• १ जेठ २०८३, शुक्रबार

इँटा भट्टामा पुरिएर तीन मजदुरको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, जेठ १ गते । सर्लाहीको हरिपुर नगरपालिका –५ मजुर्बास्थित कृष्ण इँटा भट्टामा पुरिएर शुक्रबार साँझ तीन जना मजदुरको मृत्यु भएको छ । 

सर्लाहीकै कौडेना गाउँपालिका निवासी वीरेन्द्र चौधरीले सञ्चालन गरेको इँटा भट्टामा पुरिएर उद्योगमा कार्यरत तीन जना मजदुरको मृत्यु भएको हो । भट्टाबाट इँटा निकाल्नेक्रममा माटो र इँटाले पुरिएर सर्लाहीको गोडैता नगरपालिका –७ रामवन बस्ने ५० वर्षीय फिताइ मन्सुर, गोडैता नगरपालिका –९ बस्ने ३५ वर्षीय शम्भु राउत र भारत लखेमपुर बस्ने ३५ वर्षीय अंगद कुमारको मृत्यु भएको छ । 

प्रहरीका अनुसार मलङ्गवा नगरपालिका –७ का ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो घाइते हुनुभएको छ । तुलसीको प्रादेशिक अस्पताल मलङ्गवा र सत्यनारायणको मजुर्बास्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी सरोज राईका अनुसार घटनास्थलमा अहिले जेसिबी लगाएर मजदुर पुरिएको इँटा र माटो हटाउने काम जारी रहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको डिएसपी राईले गोरखापत्रसँग बताउनुभयो ।