ल्होमन्थाङ घुम्ने अनि कोरला नाका पुगेर २४ नम्बरको पिल्लरमा उभिएर तस्बिर खिच्ने रहर अधुरो अधुरो बन्दै आएको थियो । नेपालका ६५ भन्दा बढी जिल्लाको माटोसँग स्पर्श गरेको मलाई एक पटक मुस्ताङ जाने, मार्फागाउँ घुम्ने हुटहुटी थियो । जोमसोम टेक्ने, मुक्तिनाथको दर्शन गर्ने, कागबेनी हुँदै कालीगण्डकीको तटैतट कोरला नाकासम्म पुग्ने रहर केवल रहरमै सीमिति थियो ।
श्रीमतीजीले मुक्तिनाथ दर्शनका लागि गरेको भाकल अनि कालीगण्डकीको तट कागबेनीमा पुगेर दिवङ्गत पितृको नाममा पिण्डदान र तर्पण दिने ७० बर्से आमाको इच्छा पूरा गर्ने अवसर मिलिरहेको थिएन । पिताजीको देहावसान भएको करिब १८ वर्ष व्यतीत हुँदासम्म म स्वयम्ले पनि त्यहाँ पुग्ने र पिताजीको नाममा श्राद्ध गर्ने, तर्पण दिने अवसर पाइरहेको थिइनँ ।
चैतको दोस्रो हप्तातिर श्रीमतीजीले एउटा प्रस्ताव अघि सारिन् । प्रस्ताव यस्तो थियो, “मूलपानीबाट हजुरबुवा, हजुरआमा, मामामाइजू सबै जना मुक्तिनाथ हुँदै अप्पर मुस्ताङसम्म जाने तयारीमा हुनुहुँदो रहेछ, हामीलाई पनि जाऊँ भन्दै हुनुहुन्छ । जाने हो ?” मैले पनि यस्तो अवसर फेरि कहाँ आउला र भनी तुरुन्तै ‘हुन्छ’ भनिदिएँ ।
एकेडेमीमा क्रिकेटको विशेष प्रशिक्षण चलिरहेको भन्दै छोरो अनुभवले यात्रामा नजाने निर्णय सुनाएपछि श्रीमती, आमा र मसहित चैत २३ गते ३१ जनाको टोली सात दिनको तीर्थाटनका लागि निस्कियौँ । यात्राको पहिलो दिन म्याग्दीको सदरमुकाम बेनी पुग्ने तालिका रहेछ । हामी त्यही तालिका अनुसार काठमाडौँबाट यात्रा सुरु ग¥यौँ । सयौँ यात्रा गरेको मेरा लागि यो तीर्थाटन सर्वथा नयाँ थियो । तालिका अनुसार पहिलो दिन बिहानको खाना धादिङको गल्छी महेश दोभानमा अवस्थित अम्लेश्वर महादेव मन्दिरपरिसरमा खायौँ । थुप्रै यात्रामा मन्दिरवरिपरि, चौर वा खुला ठाउँमा भाँडाकुँडा, ग्यास चुलो, चामलका बोरा र सागसब्जी फिँजाएर गुजुमुज्ज भई भात पकाउँदै गरेका, खाँदै गरेका दृश्य देखेको थिएँ । ठ्याक्कै त्यसै गरी खाना बनाएर खाँदै तीर्थाटन गर्दा नयाँ अनुभव भइरहेको थियो । अम्लेश्वर महादेव मन्दिरमा बिहानको खाना खाएर मुग्लिङ हुँदै पृथ्वी राजमार्ग भएर पोखरातिर लाग्यौँ । लमतन्न सुतेको पृथ्वी राजमार्गवरिपरि कतै फाँट देखिन्थे कतै हरियालीले मनै लोभ्याइदिन्थे । वरिपरिका दृश्यले वसन्तको आगमनको झल्को दिन्थ्यो ।
तीर्थाटनको गाडी आफ्नै वेगमा हुइँकिरहेको थियो । मुग्लिङबाट पोखरातिर हुइँकिएको गाडी व्यास नगरपालिकामा अवस्थित घाँसीकुवा पुग्न लागेपछि मैले गुरुजीलाई केहीबेर रोक्न आग्रह गरेँ । भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणा स्थलको दर्विलो इतिहास बोकेर बसेको घाँसीकुवा पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडकखण्ड विस्तारको जोखिमबाट जोगिँदै जोगिँदै बाटोमुनि एउटा तिरतिरे धारा बनेर आफ्नो अस्तित्व बचाइरहेको रहेछ ।
घाँसीले ‘नाम क्यै रहोस्’ भनी खनाएको कुवा विकासका नाममा आफैँ ‘लोप’ हुने अवस्थामा देख्दा नरमाइलो लाग्यो । त्यसपछि पोखरा, पर्वत हुँदै कालीगण्डकी नदी पार गरेर म्याग्दी पुग्दा रात छिपिइसकेको थियो । कालीगण्डकी र म्याग्दी नदीको दोभानको बेनी बजारको माटो पहिलो पटक टेक्दा म्याग्दीका कलाकार दम्पती मन छन्त्याल र टीकाबहादुर श्रेष्ठले सिर्जना गरेको ‘बेनीको बजार जता माया उतै छ नजर.. किरेमिरे जाले रुमाल’ गीतको सम्झना भयो ।
तीर्थाटनको पहिलो रात बेनीमा विताइयो । भोलिपल्ट तातोपानी कुण्डमा डुबुल्की मार्दै अनि रुप्से झरनामा टिकटक बनाउँदै अघि बढ्यौँ । सेल्फीमा रमाउँदै सुन्दर हिमाल नीलगिरि, धवलागिरिको काख र कालीगण्डकीको किनारमा अवस्थित कवि भूपि शेरचनको जन्मभूमि टुकुचे छाड्दै मुस्ताङको चर्चित मार्फा पुग्यौँ ।
सेतो र रातो माटोले लिपेका घर अनि माटोकै छाना र छानामाथि राखिएको दाउराको थुप्रो लगाइएका एकनासका घरले एकातिर मार्फाको पहिचानलाई झल्काइरहेको थियो । पछिल्लो समय पर्यटकीय गाउँका रूपमा परिचय बनाएको मार्फा वास्तवमै गुलजार थियो ।
दोस्रो दिनको यात्रा कागबेनीसम्म पुग्नैपर्ने भएकाले केहीबेर मार्फामा रमाएपछि जोमसोमतिर लाग्यौँ । जब जोमसोम पुगियो, गाडीमा गुरुजीले पनि चर्को आवाजमा नेपथ्यको चर्चित गीत ‘जोमसोमै बजारमा...’ लगाइदिए । जोमसोमको माटो टेकेका हामी नेपथ्यको त्यो गीत बजेपछि सिट छाडेर नाच्न बाध्य भयौँ । केहीबेर सबै जना त्यही गीतलाई रिमिक्स बनाउँदै नाच्यौँ ।
जोमसोमबाट १० किलोमिटरको यात्रापछि कागबेनी पुगिने रहेछ । गोधूलि ढल्किएपछि हामी कागबेनी पुग्यौँ । त्यो रात कागबेनीमै बिताएर यात्राको तेस्रो दिन कागबेनीबाट करिब एक सय किलोमिटर ग्राभेल सडक यात्रा हुँदै चार हजार ६६० मिटरको उचाइमा रहेको कोरला नाकासम्मका लागि उकालो लाग्यौँ । कागबेनीबाट समर, घमीडाँडा, चराङ हुँदै अन्नपूर्ण र धवलागिरि हिमशृङ्खलाको बिचमा अवस्थित विशाल पठारको ल्होमन्थाङ पार गरेर कोरला नाकाको यात्रा गर्दैगर्दा चीन यात्राको सम्झना आयो । करिब डेढ वर्षअघि उत्तरपश्चिमी चीनको छिङहाई प्रान्तको राजधानी सिनिङदेखि १५१ किलोमिटर टाढा अवस्थित छिङहाई तालको यात्रा गरे जस्तो अनभूति भइरहेको थियो । याङ्गसी, ह्वाङ हो (यल्लो) र लान्चाङ जस्ता ठुला नदीको उद्गम भूगोल छिङहाई तालको यात्रा गर्दैगर्दा कतै अग्ला हिमालले स्वागत गर्थे । कतै उँचो भूभागले ढाकिएका तिब्बती पठारका लोभलाग्दा दृश्यले मनै लोभ्याइदिन्थे । त्यतिबेलाको यात्रामा पनि मैले कतै भेडा चरिरहेका, कतै हिउँ फुसफुसाइरहेका दृश्य कैद गरेको थिएँ ।
मलाई कागबेनीबाट करिब एक सय किलोमिटरको कोरला नाकासम्मको यात्रा गर्दै गर्दा चीनको छिङहाई तालको यात्रा गरे जस्तो अनुभूति भइरहेको थियो । म चीनको त्यो भूभागसँग मिल्दोजुल्दो मुस्ताङ यात्रा गर्न पाउँदा पुलकित भइरहेको थिएँ ।
म चीन भ्रमणमा पूर्वपश्चिम १०९ किलोमिटर र उत्तरदक्षिण ६५ किलोमिटर फैलिएको करिब चार हजार ५८३ वर्गकिलोमिटरको छिङहाई तालको दृश्य कैद गर्ने रहरले जति उत्साहित थिएँ, यस पटक कोरोला नाका पुगेर नेपालको चिनारी बनेर २०२९ सालदेखि ठिङ्ग उभिएको अर्थात् ‘नेपाल’ लेखिएको २४ नम्बरको पिल्लरलाई समीपमा राखेर तस्बिर खिच्ने हतारोले त्यत्तिकै उत्साहित थिएँ ।
यात्रामा कतै देखिने अग्ला फुस्रा पहाड र फुस्रेडाँडा अनि पठारले चीन यात्राको झल्को दिन्थ्यो । ठाउँ ठाउँमा भेटिने बालुवा नै बालुवाका थुम्काले दुबईको रेगिस्तान यात्राका क्रममा ऊँट र जिपमा चढेर गरेको ‘डेजर्ट सफारी’ को झल्को दिन्थ्यो ।
कोरला पुग्नुभन्दा करिब १० किलोमिटर तल रहेको नेचुङमा सुरक्षा जाँचपछि २४ नम्बर पिल्लरको अघि पुग्यौँ । नेपाल लेखिएको २४ नम्बर पिल्लरनजिकै तस्बिर खिच्दै गर्दा सगरमाथाको टुप्पोमा पुगेभन्दा बढी खुसी प्राप्त भएको थियो ।
करिब २० मिनेट जति त्यहाँ बिताएपछि कागबेनीको यात्रामा फर्कियौँ । एक÷दुई घण्टाअघि कोरला नाका जाँदा देखिएका फुस्रा पहाड फर्किंदा हिउँ पहाडमा परिणत भएको देख्दा अद्भुत लागेको थियो । ल्होमन्थाङ कटेर घमीडाँडा आइपुग्दा फुस्राडाँडा बाक्लो हिउँले डम्म ढाकिएर यात्रा नै कष्टकर भयो । करिब डेढ घण्टा जति घमीडाँडामै फस्यौँ । डोजरले हिउँ पन्छाएपछि केही राहतको अनुभूति भयो तर त्यसपछिका अप्ठ्यारा वर्णन गरिसाध्य छैन । हामीलाई घमीदेखि समरसम्मको करिब १७ किलोमिटरको हिउँमय यात्रा पार गर्न करिब सात घण्टा जति लाग्यो । निकै कष्टसाध्य यात्रा पार गर्दै कागबेनी आइपुग्दा बिहानको ३ बजेको थियो ।
भोलिपल्ट बिहानै कालीगण्डकी नदीको किनारमा हजुरबुवा, हजुरआमा, मामामाइजू सबैसँग एकै लहरमा बसेर आमा, म र श्रीमतीले पनि १८ वर्षअघि देहावसान हुनुभएका बुवासँगै पितृका नाममा तर्पण दिने, श्राद्ध गर्ने काम सम्पन्न ग¥यौँ । कागबेनी पुगेर श्राद्ध गर्ने इच्छा पूरा भएकोमा आमा पनि खुसी हुनुभयो । त्यसपछि ११ किलोमिटरमाथि रहेको मुक्तिनाथ दर्शन गर्न अघि बढ्यौँ ।
पहिलो पटक मुक्तिनाथको दर्शन गर्ने रहरले मन पुलकित भएको थियो । करिब दुई किलोमिटर हिलाम्मे बाटो र नाक ठोकिने उकालोसहितको सिँढी चढेर मुक्तिनाथ मन्दिर पुग्दा मलाई शरीरमा स्फूर्ति पलाएको अनभूति भयो । आमा, श्रीमतीसहित सबैले तीन हजार आठ सय मिटरको उचाइमा रहेको हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिर पुगेर १०८ धारामा नुहाउने, कुण्डमा डुबुल्की मार्ने गर्नुभयो । मैले पनि नुहाउने, दर्शन गर्ने, डुबुल्की मारेँ । मुक्तिनाथ दर्शन गर्न छिमेकी मुलुक भारतबाट आउनेको घुइँचो लाग्ने रहेछ । बादलमाथिको मन्दिरको परिचय बनाएको मुक्तिनाथको दर्शन जीवनमा पहिलो पटक गर्न पाउँदा मन आनन्दित भयो । हामी मनोकाङ्क्षा पूरा भएकोमा खुसी हुँदै फर्कियौँ । काठमाडौँबाट निस्किएको सातौँ दिनमा मुक्तिनाथ, तातोपानी कुण्ड, गलेश्वरधाम, बागलुङ कालिका, पञ्चनारायण मन्दिर, तालावाराही, छाब्दीवाराहीलगायतको तीर्थ पूरा गरेर फर्कियौँ ।