मानव जीवन निर्णयको एउटा अविरल शृङ्खला हो । जन्मदेखि मृत्युसम्मको यात्रामा यस्ता अनेकौँ दोसाँधमा उभिन्छौँ, जहाँ एउटा बाटोको छनोटले भविष्यको सम्पूर्ण नक्सा नै बदलिदिने सामथ्र्य राख्छ । यही मानवीय दुबिधा र छनोटको मनोविज्ञानलाई चित्रण गरी अमेरिकी कवि रोबर्ट फ्रस्टले आफ्नो कालजयी कविता ‘दी रोड नट टेकन’ मार्फत अत्यन्तै घनीभूत रूपमा प्रस्तुत गरेका छन् ।
सन् १९१६ मा प्रकाशित यो कविता हरेक व्यक्तिको आन्तरिक सङ्घर्षको ऐना हो । कविताको परिवेश शरद् ऋतुको एउटा पहेँलिँदो जङ्गलबाट सुरु हुन्छ, जहाँ यात्री (स्वयम् कवि) एउटा यस्तो ठाउँमा पुग्छन् जहाँबाट बाटो दुईतिर बाँडिएको छ । एउटै व्यक्ति दुईतिर एकैसाथ हिँड्न नसक्ने भौतिक सीमाका कारण उनी दोधारमा पर्छन् । निकै बेरको सोचविचारपछि उनले यस्तो बाटो रोज्छन्, जुन अलि बढी घाँसे छ र जहाँ मानिसका पाइलाका डोबहरू कम देखिन्छन् । यो छनोटले मानिसको त्यो स्वभावलाई चित्रण गर्छ, जसले भिडभन्दा अलग रहेर आफ्नो मौलिक पहिचान बनाउन खोज्छ । उनले अर्को बाटोलाई ‘फेरि कुनै दिन हिँडौँला’ भनी थाँती त राख्छन् तर उनलाई भित्री मनमा थाहा छ, जिन्दगीमा एउटा बाटोले अर्को नयाँ बाटोतर्फ डोहो¥याउँदै लैजान्छ र फर्किएर त्यही विन्दुमा आउन असम्भव जस्तै हुन्छ । कविताको अन्त्यमा कवि एउटा गहिरो सुस्केराका साथ भविष्यको परिकल्पना गर्छन् । उनी भन्छन्, धेरै वर्षपछि कतै बसिरहँदा उनले सुनाउने छन्, “मैले त्यो बाटो रोजेँ जहाँ कमै मात्र मानिस हिँडेका थिए र त्यही एउटा सानो निर्णयले नै मेरो जीवनमा आज यो सारा भिन्नता ल्याइदियो ।”
बालकै छँदा, विद्यालयको पाठ्यक्रममा विश्व साहित्यको अत्यन्तै लोकप्रिय र अर्थपूर्ण, यो कविता हामीले पढेका थियौँ । त्यसताका यो केवल एउटा वनको बाटो र यात्रीको कथा जस्तो लागेको थियो । जीवनको अलि परिपक्व खण्डमा पुगेर जब कठोपनिषद्का पाना पल्टाउने सौभाग्य मिल्यो, तब बोध भयो, फ्रस्टले चित्रण गरेको त्यो
‘दोबाटो’ त वास्तवमा मानव चेतनाको शाश्वत द्वन्द्व रहेछ ।
कठोपनिषद्मा यमराजले बालक नचिकेतालाई ‘श्रेय’ र
‘प्रेय’ को लोभलाग्दो रहस्य सिकाएका छन् । ‘प्रेय’ त्यो बाटो हो, जुन इन्द्रियका लागि तत्कालै अत्यन्तै प्रिय, मिठो र आनन्ददायी लाग्छ । यो क्षणिक सन्तुष्टिको मार्ग हो । आधुनिक सन्दर्भमा भन्नुपर्दा, अत्यधिक विलासिता, सामाजिक सञ्जालको लत वा परिणामको विचार नगरी गरिने उपभोग यसका उदाहरण हुन् । यसको चमकधमकपूर्ण बाटोको अन्त्यमा प्रायः पराधीनता, मानसिक तनाव र असुरक्षा लुकेको हुन्छ । जसरी गुलियो देखिने विषले बिस्तारै शरीरलाई गलाउँछ, त्यसरी नै केवल प्रेयको पछाडि लाग्ने मानिस बिस्तारै बाह्य वस्तु र परिस्थितिको दास बन्न पुग्छ ।
अर्कोतर्फ ‘श्रेय’ त्यो मार्ग हो जो सुरुमा हिँड्न कठिन, अनुशासनयुक्त र कतिपय अवस्थामा ‘बोरिङ’ वा नीरस लाग्न सक्छ । यसले मानिसलाई दीर्घकालीन हित, गहिरो आन्तरिक शान्ति र वास्तविक स्वतन्त्रता (मोक्ष) तर्फ डो¥याउँछ । वर्तमान सन्दर्भमा, मोबाइल बिसाएर पार्कमा हिँड्ने वा बगैँचामा काम गर्ने; डिजिटल पुस्तकलाई थाँती राखेर भौतिक पुस्तक पढ्ने वा डायरी लेख्ने अथवा पसिना आउने गरी शारीरिक व्यायाम गर्ने जस्ता केही रचनात्मक उदाहरण लिन सकिन्छ । व्यावहारिक जीवनमा श्रेय रोज्नुको अर्थ हो, आफ्नो क्षणिक आवेग र इच्छालाई विवेकको कसीमा घोटेर हेर्नु र आफ्नो वास्तविक कल्याण हुने कार्यमा लाग्नु ।
रोबर्ट फ्रस्टले जब भन्छन्, “दुई बाटा छुट्दै थिए, मैले कम चल्तीको रोजेँ ।” तब उनी अनजानमै उपनिषद्को त्यही ‘श्रेय’ मार्गको वकालत गरिरहेका प्रतीत हुन्छन् । फ्रस्टले ती प्राचीन ग्रन्थ पढेका थिए वा थिएनन्, त्यो प्राज्ञिक बहसको विषय होला तर उनको कविताको आत्मा र उपनिषद्को दर्शनमा व्यक्त सत्यको प्रकृति झन्डै एउटै छ । दुवैले ‘भिडको सुरक्षा’ भन्दा ‘विवेकको छनोट’ लाई बढी महìव दिएका छन् ।
हजारौँ वर्षको अन्तरालमा रचिएका यी दुई कृतिले एउटै कुरा भनिरहेका छन्, मानिसको श्रेष्ठता उसले प्राप्त गर्ने सुखमा होइन, बरु उसले गर्ने छनोटमा निहित छ । एउटा कविको कल्पना र एउटा ऋषिको साक्षात्कार यसरी एउटै धरातलमा भेटिनुले के स्पष्ट पार्छ भने, जीवनका आधारभूत द्वन्द्व र सत्य शाश्वत छन् । चाहे त्यो न्यू इङ्गल्यान्डको जङ्गल होस् वा हाम्रै हिमालको काख, मनुष्यको आत्माले सधैँ त्यही ‘कम चल्तीको’ तर ज्योतिर्मय मार्गको खोजी गरिरहेको हुन्छ ।
जीवनको यात्रामा हामी प्रायः यस्तो दोबाटोमा आइपुग्छौँ, जहाँबाट बाटाहरू दुईतिर छुटिन्छन् । एउटा बाटोमा धेरैको ताँती हुन्छ, जुन देख्दा सुरक्षित, परिचित र सजिलो लाग्छ । यो ‘प्रेय’ वा तत्कालको सुख खोज्नेको बाटो हो, जहाँ भिडको पछि लाग्दा व्यक्तिगत विवेकको आवश्यकता पर्दैन । अर्को बाटो ‘कम चल्तीको’ हुन्छ, जसमा हिँड्ने साहस कमैले मात्र जुटाउँछन् ।
आजको आधुनिक युगमा भौतिक सुखसुविधा प्रशस्त भए पनि मानिसमा छटपटी र परिवेशमा अशान्ति बढ्नुको मुख्य कारण नै ‘प्रेय’ प्रतिको आशक्ति हो । जब हामी विवेक र अनुशासनलाई बिर्सेर केवल तत्कालको खुसी खोज्छौँ, तब हामी बजारका लागि एउटा ‘उपभोक्ता’ मात्र बन्न पुग्छौँ । संसारलाई परिवारका रूपमा हेर्नु भन्ने ‘वसुधैव कुटुम्बकम्’ चिन्तनले दिएको हाम्रो दृष्टि धमिलिन्छ । भिड पछ्याउने भेडोका रूपमा हामी संसारलाई बजार बनाउनमा तल्लीन हुन्छौँ । जब हामी ‘श्रेय’ मार्गको अवलम्बन गर्छौं, तब बाह्य वस्तुले हाम्रो सुख केमा होला भनी निधो गर्दैनन्; बरु हाम्रो आन्तरिक विवेकले वस्तुको उपयोगिता तय गर्छ । आफू सुखी हुन्छौँ र समाजलाई पनि सुन्दर बनाउनमा तत्पर बन्छौँ । छोटकरीमा भन्नुपर्दा, ‘प्रेय’ ले मानिसलाई क्षणिक सुखमा अल्झाएर वस्तुको दास बनाउँछ । ‘श्रेय’ ले कठिन साधनाको माध्यमबाट जीवनको वास्तविक मालिक बनाउँछ ।
कम चल्तीको बाटो रोज्नुको अर्थ भिडको मानसिकताबाट मुक्त भएर आफ्नो ‘स्वधर्म’ र ‘श्रेय’ लाई पछ्याउनु हो । यो बाटोमा आरम्भमा अनिश्चितता र एकाकीपन महसुस हुन सक्छ तर यसले नै मानिसलाई आफ्नो मौलिकता र वास्तविक क्षमताको बोध गराउँछ । धेरै हिँडिएको बाटोले सुविधा त दिन्छ तर त्यसले मानिसलाई सिर्जनशील हुन सिकाउँदैन । जब हामी कम चल्तीको, अलि कठिन र चुनौतीपूर्ण मार्ग रोज्छौँ, तब मात्र हाम्रो आन्तरिक शक्ति र धैर्यको परीक्षा हुन्छ । जीवनको अन्त्यमा कस्तो अनुभूति हुन्छ भन्ने कुरा हामीले कुन बाटो रोज्यौँ भन्नेमै निर्भर गर्छ । अन्त्यमा पछुतो ती बाटाको हुँदैन जसमा हामी हिँड्यौँ, बरु ती अवसरको हुन्छ जुन भिडको डरले रोज्न सकेनौँ ।
उपनिषद्हरूले सदैव लोककल्याणकारी मार्गको पथिक बन्न अभिप्रेरित गर्छन् । कवि रोबर्ट फ्रस्ट यथार्थको ठोस धरातलमा उभिएर प्रकृतिका कविता कोर्थे, यद्यपि उनमा तत्कालीन ‘ट्रान्सेन्डेन्टलिस्ट’ चिन्तकहरू राल्फ वाल्डो इमर्सन र हेनरी डेभिड थोरोको प्रगाढ प्रभाव थियो । इमर्सन र थोरोले प्रकृतिलाई ईश्वरीय सत्य वा ‘परम तत्व’ बोध गर्ने एउटा पवित्र माध्यम मान्थे । यहाँ एउटा रोचक संयोग के छ भने, यी अमेरिकी चिन्तकको दार्शनिक स्रोत पूर्वीय दर्शन खास गरी उपनिषद् र भगवद्गीता नै थियो । यसर्थ, धर्तीको पश्चिमी गोलार्धमा उदाएका ती मूर्धन्य साहित्यकारमा पनि ‘लोकमङ्गल’ को त्यही शुभ भाव प्रतिध्वनित भएको देखिन्छ, जुन हाम्रा ऋषिमुनिले सदियौँअघि व्यक्त गरेका थिए ।
आजको क्षणभङ्गुर समयमा, ‘प्रेय’ को मृगतृष्णा र ‘डोपामिन’ को सस्तो नसा पस्कने डिजिटल उपकरणलाई केही बेर थन्क्याएर यदि हामी ती महान् कवि र दार्शनिकका गल्लीतिर बरालिने हो भने एउटा शाश्वत सत्य फेला पार्छौं । ‘लोकको गरौँ हित भनी’ कोरिएका ती साहित्यले हाम्रो कर्म र कृति दुवै ‘श्रेय’ अनुरूप हुनु पर्छ भन्ने सन्देश दिइरहेका हुन्छन् । जीवनमा दोबाटो त सधैँ रहिरहन्छ तर प्रश्न उही हो, हामी क्षणिक सुखको ताँतीतिर लाग्छौँ कि आत्मिक सन्तुष्टिको त्यो सुनसान मार्ग रोज्छौँ ? दोबाटो त छँदै छ । के रोज्ने ?