• २ जेठ २०८३, शनिबार

५६ लाखको अवैध भेपसहित सात पक्राउ

blog

तातोपानी नाकास्थित बोक्चेन हुँदै अरनिको राजमार्ग १० किलो क्षेत्रमा तस्करीका क्रममा बरामद भेप । तस्बिर : चित्रकुमार मिजार

चित्रकुमार मिजार
सिन्धुपाल्चोक, जेठ २ गते ।
तातोपानी नाका क्षेत्रको जङ्गलबाट करिब ५६ लाख ७० हजार रुपियाँ मूल्य बराबरको अवैध भेपसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ कार्य इलाका प्रहरी कार्यालय कोदारी लार्चाले गरेको हो ।

उक्त प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगतबहादुर राईको नेतृत्वमा खटिएको टोलीले भोटेकोशी गाउँपालिका–३, बोक्चेन हुँदै अरनिको राजमार्गको करिब १० किलोमिटर भित्री सडकबाट उक्त भेप बरामद गर्दै तस्करीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा बोक्चेनको भित्री बाटो हुँदै अवैध भेप तस्करी भइरहेको जानकारी पाएपछि इन्स्पेक्टर राईको टोलीले कारबाही गरेको हो ।

पक्राउ पर्नेहरूमा भोटेकोशी गाउँपालिका–४ का ३५ वर्षीय गणेश खड्का, ४६ वर्षीय हिमाल खड्का, २४ वर्षीय विकास विक, ४८ वर्षीय रामबहादुर विक, १७ वर्षीय विशाल विक, ३७ वर्षीय मङ्गलबहादुर थामी र बाह्रबिसे नगरपालिका–५ का ४२ वर्षीय कान्छा तामाङ रहेका छन् ।

शुक्रबार राति करिब ९:३० बजे उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले १,६२० थान भेप बरामद गरेको छ । बरामद भेपको धनीको पहिचान गर्न थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ ।

बरामद सामान आज तातोपानी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको र पक्राउ परेकामाथि अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।