• २ जेठ २०८३, शनिबार

सप्तरीमा १४१ किलो गाँजासहित ५ पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय सप्तरी ।

विनय कर्ण
कल्याणपुर (सप्तरी), जेठ २ गते ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न आपराधिक क्रियाकलाप र मुद्दामा संलग्न रहेको आरोपमा ५ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ। प्रहरीले लागुऔषध ओसारपसार, अभद्र व्यवहार र सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

यसैक्रममा प्रहरीले एक सय ४१ किलो गाँजासहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गको खडक नगरपालिका वडा नम्बर ५ रन्जितपुर खण्डमा सवारी चेकजाँचका क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।

धरानबाट लहानतर्फ जाँदै गरेको को १ च २६६७ नम्बरको पिकअप भ्यानलाई शङ्का लागेर खानतलासी गर्दा भित्र लुकाएर राखिएको १४ पोकामा कुल एक सय १४१ किलो गाँजा फेला परेको उहाँले बताउनुभयो ।

पक्राउ पर्नेमा धनकुटाका साङगुरी गढी गाउँपालिका वडा नम्बर १ का ३३ वर्षीय महा प्रसाद लिम्बु र मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ का ४७ वर्षीय बल बहादुर लिम्बु रहेका छन् । पिकअप भ्यान सहित उहाँहरुलाई नियन्त्रणमा लिई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

त्यस्तै सवारी ज्यान मुद्दामा विगत ८ महिनादेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । २०८२ असोज १६ गते खडक नगरपालिका वडा नम्बर ११ मा दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा चालकहरु चिन्तामणी चौधरी र सोभिन कुमार चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो ।

सोही दुर्घटनामा संलग्न रही फरार रहेका खडक नगरपालिका वडा नम्बर १० का २६ वर्षीय शिभामणी चौधरीलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा बेल्हाबाट पक्राउ गरेको हो । उहाँलाई ६ दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको छ।

यस्तै अग्निसाईर कृष्णसवरण गाउँपालिका वडा नम्बर ६ मा गुडिरहेको गाडी रोकी सिसा फुटाउने र गालीगलौज गरी अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही गाउँपालिका वडा नम्बर ६ का ३० वर्षीय सन्तोष मण्डल र ३३ वर्षीय संजय चौधरी रहनु भएको छ । राजेन्द्र प्रसाद साहको जाहेरीका आधारमा उहाँहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयबाट ४ दिनको म्याद थप गरि अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक पुरीले बताउनुभयो ।