विष्णुप्रसाद पोखरेल
दमक, जेठ २ गते ।जिल्ला प्रहरी कार्यालय झापाले चालु आर्थिक वर्ष २०८२÷०८३ मा लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको दाबी गरेको छ ।
प्रहरीका अनुसार हालसम्म ४८२ जनालाई पक्राउ गरिएको छ भने २७७ वटा मुद्दा दर्ता गरिएको छ ।प्रहरीले यो आर्थिक वर्षको वैशाख अन्तिमसम्ममा तीन केजी ३७९ ग्राम २७५ मिलिग्राम ब्राउन सुगर, चार केजी २४९ ग्राम ३१० मिलिग्राम गाँजा, एक लाख तीन हजार ३५१ ट्याब्लेट र एक लाख छ हजार ९०८ क्याप्सुल बरामद गरेको सार्वजनिक गरेको छ ।
वैशाख महिनामा मात्र ५३ वटा मुद्दा दर्ता गरी ६८ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।
त्यसैगरी, वैशाख १० गतेदेखि १६ गतेसम्म सञ्चालन गरिएको “अपरेशन ब्राउन” अन्तर्गत १५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार यस अवधिमा सात ग्राम १४६ मिलिग्राम ब्राउन सुगरसहित विभिन्न प्रतिबन्धित औषधी बरामद गरिएको छ । प्रवक्ता खड्काका अनुसार फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत चालु आर्थिक वर्षमा अदालतबाट फैसला भई फरार रहेका ५४९ जना पक्राउ गरिएको छ ।
खड्काले दिनु भएको जानकारी अनुसार वैशाख महिनामा मात्र ४८ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । उनीहरूमथि १६ वर्ष तीन महिना ११ दिन कैद तथा २६ लाख ९२ हजार ८५५ रुपियाँ जरिवाना असुल उपर भएको छ ।