सर्लाही समाचारदाता
सर्लाही, जेठ २ गते । बरहथवा–मधुवनी सडक अन्तर्गत सर्लाहीको रामनगर गाउँपालिका–५, बैजनाथ चोकमा मङ्गलबार साँझ ज. ७ प. २६१३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भयो ।
हेल्मेट नलगाएका कारण मोटरसाइकलचालक भारतको सीतामढीका ३५ वर्षीय गौरव पटेलको टाउकोमा गहिरो चोट लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार चालकले हेल्मेट नलगाएको मात्र होइन, घटनास्थलको प्रकृति हेर्दा मोटरसाइकल पनि तीव्र गतिमा रहेको जस्तो देखिन्छ ।
मोटरसाइकल गएर ठोक्किँदा कलभर्टमा हालिएको सिमेन्टको बार नै भत्किएको इलाका प्रहरी कार्यालय गडहियाले जनाएको छ । घटनास्थलमा पुग्नुभएका गडहियाका प्रहरी निरीक्षक कैलाश चौधरीका अनुसार प्रारम्भिक अनुसन्धानमा साँघुरो रहेको एकतर्फी कलभर्टमा तीव्र गतिमा रहेको मोटरसाइकलका चालकले नियन्त्रण गुमाएका कारण दुर्घटना भएको जस्तो देखिन्छ । प्रहरी टोली घटनास्थल पुग्दा चालक पटेलको टाउको तथा अनुहारमा गहिरो चोट लागेर कानबाट रगत बगिरहेको थियो । उहाँको पछाडि सवार अर्का भारतीय नागरिक २३ वर्षका उज्ज्वल पटेल अचेत अवस्थामा भेटिनुभएको थियो । उज्ज्वलको अचेत अवस्थामै भारतको सीतामढीस्थित एक अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार गौरव र उज्ज्वल गडहिया चोकको एक होटेलमा मङ्गलबार साँझ खाजा खाएर निस्कँदा दुर्घटनामा पर्नुभएको हो । उनीहरूले होटेलकै मोटरसाइकल मागेर चलाएका थिए ।
एक साताअघि गत बिहीबार बिहान हरिपुर्वा नगरपालिका–९, खिलागाउँनजिक बाँके–सङ्ग्रामपुर सडकमा ग. १ ख. ९४६७ नम्बरको बस र ना. ४८ प. ४७० नम्बरको मोटरसाइकल जुध्दा मोटरसाइकलचालकको यसै गरी मृत्यु हुन पुग्यो । यो दुर्घटनामा मृत्यु भएका चालक महोत्तरीको गौशाला नगरपालिका–१२, कान्तिबजारका २७ वर्षीय मनिषकुमार महतोले हेल्मेट लगाएका थिएनन् ।
हेल्मेट नलगाएकै कारण मनिषको पनि टाउकोमा गहिरो चोट लागेको थियो । यसै हप्ता गत आइतबार साँझ ईश्वरपुर नगरपालिका–२, राइटरखोरमा तीव्र गतिमा रहेको बिआर ३० ई ६९०२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलमा हिँडिरहेका स्थानीय ६५ वर्षीय किसुनदेव साहको मृत्यु भयो ।
सर्लाहीमा एक सातामै भएको मोटरसाइकल दुर्घटनामा दुई जना चालकको मृत्यु भयो भने ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु हुन पुग्यो । ट्राफिक नियम पालना नगरी लापरवाही ढङ्गले चलाउँदा सर्लाहीमा यस्तो गम्भीर प्रकृतिका मोटरसाइकल दुर्घटनाको घटना बढ्न थालेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं प्रहरी निरीक्षक अशोक साहले दुर्घटनामा परेका अधिकांश मोटरसाइकलका चालकसँग सवारी अनुमतिपत्र (लाइसेन्स) नभएको र हेल्मेट नलगाएको पाइएको बताउनुभएको छ । बारम्बार जाँच गर्ने र सम्झाइबुझाइ गर्दा पनि हेल्मेट नै नलगाई मोटरसाइकल चलाउने र लापर्बाही गर्ने प्रवृत्ति हट्न नसकेको इन्स्पेक्टर साहको भनाइ छ ।
ग्रामीण भेगमा त हेल्मेट ‘ले–गार्ड’ मा झुन्ड्याउने र तीन/चार जनासम्म चढेर मोटरसाइकल दौडाउने प्रवृत्ति देखिएको उहाँले बताउनुभयो । इन्स्पेक्टर साहले भन्नुभयो, “हाम्रोतिर यस प्रकारको लापरवाही चुनौतीका रूपमा देखा परिरहेको छ । प्रहरीले देखेपछि दायाँबायाँबाट फरार भइहाल्छन्, चेकिङसम्म त सोझा र इमानदार मान्छे मात्र आइपुग्छन् ।”
अभिभावक र समाजका गन्यमान्यले सम्झाइबुझाइ नगरेसम्म यस्तो लापरवाही हट्ने अवस्था नरहेको इन्स्पेक्टर साहले बताउनुभयो ।