भारदह समाचारदाता
भारदह (सप्तरी), जेठ २ गते । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दीनानाथ चौधरी पुनः जिम्मेवारीमा फर्किनुभएको छ ।
उच्च अदालत जनकपुर राजविराज इजलासले बुधबार चौधरीका पक्षमा फैसला गरेपछि शुक्रबारदेखि चौधरी अध्यक्षको जिम्मेवारीमा फर्किनुभएको हो । अध्यक्ष चौधरीलाई प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र यादवसहितका कर्मचारीले कार्यालयमा स्वागत गर्नुभएको थियोे ।
चौधरीले पदभार ग्रहण गरिरहँदा निवर्तमान कार्यवाहक अध्यक्ष कल्पनाकुमारी चौधरीसहित कुनै पनि वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा कुनै पनि जनप्रतिनिधिको उपस्थिति नदेखिएको स्थानीयवासीले बताए । वडा नम्बर ४ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता तेजनारायण यादवले अध्यक्षको पदभार कार्यक्रम विषयमा समयमा जानकारी नपाउँदा जनप्रतिनिधिहरू उपस्थित हुन नसकेको दाबी गर्नुभयो ।
करिब नौ महिना अगाडि अध्यक्ष चौधरीले राजीनामा दिएको दाबी गर्दै उपाध्यक्ष कल्पनाकुमारी चौधरीलाई बहुमत कार्यपालिका सदस्यले कार्यवाहक तोकेपछि अध्यक्ष चौधरीको पद निष्क्रिय भएको थियो ।
कार्यपालिका बैठकको निर्णय बदरको माग दाबी गरी यसअघि अध्यक्ष चौधरीले गरेको रिट निवेदनमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि उपाध्यक्ष कल्पनाकुमारी चौधरीले कार्यवाहक अध्यक्षको जिम्मेवारी समाल्नुभएको थियोे ।
२०८२ कात्तिक १८ गते अदालतले मुद्दाको अन्तिम किनारा नलागुन्जेल कार्यपालिकाको निर्णय अनुसार हुने आदेशपछि कात्तिक २० गते उपाध्यक्ष चौधरी कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहँदै आउनुभएको थियोे ।
पद बहाली गरी पाऊँ भनी उच्च अदालत जनकपुर, राजविराजमा गरेको रिटमा सुनुवाइ गर्दै बुधबार अध्यक्ष चौधरीको पक्षमा फैसला आएपछि उहाँ जिम्मेवारीमा फर्किनुभएको हो ।