न्यायपालिकामा ३४ वर्ष सम्पादन गरेका न्यायिक कामकारबाहीका अनुभव समेटेर पूर्वन्यायाधीश गोविन्दकुमार श्रेष्ठले ‘ब्रह्ममुहूर्त’ कृति ल्याउनुभएको छ ।
आत्मसंस्मरणका रूपमा लेखिएको यस कृतिमा लेखक श्रेष्ठले न्याय सम्पादन गर्दा आफूले अनुभूत गरेका केही सन्दर्भ र सम्झना समेट्नुभएको छ । १५ वटा अलग्गै शीर्षक दिएर उल्लेख गरिएका सन्दर्भमा वास्तविक भोगाइ सजिलोसँग बुझ्न सक्ने गरी सरल लेखन प्रस्तुत गरिएको पाइन्छ ।
सुरुवाती ‘अनुराग’ शीर्षकको लेखमा ३४ वर्षसम्म न्याय सेवामा काम गरेर विसं २०६९ मा अनिवार्य अवकाश भएयताको छट्पटाहट, वास्तविक उमेर एउटा र शैक्षिक प्रमाणपत्रमा रहेको अर्कै उमेरले हुनु परेको छिटो अवकाशको मनोविज्ञान र पद्धति अभावमा हुन नसकेको पदोन्नतिलगायत अनुभूति समेटिएको छ ।
‘निर्णय’ शीर्षकको दोस्रो लेखमा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेपछि पनि के पेसा अपनाउने भन्ने अन्योल, सेन्टर फर इकोनोमिक डेभलपमेन्ट एन्ड एड्मिनिस्ट्रेसन (सेडा) सँगको आबद्धता, ढिलो बिएल अध्ययन र नेपाल ल क्याम्पसमा सहायक प्राध्यापकका रूपमा स्थायी नियुक्ति र राजीनामाको प्रसङ्ग समेटिएको छ ।
आफ्नो इच्छा राजनीतिमा हुँदाहुँदै पनि पारिवारिक बाध्यताले सरकारी सेवामा होमिनुपर्दाको अवस्थामा लोक सेवा आयोग परीक्षाको तयारी, न्याय सेवा अधिकृतका रूपमा जागिर प्रवेश र क्षेत्रीय अदालतमा मुख्य न्यायाधीशको बेन्चमा बेन्च असिस्टेन्ट भएर काम गर्दाको न्यायिक कार्य प्रारम्भको सिलसिला ‘प्रवेशद्वार’ शीर्षकको लेखमा राखिएको छ ।
त्यस्तै सय जना अपराधी छुटे पनि निरपराधी एक जनाले पनि सजाय नपाओस् भन्ने न्यायिक मर्म पराजित भयो कि भन्ने पहिलो पटक मुद्दा फैसला गर्दा लागेको नमज्जा ‘अनुभूति’ शीर्षकको लेखमा समेटिएको छ । अशिक्षा, अनभिज्ञता र अरूको भनाइको विश्वास गरेर मुद्दा जिताइदिन न्यायाधीशलाई घुस दिने प्रयास, कानुनका जटिलता बुझ्न चाहिने चेतना, मुद्दा फैसलासँगै आइलागेका संवेदनात्मक क्रियाकलाप, आक्रोश, धम्कीलगायत अनुभवसमेत यसमा राखिएको छ ।
‘सिन्दुरे जात्रा’ शीर्षकको लेखमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्यका कार्यकर्ताको विपक्षमा भएको फैसलामा उनका विरोधीले आफ्नो पक्षमा भएको फैसलालाई जितका रूपमा सिन्दुरे जात्रा गरेर मनाएको प्रसङ्ग छ । गाउँलेको मनमुटावका कारण विदेशी इन्जिनियर दम्पतीले भोग्नु परेको मुद्दाको दुःख, दण्ड जरिबाना असुलउपर गर्न गएको टोलीलाई प्रधानपञ्चको अगुवाइमा भएको हातपात र प्रतिवादीको पक्षमा फैसला हुँदा तत्कालै आइपर्ने ज्यान जोखिमको घटना पनि उक्त लेखमा समावेश छ ।
त्यस्तै ‘दर्बीको रिक्सा’ शीर्षकको लेखमा विभिन्न जिल्लामा न्यायाधीशका रूपमा खटिएर गइसकेपछि जिल्ला अदालत र बस्न उपलब्ध गराइएको आवासबिचको दुरी र सवारीसाधन उपलब्ध नगराइँदाको भोगाइ समेटिएको छ । त्यसका अलावा, औपचारिक पोसाकमा मेडल झुन्ड्याएर ट्रकमा बसेर समारोहमा जान परेको भोगाइ र ठुलाबडा एवम् राजनीतिज्ञहरूले न्याय सम्पादनमा पार्न खोजेको प्रभाव पनि उल्लेख छ ।
‘प्रमोसन’ शीर्षकको लेखमा बढुवामा भोग्नु परेको अप्ठ्यारो, झमेला र लागेको समयसँगै बढुवापछिको खुसी समेटिएको छ । ‘अफवाह’ लेखमा मुद्दामा थुनछेक आदेश गर्दा अनियमितता भएको भन्ने अफवाह, प्रमुख जिल्ला अधिकारीहरूले क्षेत्राधिकार बिर्सेर दिने दबाबका प्रसङ्ग गाँसिएको छ । आफ्नो पक्षमा फैसला नहुँदा न्यायाधीशलाई दुःख दिन गरिने उजुरी, लगाइने लाञ्छना र फैलाइने अफवाहको उदाहरण यसै लेखमा समावेश छन् ।
किताबकै नाम राखिएको ‘ब्रह्ममुहूर्त’ शीर्षकको आत्मसंस्मरणमा बिहान सूर्योदय हुनुभन्दा निश्चित घण्टा र मिनेट अगाडिको अमृत समयका बारेमा चर्चा, त्यसबाट हुने शुभलाभको व्याख्या गरिएको छ । त्यस्तै मानसरोवर यात्रा, फ्रान्स, स्पेन, बेलायत, अक्सफोर्ड विश्वविद्यालय, अमेरिका, स्विट्जरल्यान्ड, पोर्चुगल, जर्मनीलगायत युरोपका विभिन्न देशसँगै चीन र श्रीलङ्कालगायत भ्रमणको अनुभव समेटिएको छ ।
‘अतिरिक्त क्रियाकलाप’ लेखमा विसं २०३८ सालको राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनमा दोलखामा जिल्ला निर्वाचन अधिकृत हुँदा, २०४३ सालको राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनमा चितवनमा र २०५१ सालको मध्यावधि निर्वाचनमा कास्कीमा जिम्मेवारी वहन गर्दाका विविध प्रसङ्ग राखिएको छ । विसं २०५७ मा भारतीय नायक ऋतिक रोशनको अभिव्यक्ति पछिको अवस्था, संविधान सभा निर्वाचनका क्रममा भएका घटनालगायत यसमा समेटिएको छ ।
जिम्मेवारी वहनका क्रममा दुर्घटना नजिक पुगेर जोगिएको, कतै त दुर्घटनामा परेर पनि बाँचेका विभिन्न घटना र २०७२ सालको भूकम्पको अनुभव पठनीय ढङ्गले उतारिएको छ ‘दुर्घटना’ शीर्षकमा । ‘सकस’ लेखमा सरुवा भएर विभिन्न ठाउँ गैरहँदा परिवार र बालबच्चाको पढाइमा पर्ने असरले भविष्यसम्म पार्ने अप्ठ्यारोसँगै पारिवारिक प्रसङ्ग छन् । ‘हुर्कंदै गर्दा’ आत्मसंस्मरणमा धादिङको सुकौरा बजार (हालको सुनौला बजार) जन्मथलोका विभिन्न परिवेश, गोरखा जिल्लामा गरेको विद्यालय अध्ययन, काठमाडौँको उच्च शिक्षा अध्ययनलगायत आफ्ना जिल्लाका भेगहरूको वर्णन छ ।
थप प्रसङ्ग नाम दिइएको लेखमा विभिन्न जिल्ला, क्षेत्र र भेगमा कार्यसम्पादन गर्दै गर्दा भोगेका र आत्मसंस्मरणमा विभिन्न शीर्षकमा नअटाएका विविध अनुभव मिलाएर प्रस्तुत गरिएको छ ।
आत्मसंस्मरणको बिट मार्ने लेखका रूपमा ‘अन्त्यतिर..’ शीर्षकमा लेखकले न्यायसम्पादन क्षेत्र रोजेर आफूले निर्वाह गरेको भूमिका, परिस्थिति र परिवेशले पार्ने प्रभाव मूल्याङ्कन र सेवाकै क्रममा धादिङबाट काठमाडौँको स्थायी बासिन्दा हुन पुगेको जस्ता विषयवस्तु पस्किनुभएको छ ।
सुन्दर स्वदेश पब्लिकेसनले बजारमा ल्याएको उक्त आत्मसंस्मरण २६४ पृष्ठमा प्रकाशित छ, जसको मूल्य रु. ६५० र अमेरिकी डलर १५ राखिएको छ । न्याय सेवामा काम गरेर दशकौँसम्म सयौँ मुद्दा मामिला र न्याय सम्पादन गरिआएका धेरैका अनुभव सेवा निवृत्त भइसकेसँगै बिर्सिइन थाल्छन् र जीवनसँगै सकिएर जान्छन्, जुन के कस्ता थिए भन्ने कसैले थाहा पाउँदैन । त्योभन्दा फरक रहेर आफ्नो न्याय सम्पादन कार्यावधिभर जे गरियो, भोगियो र देखियो सबै समेटेर पूर्वन्यायाधीश श्रेष्ठले लेख्नुभएको ब्रम्हमुहूर्त आत्मसंस्मरण सयौँ वर्षपछि पनि खोजेर पढिने पठनीय खजाना बन्न पुगेको छ । जुन श्रेष्ठको अनुभवका माध्यमबाट नेपालको न्याय सम्पादनको नालीबेली चियाउने आँखीझ्याल साबित हुनेमा दुई मत छैन ।