बोमलाल गिरी
नवलपुर, जेठ २ गते । नवलपुरको कावासोती–१ स्याउलीस्थित मकैबारीमा मृत फेला परेको २५ वर्षीय भाले गैँडा करेन्ट लगाएर मारिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । डिभिजन वन कार्यालय नवलपुरले विज्ञप्ति जारी गर्दै प्रारम्भिक अनुसन्धानमा करेन्ट लगाएर गैँडा मारिएको देखिएको जनाएको हो । विस्तृत विवरण भने पोस्टमार्टम रिपोर्टपछि आउने कार्यालयले जनाएको छ ।
गैँडा मृत फेला परेको स्थान आसपास डिभिजन वन कार्यालयको टोलीले जिआई तार बेरिएका २७ वटा बाँसका किला तथा १३ मिटर सिंगल फेज रिङसहितको तार बरामद गरेको छ । सोही आधारमा गैँडालाई करेन्ट लगाएर मारिएको निष्कर्षमा पुगेको कार्यालयका सूचना अधिकारी सुवास अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
डिभिजन वन कार्यालयले घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ । प्रहरीले अनुसन्धानका लागि मकैबारी रहेको जग्गाका धनी भीमबहादुर दर्जीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
पोस्टमार्टमपछि गैँडालाई खाल्डो खनेर डिभिजन वन कार्यालय परिसरमा गाडिएको छ । गैँडाको खाग र खुर सुरक्षित रहेको जनाइएको छ ।