर्तमान सरकारलाई नै निरन्तरता दिने निर्णय गरेको छ । जसपा नेपालका प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री लालबाबु राउतले वर्तमान सरकारलाई नै निरन्तरता दिने आफ्नो पार्टीले निर्णय गरेकाले सरकारलाई कुनै अवरोध नगर्ने बताउनुभयो । 

मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीले वैशाख २२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक प्रावधान अनुसार ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ । हाल १०२ सदस्यीय मधेश प्रदेश सभामा बहुमतका लागि ५२ सदस्यको समर्थन आवश्यक पर्छ । शुक्रबारको बैठकमा विभिन्न दलका नेताले सातौँ अधिवेशनको सफलताका लागि शुभकामना मन्तव्य व्यक्त गर्दै देशको समसामयिक विषयमा आआफ्ना धारणा राख्नुभएको थियो ।