जनार्जन खत्री
सर्लाही, जेठ २ गते । सर्लाहीको हरिपुर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा भएर आउनुभएका उपसचिव जगदीश अर्यालले नगरको विकासका लागि सबै पक्षसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उपसचिव अर्यालले आफ्नै कार्यकक्षमा शुक्रबार नेपाल पत्रकार महासङ्घ सर्लाहीका सञ्चारकर्मीसँगको भेटमा नगरभित्र विवाद हुन नदिन र रोकिएका विकासका काम अघि बढाउन सबै पक्षसँग समन्वय र संवाद गरेर अघि बढ्ने बताउनुभएको हो ।
उहाँले हरिपुर्वामा यसअघि बारम्बार विवाद हुने गरेको र प्रायः कुनै पनि उपसचिव सरुवा भएर आउन नमानेको थाहा पाउँदा पाउँदै आफू जोखिम मोलेरै र सुधार गर्छु भन्ने प्राण गरी यहाँ आएको बताउनुभयो ।
आफूले यसअघि विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति, स्थानीय तहलगायत अधिकांश निकायमा बसेर काम गरिसकेको अनुभवलाई हरिपुर्वामा सदुपयोग गरेर उत्कृष्ट काम गर्न प्रयास गर्ने अर्यालले बताउनुभएको छ ।
सुधारको प्रयास र सकारात्मक ऊर्जाका लागि आफू प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर भएपछि कर्मचारीलाई ९ बजे नै कार्यालयमा उपस्थित हुने र राष्ट्रियगानमा सरिक हुनुपर्ने नियम बसालिएको उपसचिव अर्यालले बताउनुभयो ।
उहाँले नगरपालिका तथा मातहतका कार्यालयमा ई–हाजिरीको व्यवस्थाका लागि पहल अघि बढाइएको जानकारी दिनुभयो ।उपसचिव अर्यालले नगरको विकासका लागि सहयोग गरिदिन नगरवासी तथा सम्पूर्ण सरोकारवालासँग आग्रहसमेत गर्नुभएको छ ।