• २ जेठ २०८३, शनिबार

सुरक्षित सडकको पर्खाइमा जेफालेको पर्यटन

blog

मोरङको जेफाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै। तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला
उर्लाबारी, जेठ २ गते ।
मोरङ जिल्ला भन्नासाथ आम नेपालीको मनमा समथर भूभाग, धान फल्ने फराकिला खेत र फाँटिलो तराईको चित्र उभिन्छ । तर यही जिल्लाको उत्तरी भेगमा यस्ता गाउँ पनि छन्, जहाँ अझै सहज सडक, स्वास्थ्य, शिक्षा र सुरक्षाको पहुँच पुग्न सकेको छैन । सुगम भनिने जिल्लाकै केही गाउँमा वर्षको आधा समय मात्र सडक सञ्चालन हुने अवस्था छ । तर यही अभाव र कठिनाइबिच उत्तरी मोरङको जेफाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण जेफालेमा सामुदायिक होमस्टे सञ्चालनमा छ । सुविधा सम्पन्न नौ वटा घर तयार पारिएका छन् भने पर्यटकका लागि बसोबास, भोजन र स्थानीय संस्कृतिसँग परिचित गराउने पूर्वाधार विकास गरिएको छ । तर सहज सडक र सुरक्षा व्यवस्थाको अभावका कारण सम्भावनायुक्त यो गन्तव्य अझै ओझेलमै परेको छ ।

धनकुटाको भेडेटार र नाम्जेलाई समेत बिर्साउने प्राकृतिक सौन्दर्य बोकेको जेफाले पूर्वकै प्रमुख पर्यटकीय गन्तव्य बन्न थालेको छ । यहाँ निर्माण गरिएको भ्यू टावरबाट साविक पूर्वाञ्चलका १६ वटै जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ । मौसम खुलेको बेला सगरमाथा, कञ्चनजंघा र मकालु हिमालका सेता शृंखला स्पष्ट देखिन्छन् । तलतिर तराईका फाँट, गाउँ र सहरका मनोरम दृश्यले पर्यटकलाई आकर्षित गर्छन् । समुद्री सतहबाट करिब एक हजार ९७० मिटर उचाइमा रहेको भ्यू टावरबाट सूर्योदय र सूर्यास्तको दृश्य विशेष आकर्षक मानिन्छ ।

तत्कालीन जिल्ला विकास समिति मोरङको ३६ लाख ५० हजार, धनकुटा जिविसको ५ लाख, विराट पर्यटन केन्द्र काँकडभिट्टाको २१ लाख तथा स्थानीयको करिब ८ लाख बराबरको जनश्रमदानसहित करिब ७० लाख रुपैयाँ लागतमा भ्यू टावर निर्माण गरिएको हो । सिंहदेवीको बिहीबारे बजारबाट करिब तीन सय मिटर उत्तरतर्फ पुगेर एक हजार ४९ वटा सिँढी चढेपछि भ्यू टावर पुगिन्छ ।

जेफाले पर्यटन विकास समितिका सचिव भीम ठकुरीका अनुसार भ्यू टावर बनेपछि सूर्योदय र सूर्यास्त अवलोकन गर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको खोर्सानेबाट करिब ३६ किलोमिटर उत्तरमा रहेको जेफाले डाँडाको मौसम अनौठो छ—छिनछिनमै कुहिरो लाग्ने, घाम लाग्ने र फेरि पानी पर्ने यहाँको विशेषता हो । वर्षभरि चिसो रहने मौसम नै जेफालेको मुख्य आकर्षण मानिन्छ ।

भ्यू टावरको दक्षिण–पश्चिममा रहेको पाथिभरा देवी मन्दिरले धार्मिक पर्यटकलाई पनि आकर्षित गरेको छ । वरपरका जङ्गलमा मृग, हरिण, बँदेल, खरायो र लोखर्के जस्ता वन्यजन्तु देख्न सकिन्छ । सामुदायिक वनले शिकारमा रोक लगाएपछि वन्यजन्तुको संख्या पनि बढेको स्थानीय बताउँछन् ।

जेफालेको आकर्षण केवल हिमाल र भ्यू टावरमा सीमित छैन । शान्त वातावरण, हरियाली जङ्गल, जिल्लाकै एक मात्र मातृभूमि चिया बगान तथा अदुवा, अलैँची, अम्लिसो र तेजपातले भरिएका डाँडाले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ ।

स्थानीय लिलतबहादुर लिम्बूका अनुसार तत्कालीन जिल्ला विकास समिति मोरङ र धनकुटाले सुरुआती चरणमा विकासका केही काम गरे पनि पछिल्लो समय उल्लेख्य प्रगति हुन सकेको छैन । सुनसरी, मोरङ र धनकुटाको चौबिसे क्षेत्र समेटेर एकीकृत पर्यटन विकास गर्ने उद्देश्यले यहाँ पर्यटन सूचना केन्द्रसमेत स्थापना गरिएको छ ।

जेफालेका होमस्टेमा पाहुनालाई स्थानीय उत्पादनबाट बनेका परिकार खुवाइन्छ । हुर्रा नाचमार्फत सांस्कृतिक प्रस्तुति पनि दिइन्छ । होमस्टे सञ्चालक उमा ठकुरीका अनुसार यहाँको प्राकृतिक सौन्दर्यको प्रभावकारी प्रचार गर्न सकिए विदेशी पर्यटकसमेत आकर्षित गर्न सकिने सम्भावना छ ।

सामुदायिक होमस्टेमा एकैपटक एक सय जनासम्मलाई बस्न–खान व्यवस्था गर्न सकिने क्षमता रहेको सचिव भीम ठकुरी बताउनुहुन्छ । तर सहज सडक र सुरक्षा व्यवस्थाको अभावले पर्यटकलाई सास्ती हुने गरेको छ । स्थानीय मनोज अधिकारी भन्नुहुन्छ, “सरकारले प्रहरी चौकी र राम्रो सडक बनाइदिए जेफालेको पर्यटन आफैँ फस्टाउँथ्यो ।”

२०७६ सालमा खोर्साने–केराबारी–सिंहदेवी सडक कालोपत्रेका लागि ठेक्का लागे पनि सात वर्ष बितिसक्दा समेत निर्माण पूरा हुन सकेको छैन । जोखिमपूर्ण यात्रा अझै जारी छ ।

पहिले आफ्नै गाउँमै लिन सकिने सामाजिक सुरक्षा भत्ता लिन अहिले स्थानीयलाई २६ किलोमिटर दक्षिण केराबारी बजार झर्नुपर्ने बाध्यता छ । सार्वजनिक यातायात नचल्दा निजी सवारी साधनमै जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ ।

सबैभन्दा बढी समस्या ज्येष्ठ नागरिकले भोगिरहेका छन् । उकालो–ओरालो, धुलाम्मे सडक र भीडभाडयुक्त सवारीका कारण उनीहरूको यात्रा निकै कठिन बनेको छ । विकासको प्रतीक्षामा जेफाले र सिंहदेवी क्षेत्रका बासिन्दाको जीवनमा सहजताको अनुभूति अझै आउन सकेको छैन ।