• २ जेठ २०८३, शनिबार

खरबुजासहित फलफूल र तरकारी खानयोग्य प्रमाणित

blog

बिक्रीका लागि राखिएको खरबुजा । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल
दमक, जेठ २ गते ।
दमक नगरपालिकाले खरबुजासहित विभिन्न फलफूल तथा तरकारीमा प्रयोग भएको विषादीको परीक्षण गरेको छ । सामाजिक सञ्जालमा अत्यधिक विषादी प्रयोग भएको र बालबालिका बिरामी परेको जस्ता पोस्टहरू आउन थालेपछि वास्तविकता बुझ्न नमुना परीक्षण गरिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख रामकुमार थापाका अनुसार नगरपालिकाले बजार अनुगमन गरी विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, बिर्तामोडको प्राविधिक सहयोगमा दमक बजारमा बिक्री भइरहेका खरबुजासहित ताजा तरकारी तथा फलफूलको नमुना सङ्कलन गरी परीक्षण गरेको हो ।

परीक्षणका क्रममा प्याजको साग, काँक्रो, बोडी, गोलभेंडा, सलगम, काँडेली र खरबुजाको नमुना सङ्कलन गरिएको थियो । परीक्षणबाट सबै नमुनामा विषादीको मात्रा न्यून रहेको र उपभोगयोग्य पाइएको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालाका अनुसार ३५ प्रतिशतभन्दा कम विषादी अवशेष भएका कृषि उपज उपभोगयोग्य मानिन्छन् । संकलित सबै नमुनामा विषादीको मात्रा सो मापदण्डभित्र रहेको जानकारी दिइएको छ ।

दमक नगरपालिकाले उपभोक्तालाई सुरक्षित तथा स्वस्थ खाद्यवस्तु उपलब्ध गराउने उद्देश्यले बजार अनुगमन तथा विषादी परीक्षणलाई निरन्तरता दिइरहेको नगर प्रमुख थापाले बताउनुभयो ।