जयकृष्ण यादव
इनरुवा, जेठ २ गते । जिल्ला प्रहरी कार्यालय सुनसरीले फरार अभियुक्त पक्राउ अभियानलाई तीव्र बनाएको छ । यस क्रममा झुम्का कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक अभियुक्त पक्राउ परेका छन् ।
प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार धरान उपमहानगरपालिका–१७ का ३७ वर्षीय प्रकाश दमाईलाई पक्राउ गरिएको हो । उनी सुनसरी जिल्ला अदालत इनरुवाको मुद्दा दर्ता नम्बर ०७५–०१–०६०२ अन्तर्गत २०७९ पुस ५ गते भएको फैसला अनुसार जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद, दुई लाख रुपियाँ जरिवाना, एक लाख रुपियाँ पीडित क्षतिपूर्ति तथा १२ हजार रुपियाँ पीडित राहत कोषमा बुझाउनुपर्ने रकम भुक्तानी गर्न बाँकी रहेका अभियुक्त हुन् ।
जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका दमाईलाई प्रहरीले धरान–१७ पटनाली क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउपछि उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी अदालतको फैसला अनुसार ज्यान मार्ने मुद्दामा ६ महिना कैद र पाँच हजार रुपियाँ जरिवाना भुक्तानी गर्न बाँकी रहेका धरान उपमहानगरपालिका–१५ का २९ वर्षीय गणेश राई उर्फ ‘दाँत’लाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।
राईलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सुनसरीमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।