सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, जेठ २ गते । सिन्धुलीको कमलामाई नगरपालिका–१ स्थित शिखर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी खोला तरेर विद्यालय आउजाउ गर्न बाध्य छन् । विद्यालयनजिकै रहेको मछ्यानी घाँघरखोलामा झोलुङ्गे पुल नबन्दा हरेक वर्ष बर्खायाममा आउने बाढीमा दैनिक सयभन्दा बढी विद्यार्थी जोखिम मोलेर विद्यालय जाने गरेका छन ।
विद्यालयका प्रधानाध्यापक सुरबहादुर बम्जनले गत चैतदेखि निरन्तर जसो पानी परिरहेकाले खोलामा बाढी आउने व्रmम बढेको बताउँदै भन्नुभयो, “एउटा झोलुङ्गे पुल मात्रै बनेमा विद्यार्थीलाई धेरै राहत हुने थियो । दुई पटकसम्म सर्वेक्षण भयो तर अहिलेसम्म निर्माणको कुनै सुरसार छैन ।”
कक्षा १ र २ मा अध्ययनरत बालबालिका पनि बाढीको जोखिम मोलेर विद्यालयमा पुग्ने गरेका छन् । उहाँले थप्नुभयो, “बाढीका कारण विद्यार्थीलाई किताबकापीसमेत जोगाउन कठिन हुने गरेको छ । कहिलेकाही निथ्रुक्क भिजेर विद्यालय आइपुग्छन ।”
प्रधानाध्यापक बम्जनका अनुसार विद्यालयमा हाल १४२ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये करिब ११० भन्दा बढी विद्यार्थी दैनिक खोला तरेर विद्यालय आउनुपर्ने बाध्यता छ । खयरसाल, तीनतले, निपाने, सिरुटार, डुडखोला, गोठखोला, जोगीदमार, पिउरी र लुकुवालगायतका गाउँका बालबालिकाले खोला पार गर्नुपर्ने अवस्था रहेको विद्यालयले जनाएको छ । कमला नगरपालिका–१ का वडाध्यक्ष नरेश गोलेले झोलुङ्गे पुल निर्माणका लागि दुई पटक सर्वेक्षण गरिए पनि काम अघि बढ्न नसकेको बताउनुभयो । “आर्थिक वर्ष २०८१÷८२ मा कमलामाई नगरपालिकाको रातो किताबमा १० लाख रुपियाँ बजेट विनियोजन गरिएको थियो,” उहाँले भन्नुभयो, “तर पुलका लागि ठुलो बजेट आवश्यक पर्ने भएकाले रकम नपुग्ने अवस्था भयो ।”
उहाँले पुल निर्माणका लागि विभिन्न निकायमा पहल भइरहे पनि हालसम्म कुनै सुनुवाइ हुन नसकेको बताउनुभयो । स्थानीयले पुल नहुँदा विशेष गरी बर्खायाममा विद्यार्थीको ज्यान जोखिममा पर्ने भन्दै तत्काल झोलुङ्गे पुल निर्माणका लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।