• २ जेठ २०८३, शनिबार

नहर मिचेर पक्की संरचना

blog

डेढ सय वर्ष पुरानो सोह्र–छत्तिस सिँचाइ नहर ।

बुटवल समाचारदाता

बुटवल, जेठ २ गते । बुटवलस्थित ऐतिहासिक सोह्र–छत्तिस संयुक्त सिँचाइ प्रणाली अतिक्रमणको चपेटामा परेको छ । नहरक्षेत्र मिचेर घर, टहरा, विद्यालय, होटेल, पार्टी प्यालेस जस्ता संरचना निर्माण भएपछि सिँचाइ प्रणाली सङ्कटमा परेको भन्दै समितिले अतिक्रमण हटाउन स्थानीय तहसँग समन्वय तीव्र पारेको छ ।

समितिका पदाधिकारीहरूका अनुसार नहरको बहाब क्षेत्र क्रमशः साँघुरिँदै जाँदा यहाँका किसान प्रभावित हुँदै आएका छन् । कतिपय स्थानमा नहरको डिलमाथि नै घर निर्माण गरिएको छ भने केही ठाउँमा नहरक्षेत्रलाई घडेरीका रूपमा प्रयोग गरिएको छ । यसका कारण तल्लो भेगका खेतमा आवश्यक मात्रामा सिँचाइको पानी पुग्न समस्या भएको किसानको गुनासो छ ।

सोह्र–छत्तिस संयुक्त सिँचाइ प्रणाली समितिले नहरको नक्सा तथा सरकारी अभिलेख अनुसार अतिक्रमणमा परेका क्षेत्र पहिचान गरी अवैध संरचना हटाउने प्रक्रिया अघि बढाएको जनाएको छ । यसका लागि बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाबिच समन्वय भइरहेको समितिको भनाइ छ ।

समितिका अनुसार बर्सौंदेखि अतिक्रमण हटाउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै आए पनि प्रभावकारी सुनुवाइ हुन सकेको थिएन । सार्वजनिक सम्पदा, नदी उकास तथा नहर अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने सरकारी अभियान सुरु भएपछि समितिले पनि नहर संरक्षणको अभियानलाई सक्रिय बनाएको हो ।

स्थानीय किसानले पहुँचका आधारमा नहरक्षेत्र अतिक्रमण हुँदै गएको आरोप लगाएका छन् । किसान रमेश पाण्डेले पटक पटक नगरपालिका तथा प्रहरी प्रशासनलाई जानकारी गराउँदा पनि प्रभावकारी कदम नचालिएको गुनासो गर्नुभयो । उहाँले नहर मासिँदै जाँदा सिँचाइ प्रणाली नै सङ्कटमा परेको बताउनुभयो ।

नहरको मुहान क्षेत्र बुटवलको कन्याढुङ्गादेखि नै अतिक्रमणको समस्या देखिएको छ । यसले सिँचाइ प्रणालीको दीर्घकालीन अस्तित्वमा असर पुग्ने किसानको भनाइ छ ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले नहर अतिक्रमण हटाउने विषयमा सकारात्मक प्रतिबद्धता जनाएको समितिले जनाएको छ । समितिका अनुसार नगरपालिकाले नहर तथा कुलो अतिक्रमण गरी बनाइएका संरचना हटाउन स्थानीयलाई जानकारी गराउने प्रक्रिया अघि बढाइसकेको छ । सिँचाइ प्रणाली समितिका अध्यक्ष ध्रुवकुमार धितालले अतिक्रमण हटाउने विषयमा तिलोत्तमा नगरपालिकासँग छलफल भइसकेको जानकारी दिनुभयो । 

समितिले अवैध संरचना हटाउनुअघि सम्बन्धित पक्षलाई सूचना जारी गर्ने तयारी गरेको जनाएको छ । आवश्यक परे किसान एकजुट भएर नहर संरक्षण अभियानमा सहभागी हुने स्थानीयको भनाइ छ ।

करिब १७० वर्ष पुरानो मानिने सोह्र–छत्तिस सिँचाइ प्रणाली बुटवल क्षेत्रको ऐतिहासिक जलसम्पदामध्ये एक हो । तीव्र सहरीकरणसँगै नहरक्षेत्र अतिक्रमणमा पर्दै गएपछि यसको संरक्षण चुनौतीपूर्ण बनेको छ । सार्वजनिक सम्पदा संरक्षण अभियान प्रभावकारी रूपमा कार्यान्वयन भए नहरक्षेत्र फिर्ता गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।