• २ जेठ २०८३, शनिबार

सर्केगाडको कल्लास गाउँमा आगलागी

blog

कल्लास गाउँमा भएको आगलागी । तस्बिर सौजन्य : बाँचबहादुर रोकाया

रजन रावत 
हुम्ला, जेठ २ गते ।
सर्केगाड गाउँपालिका–५, कल्लास गाउँमा शनिबार बिहान आगलागी भएको छ । बिहान करिब ९ बजे बाँचबहादुर रोकायाको घरमा आगलागी भएको हो ।

स्थानीय निरुता रोकायाका अनुसार मानसिक सन्तुलन गुमाएकी बाँचबहादुर रोकायाकी करिब ६० वर्षीया आमा सुनरूपा रोकायाले तीन तले जस्तापाताले छाएको घरको माथिल्लो तलामा घाँस राखिएको स्थानमा आगो लगाउनुभएको हो ।आगो लगाएपछि उहाँ घटनास्थलबाट फरार हुनुभएको स्थानीयले बताएका छन् ।

घरको माथिल्लो तलामा मौरीका घार, घाँस, पराल, नल तथा अन्य कोठामा लिउ, फेरुवा, लत्ताकपडा, भाँडाकुँडालगायत सामग्री राखिएको थियो । परिवारका सदस्यहरू बिहान खाना खाने क्रममा रहेका बेला एक्कासि आगलागी हुँदा माथिल्लो तलामा रहेका अधिकांश सामग्री जलेर नष्ट भएको छ ।

सुनरूपा रोकायाको केही वर्षअघि मानसिक सन्तुलन बिग्रिएको थियो । उपचारपछि लामो समय अवस्था सामान्य रहे पनि पछिल्ला चार, पाँच महिनादेखि पुनः मानसिक अवस्था असामान्य बन्दै गएको स्थानीयले बताएका छन् ।

आगलागीपछि स्थानीयवासी घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । जस्तापाताले छाएको माथिल्लो तला जले पनि तलका दुई तलामा भने ठुलो क्षति हुनबाट जोगिएको जनाइएको छ ।

हालसम्म आगलागीबाट भएको क्षतिको यकिन विवरण प्राप्त हुन सकेको छैन । घटनाबारे तत्काल प्रहरीलाई जानकारी गराइएको भए पनि घटनास्थल प्रहरी चौकीबाट करिब तीन घण्टाको दूरीमा रहेकाले प्रहरी टोली तत्काल पुग्न नसकेको स्थानीयले बताएका छन् ।

यस समयमा हावा–हुरी बढी चल्ने भएकाले आगलागीको जोखिम बढेको भन्दै स्थानीयवासीलाई घरपरिवार, बालबालिका तथा ज्वलनशील सामग्रीको सुरक्षामा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।