• २ जेठ २०८३, शनिबार

गोरखापत्रसम्बन्धी सनदकै कुरो

blog

‘गोर्खापत्र’ प्रकाशनसम्बन्धी सनद नेपालको छापाखाना तथा प्रकाशनको इतिहास र नेपालको पत्रकारिताको इतिहासमा ऐतिहासिक कोसेढुङ्गो हो । त्यतिबेला विश्वमा पत्रकारिताका ‘टर्च बिअरर’ का रूपमा अखबारहरू नै थिए । त्यही सनदबाटै नेपालमा पहिलो अखबार ‘गोर्खापत्र’ (हालको गोरखापत्र) जन्मिएको अहिलेसम्मका उपलब्ध तथ्यप्रमाणले देखाउँछ तर उक्त सनद जारी भएको मितिका सन्दर्भमा अझै पनि कतिपयमा अन्योल कायमै छ । गम्भीर पाटो त, यो अन्योल घट्नुको साटो बढ्दो क्रममा रहेको देखिन्छ । 

‘गोर्खापत्र’ प्रकाशनसम्बन्धी सनद जारी भएको मितिका सन्दर्भमा चर्चा गर्नुअघि अखबार प्रकाशन सुरु भएको मितिका बारेमा विगतमा रहेको अन्योलको स्थितिको चर्चा पनि प्रासङ्गिक र मार्गदर्शक हुन आउँछ । नेपाली भाषा तथा साहित्यसेवी कमल दीक्षित (विसं १९८६–२०७३) ले ‘पुरेत भएको नाताले’ लेखमा ‘तेह्र सालको पुसतिर कहिले हो यसको पहिलो अङ्क फेला पारी पहिलो पटक यो निस्किएको १९५८ साल जेष्ठ वदी ३ सोमबारका दिन हो भनेर अनि त्यो तिथिलाई गते र तारिखमा अनुवाद गर्दा १९५८ साल वैशाख २४ गते र सन् १९०१ मे ६ तारिख हुन्छ भनेर मैले टिपन ‘सम्पादक बाजे’ कहाँ पु¥याएपछि उनले त्यो पुरेतको पगरी मलाई गुथाएका हुन्’ उल्लेख गर्नुभएको छ । 

सोही लेखमा उहाँले ‘बुझ्दो नबुझ्दो वैशाख १ गतेदेखि आफ्नो उमेरमा १ सङ्ख्या थप्ने गथ्र्यो’ भन्ने पनि उल्लेख गर्नुभएको छ । अर्थात् गोरखापत्रलाई आफ्नो प्रकाशनको सही मिति थाहा पाउन ५५ वर्ष कुर्न प¥यो तर गोरखापत्र प्रकाशनको आधार सनद प्रकाशन भएको मितिका सन्दर्भमा १२५ वर्षपछि पनि आधिकारिक निक्र्योल नभएको र अन्योल कायमै रहेको स्थिति देखिन्छ । यसलाई चिर्न जरुरी छ ।

मितिमा भिन्नता

नेपालका पत्रपत्रिकाको इतिहासबारे जान्न चाहनेका लागि महत्वपूर्ण कृतिका रूपमा रहेको ‘नेपालको छापाखाना र पत्र–पत्रिकाको इतिहास’ मा ग्रीष्मबहादुर देवकोटा (विसं १९७३–२०५१) ले सनद जारी भएको मिति ‘सम्वत् १९५८ साल मिति वैशाख वदी ११ रोज २’ उल्लेख गर्नुभएको छ ।

यस्तै सर्वोच्च अदालतका पूर्वन्यायाधीशसमेत रहेका र न्यायिक इतिहासका अन्वेषक प्रकाश वस्ती (विसं २०१०–२०८१) ले ‘हाम्रो कानूनी इतिहासको नालीबेली ः किरातकालदेखि २०७८ सालसम्म’ मा ‘नेपालमा छापाखाना र प्रकाशनसम्बन्धी कानूनी विकासक्रम श्री ३ देव शम्शेरले १९५८ साल वैशाख वदी ११ रोज २ का दिन गोर्खापत्र प्रकाशनका सम्बन्धमा जारी गरेको सनदबाट सुरु भएको’ उल्लेख गर्नुभएको छ । ‘गोरखापत्र प्रकाशन गर्ने उर्दी सवाल’ मा उहाँले सनद ‘१९०१ मे ६ मा साप्ताहिक रूपमा गोरखापत्र प्रकाशन सुरु हुनुभन्दा झण्डै तीन हप्ता अगाडि जारी गरिएको’ पनि स्पष्ट उल्लेख गर्नुभएको छ ।

आमसञ्चार र पत्रकारिताका विद्यार्थी तथा अध्येताहरूले प्रयोग गर्ने गरेका सन्दर्भ पुस्तकहरूमध्ये एक प्रमुख पुस्तक हो, २०५८ सालमा प्रकाशित ‘आमसञ्चार र कानुन’ । विद्वान् लेखक तथा मिडिया क्षेत्रका जानकार व्यक्ति काशीराज दाहालले उक्त पुस्तकको अनुसूची (१) मा सनदको पाठ दिनुभएको छ । पाठको शीर्षक दिनुभएको छ, ‘सम्वत् १९५८ साल वैशाख ११ रोज २ को गोरखापत्र प्रकाशनका सम्बन्धमा जारी गरिएको सनद’ । पहिलो दृष्टिमा उक्त कथन दोषमुक्त देखिन्छ तर यथार्थमा शीर्षकबाट एउटा शब्द ‘वदी’ नराम्रोसँग उछिट्टिएको ग्रीष्मबहादुर देवकोटा र प्रकाश वस्तीका कृतिहरूको अध्ययनबाट छर्लङ्ग हुन आउँछ । यसरी ‘वदी’ शब्द उछिट्टिएर लोप हुँदा सनद जारी भएको दिन वा तिथि जनाउने मूल तत्व नै लोप भएको छ । अन्योल र अस्पष्टता यसैले जन्माएको हो । 

अन्तर के हो

गोरखापत्र प्रकाशनसम्बन्धी सनद १९५८ साल वैशाख ११ गते जारी भएको भन्ने एक प्रकारको ‘फलेसी’ (भ्रम) देशका वरिष्ठ पत्रकारहरू र पत्रकारिताका गुरुहरूमा समेत रहेको देखिन्छ । सो भ्रमलाई चिर्ने प्रयास गोरखापत्र संस्थानबाट हुनु पर्छ । 

‘सम्वत् १९५८ साल मिति वैशाख वदी ११ रोज २’ र ‘सम्वत् १९५८ साल वैशाख ११ रोज २’ बिचको अन्तर नबुझी विद्यमान अन्योललाई बुझ्न र त्यसलाई चिर्न सकिँदैन । काशीनाथ तमोटले २०३३ वैशाख २४ मा गोरखापत्रमा प्रकाशित ‘गोरखापत्र ऐतिहासिक महŒवका सन्दर्भमा’ शीर्षक लेखमा ‘सुरुमा दुई वर्षसम्म यसले चान्द्रमान पात्रो मानेको हुनाले यसमा तिथि मात्र दिइएको छ, मिति छैन’ भनी उल्लेख गर्नुभएको छ । 

चान्द्रमासमा महिनालाई कृष्ण र शुक्ल गरी दुई पक्षमा वर्गीकरण गरिएको छ । चलनचल्तीमा कृष्णपक्षलाई वदी र शुक्लपक्षलाई सुदी भन्ने, लेख्ने गरिन्छ । बारलाई अङ्कले जनाउने गरिन्छ र  अङ्कको अगाडि रोज शब्द प्रयोग गरिन्छ । यस अनुसार वदी ११ ले कृष्णपक्षको एकादशी तिथिलाई जनाउँछ भने रोज २ ले सप्ताहको दोस्रो बार अर्थात् सोमबारलाई जनाउँछ । यसरी ‘वैशाख वदी ११ रोज २’ ले वैशाख कृष्णपक्ष एकादशी तिथि सोमबार जनाउँछ । अर्थात् ११ अङ्कले एकादशी तिथि जनाउने हो, ११ गते होइन ।

प्रोकेरलाको पञ्चाङ्गको सहायताबाट हेर्दा १९५८ वैशाख वदी ११ भनेको १९५८ वैशाख ३ गते रहेको देखिन आउँछ । दाहालको कृतिमा ‘वदी’ शब्द उछिट्टिनाले सनद जारी भएको मिति १९५८ वैशाख ११ गते सोमबार भन्ने सन्देश गएको छ । धन्न ‘रोज २’ पदावली त्यसरी नउछिट्टिएका कारण संवत् १९५८ वैशाख ११ गतेका दिन सोमबार पर्छ कि पर्दैन भनेर हेर्न सकिने आधार प्राप्त भएको छ । पञ्चाङ्ग हेर्दा १९५८ वैशाख ११ मा सोमबार होइन, मङ्गलबार पर्न आउँछ ।

यस्तै सुरुको दिनसमेत गणना गर्दा वैशाख ११ देखि वैशाख २४ सम्म १४ दिनको हुन आउँछ । वस्तीले कृतिमा सनद जारी भएको दिन र अखबार प्रकाशन भएको दिनबिच झन्डै तीन हप्ता अन्तर रहेको उल्लेख गर्नुभएको छ । वैशाख ३ देखि वैशाख २४ सम्मको अवधि गणना गर्दा वस्तीको यो भनाइ सही देखिन्छ । यद्यपि त्यसतर्फ ध्यान पुग्न सकेको अवस्था छैन ।

फलतः सनद जारी भएको मिति ‘खिइने’ र त्यसको तथ्य चिप्लिने क्रम रोकिन सकेन । मितिबाट वदी त हराएकै थियो, केही वर्षयता प्रकाशित सामग्रीहरूमा त झन् ‘रोज २’ पदावली पनि हराउन थालेको पाइन्छ । यो अर्को गम्भीर र तत्कालै ध्यान दिनुपर्ने तथ्य हो ।  

जहाँसम्म संवत् १९५८ वैशाख वदी ११ रोज २ भनेको संवत् १९५८ वैशाख ३ गते सोमबार हो कि होइन भन्ने कुरो छ, त्यो त त्यसबेलाको पात्रो खोजी गरेर वा विज्ञ व्यक्तिसँग बुझेर सहजै पत्ता लगाउन सकिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको पनि यस मामिलामा सहयोग लिन सकिन्छ । यो काम प्राथमिकतासाथ गर्नुपर्ने देखिन्छ । ऐतिहासिक धरोहरका रूपमा रहेको ‘गोरखापत्र’ कै इतिहासमा सत्यतथ्यको जगमै भ्वाङ पार्ने कामलाई रोक्न अब ढिलाइ गर्नु हुन्न ।  

Author
कृष्ण श्रेष्ठ

लेखक गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादक हुनुहुन्छ ।