वासिङ्टन, जेठ २ गते । अमेरिकाले पोल्यान्डमा थप सैनिक पठाउने योजना अचानक रद्द गरेपछि युरोपमा अमेरिकी सैन्य उपस्थितिबारे नयाँ चर्चा सुरु भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकास्थित चार हजारभन्दा बढी सैनिकलाई अस्थायीरूपमा पोल्यान्ड पठाउने तयारी अन्तिम समयमा स्थगित गरेको विभिन्न अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
यो निर्णय विशेष गरी दोस्रो बख्तरबन्द ब्रिगेड लडाकु टोलीसँग सम्बन्धित रहेको बताइएको छ । अमेरिकी स्थल सेनाका कार्यवाहक प्रमुख क्रिस्टोफर ला नेभले संसदीय सुनुवाइका क्रममा युरोपियन कमान्डलाई सैनिक सङ्ख्या घटाउने निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार विस्तृत परामर्शपछि उक्त ब्रिगेडलाई युरोपमा तैनाथ नगर्ने निर्णय गरिएको हो ।
उहाँले केही सैनिक सदस्य विदेश पठाइसकिएको र आवश्यक सैन्य उपकरणसमेत मार्गमा रहेका बेला योजना रोकिएको खुलासा गर्नुभयो । रिपोर्ट अनुसार सैनिक तैनाथी रद्द गर्ने आदेश अमेरिकी रक्षामन्त्री पिट हेगसेथको कार्यालयबाट आएको हो । यद्यपि पेन्टागनले यस विषयमा हालसम्म कुनै औपचारिक सार्वजनिक घोषणा गरेको छैन ।
अमेरिकी सिनेटको सशस्त्र सेवा समितिकी सदस्य जिन शाहिनले संसदलाई यसबारे कुनै पूर्वजानकारी नदिइएको बताउँदै सरकारको निर्णय प्रक्रियामाथि प्रश्न उठाएकी छन् । उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरूलाई यसबारे जानकारी नदिइएको स्पष्ट पार्नुभयो । यो निर्णय अमेरिकाले युरोपमा आफ्नो सैन्य रणनीति पुनरावलोकन गरिरहेको सङ्केतका रूपमा हेरिएको छ ।
केही समयअघि मात्रै पेन्टागनले जर्मनीबाट करिब पाँच हजार अमेरिकी सैनिक आगामी ६ देखि १२ महिनाभित्र फिर्ता बोलाइने घोषणा गरेको थियो । युक्रेन युद्धपछि पूर्वी युरोपमा सुरक्षा चिन्ता बढिरहेका बेला अमेरिकाले पोल्याण्डमा थप सैनिक नपठाउने निर्णय गर्नु रणनीतिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।
पोल्यान्ड हाल उत्तर एटलान्टिक सैन्य गठबन्धन अन्तर्गत पूर्वी युरोपको महत्त्वपूर्ण सुरक्षा साझेदारका रूपमा हेरिन्छ, जहाँ अमेरिकी सैनिक उपस्थिति रूससँगको तनावका कारण विशेष महत्त्व राख्दै आएको छ । यस्तो अवस्थामा सैनिक तैनाथी रोक्ने निर्णयले अमेरिकाको आगामी सुरक्षा नीति र युरोपमा सैन्य भूमिकाबारे थप चासो बढाएको छ । रासस/सिन्ह्वा