शंकर केसी
सल्यान, जेठ १ गते । राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोटमा शुक्रबार दुई ईभी गाडी एक आपसमा ठोक्किँदा बाठ जना घाइते भएका छन् ।
कपुरकोट आधारभूत अस्पतालका अनुसार अपहरान्ह सल्यानबाट दाङतर्फ गइरहेको बाग्मती प्रदेश १–०३२ च ८३३२ नम्बरको ईभी गाडी र दाङबाट सल्यानतर्फ आउँदै गरेको लु.प्र. ०२–००१ ज ०१६५ नम्बरको ईभी गाडी कपुरकोट ३ मा एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा घाइते भएकामध्ये कपुरकोट गाउँपालिका–६ सल्यानका ३४ वर्षीय लक्ष्मण खड्का, रुकुम मुसिकोट–१ का ६५ वर्षीय गोपिन्द्र बहादुर बुढाथोकी, दाङ तुल्सिपुर–७ की १९ वर्षीया मेलिना बुढा, दाङ शान्तिनगर–४ की ७० वर्षीया सुशिला रोका, सल्यान छत्रेश्वरी गाउँपालिका–२ की ३० वर्षीया चन्द्रा थापा, सिद्धकुमाख गाउँपालिका–४ की १० वर्षीया सुप्रिया बस्नेत, कुमाख गाउँपालिकाका ५४ वर्षीय विज्ञान रावत तथा छत्रेश्वरी गाउँपालिका–२ का ३६ वर्षीय विनोद कुमार वली रहेको अस्पतालका व्यवस्थापक देवेन्द्रकुमार सेनले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैको अवस्था समान्य छ । यद्यपी दुर्घटनामा टाउको लगाएतका विभिन्न अंगको भित्री चोट एवं जोखिम हुनसक्ने भएकाले घाइते सबैलाई कपुरकोट आधारभूत अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि दाङ रिफर गरिएको छ ।