जयकृष्ण यादव
इनरुवा, जेठ २ गते । पतिको दीर्घायु तथा दाम्पत्य जीवनको सुख–समृद्धिको कामनासहित सुनसरीका महिलाले शनिबार बर्साइत (बटसावित्री) पर्व धुमधामका साथ मनाएका छन् । जिल्लाका विभिन्न स्थानमा महिलाहरूले सामूहिक रूपमा पर्व मनाइरहेका छन् ।
सदरमुकाम इनरुवाका विभिन्न वडामा महिलाहरूले वरको रुखमा पहेँलो र रातो धागोले सात फेरा लगाउँदै हर्षोल्लासका साथ बर्साइत पर्व मनाएको इनरुवा–९, बबियाकी बर्तालु ममताकुमारी यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार जेठ कृष्णपक्ष आमावस्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले फरक–फरक विधि अनुसार मनाउने परम्परा छ । नवविवाहित महिलाले पहिलो बरसाइत (विवाहपछि पहिलो पर्व) अनिवार्य रूपमा श्रीमान्काे घरमै मनाउने चलन रहेको छ ।
शुक्रबार नहाय–खाय (स्नान गरी सात्त्विक भोजन ग्रहण गर्ने) गरेपछि लुगादेखि चुरा–पोतेसम्मका शृङ्गार सामग्री माइतबाट पठाइने परम्परा छ । शनिबार बिहान स्नान गरी रातो, पहेँलो तथा विभिन्न रङका पहिरनमा सजिएर महिलाहरू नजिकैको वर (बट)को रुखमुनि बसेर पतिको दीर्घायुको कामनासहित पूजा गरेका छन् ।
वर र पीपल सँगै भएको स्थानमा दुवैको पूजा गर्ने चलन छ भने वर मात्र भएको स्थानमा पीपलको हाँगा गाडेर दुवै वृक्षको प्रतीकस्वरूप पूजा गर्ने परम्परा रहेको छ । पूजा अवधिमा महिलाको भाइले छाता ओढाएर साक्षीका रूपमा उपस्थित रहने चलन पनि छ । महिला पुरोहितले मन्त्र उच्चारण गर्दै वरको जरामा पूजा गर्ने परम्परा रहेको छ ।
अङ्कुरित (पानीमा भिजाएर उमारिएको चना, मुङ्ग र चामल), काँक्रो, केरा, स्याउ, अङ्गुर, आँप, लिची र नरिवललाई प्रसादका रूपमा वरको जरामा चढाइ सिन्दूरले रङ्ग्याइन्छ । त्यसपछि बर्तालुहरूले पतिलाई उभ्याएर वरको रुखमा पहेँलो र रातो धागोले सात फेरा लगाउने चलन छ ।
आँप र कलश लिएर तीन पटक वरको रुख र पतिको परिक्रमा गरिन्छ । परिक्रमा गर्दै गर्दा एकपटक वरको जरामा र अर्को पटक पतिको गोडामा जल चढाउने परम्परा रहेको छ ।
धार्मिक ग्रन्थ अनुसार व्रती महिलाले दिनभर उपवास बसेर सावित्रीको पूजा वृक्षमुनि गर्ने तथा अविवाहित युवतीले पनि गीत गाउँदै र लोकनाच गर्दै यो पर्व मनाउने उल्लेख छ ।
बिहान स्नान गरी नदी वा पोखरीमा नुहाएर वरवृक्षमुनि सावित्रीको आराधना गर्दै यो पर्व मनाइन्छ । विभिन्न फलफूल, अक्षता, धूप र दीपसहित महिलाहरूले सामूहिक रूपमा सावित्री, पार्वती र नागको पूजा गर्ने परम्परा छ । धार्मिक कथा अनुसार सावित्रीले आफ्ना मृत पति सत्यवानलाई पुनर्जीवित गराउन यही व्रत गरेको उल्लेख पाइन्छ ।