• २ जेठ २०८३, शनिबार

भन्सार शुल्कपछि अमेरिकामा जर्मन उत्पादन महँगिए

blog

बर्लिन, जेठ २ गते । अमेरिकाले लगाएको उच्च भन्सार शुल्कका कारण बढेको आयात लागतको असर अहिले प्रत्यक्षरूपमा अमेरिकी उपभोक्तामाथि पर्न थालेको छ । अमेरिकामा सञ्चालनमा रहेका अधिकांश जर्मन कम्पनीले अतिरिक्त लागत धान्न आफ्ना उत्पादन तथा सेवाको मूल्य वृद्धि गरेका छन् । 

जर्मन उद्योग तथा वाणिज्य मण्डलद्वारा शुक्रबार सार्वजनिक गरिएको एक विस्तृत सर्वेक्षण अनुसार अमेरिकामा व्यवसाय गरिरहेका दुई तिहाइभन्दा बढी जर्मन कम्पनीले अमेरिकी भन्सार नीतिका कारण उत्पन्न अतिरिक्त खर्च ग्राहकबाटै असुल गर्न मूल्य बढाउने रणनीति अपनाएका हुन् ।

उक्त सर्वेक्षणमा विश्वभर सञ्चालनमा रहेका चार हजार ५०० भन्दा बढी जर्मन कम्पनी सहभागी थिए । सर्वेक्षणले अमेरिकी व्यापार नीति, भन्सार शुल्क तथा नीतिगत अनिश्चितता अझै पनि विदेशी कम्पनीका लागि प्रमुख व्यावसायिक चुनौती बनेको देखाएको छ ।

प्रतिवेदन अनुसार गत वर्ष अमेरिकाले लागु गरेको नयाँ भन्सार शुल्कपछि कम्पनीमा सुरुमा ठुलो अन्योल र दबाब सिर्जना भएको थियो । तर पछिल्लो समय व्यवसायिक वातावरणमा केही सुधार देखिएको छ । अमेरिकामा रहेका ४३ प्रतिशत जर्मन कम्पनीले हालको व्यवसायिक अवस्था राम्रो रहेको बताएका छन् । यो सङ्ख्या सन् २०२५ को शरद ऋतुमा ३९ प्रतिशत मात्र थियो ।

यद्यपि, जर्मन उद्योग तथा वाणिज्य मण्डलले अहिलेको सुधारलाई पूर्णरूपमा सकारात्मक भन्न नमिल्ने जनाएको छ । संस्थाका अनुसार हालको व्यापारिक अवस्था अझै पनि दीर्घकालीन औसतभन्दा कमजोर रहेको छ, जसले अमेरिकी बजारप्रति कम्पनीको सतर्कता कायम रहेको सङ्केत गर्छ ।

सर्वेक्षणले अमेरिकी अर्थतन्त्रप्रति पनि जर्मन कम्पनी पूर्णरूपमा आशावादी नरहेको देखाएको छ । करिब ३० प्रतिशत कम्पनीले आगामी एक वर्षमा अमेरिकी आर्थिक अवस्था अझ बिग्रिने अनुमान गरेका छन् । त्यसको विपरीत केवल २४ प्रतिशत कम्पनीले मात्र आर्थिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गरेका छन् । विशेषज्ञका अनुसार भन्सार शुल्कको दीर्घकालीन असर अन्ततः उपभोक्तामाथि नै पर्ने भएकाले वस्तु तथा सेवाको मूल्य वृद्धि अमेरिकी बजारमा महँगी बढाउने प्रमुख कारण बन्न सक्छ । रासस/सिन्ह्वा