देवराम यादव
सप्तरी ,जेठ २ गते । सप्तरी प्रहरीले ठुलो परिणाममा लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
धनकुटाका साङगुरीगढी गाउँपालिका वडा नम्बर १ का ३३ वर्षीय महाप्रसाद लिम्बू र मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ का ४७ वर्षीय बलबहादुर लिम्बू एक सय ४१ किलो गाँजासहित बिहीबार पक्राउ गरेको हो।
पूर्वपश्चिम राजमार्गको खडक नगरपालिका-५, रन्जितपुर खण्डमा सवारी चेकजाँचका क्रममा ठुलो परिमाणमा गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
धरानबाट लहानतर्फ जाँदै गरेको को. १ च. २६६७ नम्बरको पिकअप भ्यानलाई शङ्का लागेर खानतलासी गर्दा भित्र लुकाएर राखिएको १४ पोकामा कुल १४१ किलो गाँजा फेला परेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले बताउनुभयो ।
पिकअप भ्यान सहित दुवैजनालाई नियन्त्रणमा लिई सप्तरी जिल्ला अदालत राजविराजबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
यसै बिच सवारी ज्यान मुद्दामा विगत आठ महिनादेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।दुर्घटनामा संलग्न रही फरार रहेका खडक नगरपालिका वडा नम्बर १० का २६ वर्षीय शिभामणि चौधरीलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा बेल्हाबाट पक्राउ गरेको जनाएको छ ।
सवारी ज्यान मुद्दा कसुरमा जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरी जनाएको छ ।२०८२ असोज १६ गते खडक नगरपालिका वडा नम्बर ११ मा दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा चालकहरू चिन्तामणि चौधरी र सोभिन कुमार चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो ।
यसैगरी अग्निसाईर कृष्णसवरण गाउँपालिका वडा नम्बर ६ मा गुडिरहेको गाडी रोकी सिसा फुटाउने र गालीगलौज गरी अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही गाउँपालिका वडा नम्बर ६ का ३० वर्षीय सन्तोष मण्डल र ३३ वर्षीय सञ्जय चौधरी छन् ।
राजेन्द्रप्रसाद साहको जाहेरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिई अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरि जिल्ला प्रशासन कार्यालयबाट चार दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।