• २ जेठ २०८३, शनिबार

चार जीपीए ल्याउने विद्यार्थीलाई पद्मोदयको सम्मान

blog

सम्मानित विद्यार्थी, अभिभावक र शिक्षकहरू । तस्बिर : सन्तोष दहित

सन्तोष दहित 
दाङ, जेठ  २ गते । 
पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय, भरतपुर दाङले एसइई परीक्षामा फोर जीपीए ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयले बिहीबार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको हो ।

यस वर्ष विद्यालयबाट ९६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । तीमध्ये रमेश सापकोटा, सन्तोष भण्डारी र श्रीधर रिजालले फोर जीपीए प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक लोकबहादुर बस्नेतले जानकारी दिनुभयो । उत्तीर्ण विद्यार्थीलाई जिल्ला शिक्षा समन्वय समिति दाङका प्रमुख देवमणी चौधरी, घोराही उपमहानगरपालिका–१५ का वडा अध्यक्ष रमेश पाण्डेय, शिक्षक अभिभावक संघका अध्यक्ष डा. सुरामणि बेल्बासे, प्रधानाध्यापक बस्नेत तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनलगायतले खादा र अबिर लगाएर सम्मान गर्नुभएको थियो । सोही क्रममा फोर जेपिए ल्याएका  रमेश सापकोटा, सन्तोष भण्डारी र श्रीधर रिजालले  उच्च माध्यमिक तहको शिक्षा पनि सोही विद्यालयमा पढ्ने घोषणा गर्नुभएको थियो ।

सम्मान कार्यक्रमअघि एसइईमा उत्तीर्ण विद्यार्थीलाई बाजागाजासहित विद्यालय परिसर परिक्रमा गराइएको थियो । यसैबीच, प्रधानाध्यापक बस्नेतले फोर जीपीए ल्याउने विद्यार्थीलाई कक्षा ११ र १२ निःशुल्क अध्ययन गराइने घोषणा गर्नुभएको छ। विद्यालयमा हाल विज्ञान, व्यवस्थापन, शिक्षा तथा प्राविधिक विषयको अध्ययन–अध्यापन भइरहेको उहाँले बताउनुभयो । विद्यालयका अनुसार प्राविधिकदेखि उच्च माध्यमिक तहसम्म करिब चार हजार विद्यार्थी अध्ययनरत छन् । यसैबिच विज्ञान प्रवद्र्धन कार्यक्रमअन्तर्गत कक्षा ११ मा अध्ययरत ३४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएकोथियो ।