• २ भदौ २०८२, सोमबार

‘रमाइलो शुक्रवार’ को जन्म र उतारचढाव

blog

‘गोरखापत्र’ ले केही निश्चित तर अलिखित सैद्धान्तिक सहमतिसहित २०४६ सालमा पाठकका लागि रोचक शैलीमा ‘रमाइलो शुक्रवार’ परिशिष्ट (सप्लिमेन्ट) प्रकाशन सुरु गर्‍यो । नेपालकै जेठो अखबार ‘गोरखापत्र’ ले २०१९ असार ९ देखि ‘शनिवासरीय’ नामबाट हरेक शनिबार परिशिष्ट प्रकाशन गर्दै आएको थियो । यो परिशिष्टको नाम कहिले ‘शनिवारीय’ रह्यो त कहिले ‘शनिवार’ । यसका साथै बिच बिचमा विशेष पर्व/अवसर पारेर गोरखापत्रका अन्य विभिन्न परिशिष्ट पनि प्रकाशित हुँदै आए । गोरखापत्रका परिशिष्टको प्रकाशनको लहरमा ‘रमाइलो शुक्रवार’ पाठकका लागि रोचक शैलीमा तयार पारिएको अतिरिक्त खुराक थियो । 

‘रमाइलो शुक्रवार’ को बीजाङ्कुरण

ठ्याक्क यति नै गते भन्ने त सम्झना भएन तर त्यो २०४६ साउनको तेस्रो साताको एक बिहानी । गोरखापत्र दैनिकका तत्कालीन उपसम्पादक आनन्दराम आचार्य र उपसम्पादकमै कार्यरत पङ्क्तिकार ‘ब्ल्याक टी’ को चुस्की लिँदै नयाँ बजारको ‘कोठेगफ’ मा व्यस्त थिए । दुवै नेपाल प्रेस इन्स्टिच्युटको पहिलो ब्याचका प्रशिक्षार्थी र ‘उपमा’ मासिकदेखिकै सहकार्यको पृष्ठभूमि पनि । केही समयदेखि गोरखापत्र दैनिकको ‘लेखरचना’ मा कार्यरत सहकर्मी । दुवैको बसाइ पनि नजिक नजिकैै थियो । यी सबै कारण बेला बेलामा बिहान बिहान भेटघाट गर्नु/हुनु स्वाभाविक थियो । त्यो बिहानी पनि त्यस्तै एक थियो । गफैगफमा त्यो बिहान गोरखापत्रमा शनिबारका अतिरिक्त हप्तामा अर्को एक दिन पनि कुनै परिशिष्ट निकाल्न सकियो भने पाठकले अतिरिक्त पाठ्यसामग्री पाउन सक्ने विचार निस्कियो । त्यो विचार कुनै लहड र अति उत्साहका कारण मात्रै निस्केको थिएन । त्यसका पछाडि एक वर्षदेखि एकपछि अर्को गर्दै गम्भीर हुँदै आएको मुलुकको परिस्थिति मूल कारक बनेर उभिएको थियो ।

मुलुकको परिस्थिति उदयपुर भूकम्पदेखि नाकाबन्दीसम्मले जटिल बन्दै थियो । २०४५ भदौ ५ मा उदयपुर केन्द्रविन्दु गरी गएको ६.६ म्याग्निच्युडको भूकम्पका कारण सात सयभन्दा बढी मानिसको ज्यान गयो भने छ हजार पाँच सय जति घाइते भएका थिए । ६३ हजारभन्दा बढी निजी भवन र दुई हजारभन्दा बढी सार्वजनिक भवनमा पूर्ण वा आंशिक क्षति पुगेको थियो । नेपालीहरू प्रकोपजन्य शोकसँग जुधिरहेकै बेला छिमेकी भारतले २०४५ चैत १० गते व्यापार तथा पारवहन सन्धिको अवधि सकिएको भन्दै खोचे थाप्यो । नेपाल–भारत व्यापारका २१ वटा परम्परागत नाका र पारवहनका १५ मध्ये दुई वटाबाहेक अरू नाका बन्द गर्‍यो । पेट्रोल, डिजेल, मटितेल, कोइला जस्ता आधारभूत वस्तुसहित अन्य वस्तुको नेपाल निकासीमा रोक लगायो । आन्तरिक आवागमन र मालसामानको ओसारपसारमा अवरोध तेर्सिएका कारण मुलुकको आपूर्ति व्यवस्था नै खलबलियो । अत्यावश्यक इन्धन तथा वस्तुको अभावले उद्योग सञ्चालन तथा विकास आयोजनाको कार्यान्वयनमा प्रतिकूल असर पर्‍यो । नेपाली वस्तुको भारत निकासीमा भन्सारदर बढाइएकाले निकासी व्यापार पनि ठप्प भयो । १५ महिनासम्म जारी सो ‘नाकाबन्दी’ पछाडिको कारण भने ‘राजनीतिक’ थियो ।


‘नाकाबन्दी’ कै परिणामस्वरूप नेपालमा भारतीय म्यागाजिन तथा अखबार पनि आउन सकेनन् । यहाँनेर ‘रमाइलो शुक्रवार’ प्रकाशनको बीजकथामा प्रवेश गर्नुपूर्व एक दशकअघिको नेपाली पत्रकारितासँग सम्बन्धित अर्को एउटा महत्वपूर्ण प्रसङ्ग सान्दर्भिक हुन आउँछ । २०३६ जेठ १० मा राजा वीरेन्द्रबाट सुधारिएको पञ्चायती व्यवस्थालाई कायमै राख्ने कि बहुदलीय शासनपद्धति चाहने हो, सोमध्ये एकलाई रोज्न बालिग मताधिकारका आधारमा राष्ट्रव्यापी जनमतसङ्ग्रह गराउने घोषणा भएको थियो (नेपाल राजपत्र भाग १, खण्ड २९, अतिरिक्ताङ्क १२ क, २०३६ जेठ १०) । उक्त घोषणाको एक साता नबित्दै जेठ १६ मा राजदरबारद्वारा प्रकाशित एक विज्ञप्तिमार्फत अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामा लाग्दै आएको प्रतिबन्ध पनि खुला गरियो । विज्ञप्तिमा ‘राष्ट्रिय जनमत लिइँदा दुई मूलभूत प्रश्नमध्ये कुन चाहिँ रोज्ने र त्यसको पक्ष वा विपक्षमा आफूलाई लागेको कुरा निर्धक्क र स्वतन्त्र रूपमा आआफ्नो मत वा कुरा संयमपूर्वक अभिव्यक्ति गर्न गराउन वा आमसभा, बैठक, लेख, टीकाटिप्पणी, आलोचना, समालोचना, लेख्न वा प्रचार गर्नसमेत सबै कुरा यसै विज्ञप्तिद्वारा सम्पूर्ण नेपालीलाई पूर्णरूपमा छूट प्रदान गरिबक्सेको छ’ उल्लेख थियो (नेपाल राजपत्र भाग ४, खण्ड २९, अतिरिक्ताङ्क १५ ख, २०३६ जेठ १६) । यसैको परिणामस्वरूप नेपाली प्रेस जगत्ले खुला आकाश प्राप्त गर्‍यो र त्यसलाई हडप्न नदिने चेतसहित अघि बढ्न थाल्यो ।

वरिष्ठ पत्रकार किशोर नेपालको शब्दमा नेपाली प्रेस जगत्का लागि यो एउटा ठुलो परिवर्तन मात्र थिएन, नयाँ युगको प्रारम्भ पनि थियो । यद्यपि जनमतसङ्ग्रहपछि सुधारिएको निर्दलवादी पञ्चायत व्यवस्था नै कायम हुने भएपछि प्रेस स्वतन्त्रता पनि रहेन । त्यसलाई पत्रकारले खासै महत्व दिएनन् । नेपालका अनुसार पनि नेपाली प्रेस जगत्ले जनमतसङ्ग्रहको समयमा प्राप्त स्वतन्त्रताको उपभोग गर्दै रह्यो (जनमतसंग्रहदेखि जनआन्दोलनसम्म : नेपाली पत्रकारिताको विकास र प्रभाव, पृ. ८) । फलस्वरूप पत्रकारले पत्रपत्रिका निकाल्ने कर्मलाई जारी नै राखे । त्यतिबेला नेपालमा पत्रकारिताको थालनी भएको नौ दशक पुगिसकेको थियो तर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या नौ सय पुग्न अर्को कति वर्ष पर्खनुपर्ने हो भन्न गाह्रै थियो । नेपाल टेलिभिजनको स्थापना भएको पनि भर्खर चार वर्ष पूरा भएको थियो । रेडियो प्रसारणतर्फ रेडियो नेपाल एउटा मात्र माध्यम थियो । विश्वमा सन् १९३० को दशकमा नै एफएम रेडियो प्रसारण सुरु भइसकेको भए पनि नेपालमा एफएम रेडियो थिएनन् । अमेरिकाको बोस्टनस्थित ‘दी वल्र्ड’ ले विश्वमा सन् १९८९ मा नै व्यावसायिक इन्टरनेट सेवा दिइसकेको थियो । सन् १९९० को दशकको अन्त्यसम्ममा विश्वमा इन्टरनेट सेवाप्रदायकको सङ्ख्या करिब १० हजार पुगिसकेको थियो (इन्साइक्लोपेडिया ब्रिटानिका अल्टिमेट रिफरेन्स स्विट्, सन् २०१२) । तर त्यो समयमा इन्टरनेटसम्म नेपालीको पहुँच थिएन । सामाजिक सञ्जालमा आबद्धताका कुरा पनि कल्पनाबाहिरकै थिए । फेसबुक, युट्युब, एक्स (पहिलेको ट्विटर) जस्ता सामाजिक मिडिया प्लेटफर्म जन्मेकै थिएनन् । अतिरिक्त पठनपाठनका लागि कथा, उपन्यासलगायतका कृति, पत्रपत्रिका, म्यागाजिन, कमिक बुक आदि थिए ।

‘नाकाबन्दी’ अघिसम्म नेपाली पाठकको ठुलै जमातलाई आफूतर्फ तान्न भारतीय म्यागाजिन तथा अखबार सफल रहँदै आएका थिए । काठमाडौँको न्युरोडस्थित पिपलबोटका पत्रिका विक्रेताकोमा होस् अथवा देशका विभिन्न भागमा खुलेका पत्रिका पसलमा, भारतीय पत्रिकाले राम्रै स्थान ओगटेर ग्राहक पनि पाइरहेका थिए । यस्तोबेला भारतकै कदमका कारण भारतीय म्यागाजिन तथा अखबार आउन बन्द भए । एकाएक रिक्तताको अनुभव त गरियो नै । यससँगै पठन अभ्यास तथा संस्कारमा पनि धक्का पुग्न गएको आकलन गरियो । त्यस्तो स्थिति गोरखापत्रका लागि एउटा अवसर थियो, पाठकलाई आपूmतर्फ थप आकर्षित गर्ने । सायद रचनात्मक स्वार्थ पनि ! अखबार/पत्रिकाले परिशिष्ट निकाल्नुको उद्देश्य प्रकाशनगृहको आयआर्जन वृद्धि गर्नु मात्र नभएर पाठक सङ्ख्या बढाउँदै उनीहरूको सूचना र ज्ञानात्मक भोक मेटाउनु पनि हुन्छ ।

‘कोठेगफ’ को केन्द्रमा परिशिष्ट प्रकाशनको सम्भावना र परिशिष्ट निकालियो भने त्यसमा समावेश गर्न सकिने पाठ्यसामग्री थिए । त्यसका लागि थप चिन्तन र पहल आवश्यक थियो । लेखरचनाका वरिष्ठ सहकर्मीसँग छलफल र लेखरचना प्रमुखको सहमति जरुरी थियो । प्रधान सम्पादकलाई बुझाउन र उहाँको सहमतिसहित साथ पाउन जरुरी थियो । संस्थानको प्रकाशन सुधारका पक्षधर रहेकाले अध्यक्ष तथा महाप्रबन्धकबाट अतिरिक्त परिशिष्ट प्रकाशनका लागि सहजै सहमति पाइने कुरामा भने हाम्रो विश्वास थियो । त्यसैले दुई सहकर्मी उक्त कोठेगफलाई त्यहीँ विश्राम दिएर छुट्टियौँ । त्यसपछि खाना खाएर कार्यालय जानु जो थियो !

 परिशिष्ट निकाल्ने निर्णय

लेखरचनामा काम गर्न भनी कुल चार जना खटाइएका थियौँ । सबै युवा अनि जोसजाँगरका धनी । नेतृत्वकर्ता हुनुहुन्थ्यो, ‘लेखरचना’ का प्रमुख शरच्चन्द्र वस्ती । नेपालीभाषी पाठकको नाडी छाम्न सक्ने क्षमतायुक्त तथा लेखन सिपमा राम्रो पकड भएका निडर र हक्की लेखक/पत्रकार । गोरखापत्र दैनिकको ‘लेखरचना विभाग’ लाई त्यतिबेला ‘लेखरचना’ मात्रै भनिन्थ्यो । त्यसका अर्का सहकर्मी हुनुहुन्थ्यो युवराज गौतम । 

कोठेगफ भएकै दिन ‘लेखरचना’ मा सम्पादनकर्र्मीको भेलापछि अतिरिक्त परिशिष्टको सम्भावनाबारे छलफल भयो । सम्पादकीय व्यवस्थापनका दृष्टिले केही हदसम्म वैचारिक मन्थन र सम्भावित ‘कन्टेन्ट’ बारे चिन्तन भयो । थप परिशिष्ट निकाल्नु अरू पनि धेरै दृष्टिबाट उपयुक्त हुने निष्कर्षमा पुगियो । त्यसपछि प्रधान सम्पादकलाई परिशिष्टबारे सुनाएर उहाँको प्रतिक्रिया बुझ्ने र सहमति लिने जिम्मेवारी लेखरचना प्रमुख वस्तीले लिनुभयो । लगत्तै लेखरचनाका सबै सम्पादनकर्मी मिलेर प्रधान सम्पादकको कार्यकक्षतिर लागियो ।

प्रधान सम्पादक हुनुहुन्थ्यो बालमुकुन्ददेव पाण्डे (विसं १९९३–२०५९) । १८ वर्षको उमेरमा नै पत्रकारिता पेसामा लागेका पाण्डे आफ्नो जीवनकालमा ‘रूपरेखा’, ‘नयाँ समाज’, ‘गोरखापत्र’, ‘राजधानी’, ‘नेपाली आवाज’, ‘जनमञ्च’, ‘युवामञ्च’ आदिसँग आबद्ध रहनुभयो । २०४४ भदौमा उहाँ प्रधान सम्पादकका रूपमा गोरखापत्रमा प्रवेश गर्नुभएको थियो । पहिलो कार्यकालमा उहाँ २०४७ असारसम्म प्रधान सम्पादक रहनुभयो । त्यतिबेलाको उपलब्धिकै कारण उहाँ २०५१ सालमा पुनः प्रधान सम्पादक नियुक्त हुनुभयो र २०५२ माघ १५ सम्म पदमा बहाल रहनुभयो ।

पाण्डेले एक निडर प्रधान सम्पादकका रूपमा गोरखापत्र दैनिकको नेतृत्व गर्नुभयो । उहाँको पहिलो कार्यकालमा गोरखापत्रमा आलोचनात्मक समाचार, विचार तथा सम्पादकीयसमेत प्रवाहित हुन थाले । प्रकाशित सामग्रीलाई लिएर बेलाबखत टेलिफोनको ‘नकारात्मक घण्टी’ त बज्थ्यो नै तर उहाँले त्यसको असर सम्पादकीय कर्ममा पर्न दिनुभएन । उहाँले न त सम्पादनकर्मीको मनोबलमा प्रतिकूल असर पर्ने/पार्ने कुनै कामकारबाही नै गर्नुभयो । गोरखापत्रमा थप परिशिष्ट प्रकाशनको प्रस्तावलाई पनि उहाँले सकारात्मक तर सचेततापूर्वक लिनुभयो । केहीबेरको विचारविमर्शपछि नै प्रधान सम्पादक पाण्डेको अगुवाइमा लेखरचना सम्पादनकर्मीको टोली संस्थानका अध्यक्ष तथा महाप्रबन्धकको कार्यकक्षतिर लाग्यो । 

अध्यक्ष तथा महाप्रबन्धकमा हुनुहुन्थ्यो श्रीशशमशेर जबरा । उहाँ २०४५ फागुनको पहिलो साता गोरखापत्र संस्थानको अध्यक्ष तथा महाप्रबन्धक नियुक्त हुनुभएको थियो । संस्थानको अङ्ग्रेजी दैनिक ‘दी राइजिङ नेपाल’ मा केही वर्ष काम गरिसकेका उहाँ सम्पादकीय व्यवस्थापन र संस्थान व्यवस्थापन दुवै पाटाबारे आवश्यक जानकारी राख्नुहुन्थ्यो र सुझबुझपूर्ण व्यवहार देखाउनुहुन्थ्यो । त्यो कुरा २०४६ सालको जनआन्दोलनका बेला उहाँको कार्यशैलीमा पनि कायमै रहेको पाइयो । उहाँ संस्थानका केही सफल व्यवस्थापकमध्येमा पर्नुहुन्छ । जनआन्दोलन उत्कर्षमा पुगेपछि पञ्चायती व्यवस्थाको अवसान भएर बहुदलीय व्यवस्थाको पुनर्बहाली भयो । देशको शासनव्यवस्था फेरियो । पृथक् राजनीतिक विचारधाराका उहाँले २०४७ वैशाख २८ मा पदबाट राजीनामा दिनुभयो । यद्यपि ‘रमाइलो शुक्रवार’ को प्रारम्भसँग उहाँको निर्णायक भूमिका स्मरणीय बनिरह्यो ।

अध्यक्ष तथा महाप्रबन्धक राणालाई प्रधान सम्पादक र टोलीका अन्य सम्पादनकर्मीबाट योजित परिशिष्टबारे वस्तुस्थिति प्रस्तुत गरियो । तत्कालै उहाँले उल्टो प्रतिक्रिया दिएर झस्काउनुभयो । “तपाईंहरू शनिबारको पेज त समयमा दिन सक्नुहुन्न, अर्को परिशिष्टको के कुरा गर्नुहुन्छ ?” भन्दै उहाँले हामीमाथि नकारात्मक प्रश्नको झटारो हान्नुभयो । अतिरिक्त परिशिष्ट प्रकाशनका लागि उहाँ सहजै सहमत हुने हाम्रो विश्वास त्यसबेला झर्‍यामझुरुम नै भए जस्तो लाग्यो, जुनबेला उहाँले लेखरचनाका सम्पादकको क्षमतामाथि नै प्रश्नचिह्न ठड्याइदिनुभयो । यद्यपि उहाँले सम्पादकका कुरा सुन्नुभयो र छलफल जारी राख्नुभयो । त्यो दिन झन्डै एक घण्टा छलफल भएको थियो । अन्ततः परिशिष्ट निकाल्ने कुरामा सहमति मात्र भएन, दिन पनि तय भयो । २०४६ भदौ २ गते शुक्रबार गाईजात्रा पर्व पथ्र्यो । त्यही दिन परिशिष्ट निकालिने भयो । नाम पनि जुराइयो, ‘रमाइलो शुक्रवार’ । यति भइसकेपछि मुद्रण प्रमुखलाई पनि छलफलमा सहभागी गराई यससम्बन्धी जानकारीका साथै तम्तयार रहन निर्देशन दिइयो । 

यस्ता थिए सामग्री

‘रमाइलो शुक्रवार’ को विषयवस्तु र भाषाशैलीलाई ‘शनिवार परिशिष्टाङ्क’ को भन्दा फरक बनाउने सोच, चिन्तन र योजना थियो । समान प्रकृतिका दुई/दुई परिशिष्ट निकाल्नुको अर्थ र औचित्य पनि हुँदैनथ्यो । उता तयारीका लागि सम्पादकीय टोलीसँग दुई साताभन्दा कमको समय थियो । थप जनशक्ति थिएन । लेखकसँग लेखका लागि आग्रह गर्न, लेख आइपुग्ने दिन पर्खन र प्राप्त लेखको सम्पादन गरी प्रेसमा पठाउन पर्याप्त समय नभए पनि लेखरचना सम्पादन टोलीसँग आवश्यक सिप, शैली र जोसजाँगर थियो । केही लेखकसँग सम्पर्क राखियो, लेखरचनाका लागि आग्रह गरियो । रातदिन नभनी सम्बद्ध सबै जना खटिइयो । अन्ततः निर्धारित दिनमा नै ‘रमाइलो शुक्रवार’ परिशिष्टको पहिलो अङ्क निकाल्न सकियो ।

परिशिष्ट निस्कन सुरु भएको दिन गोरखापत्रको तेस्रो सम्पादकीय ‘अर्को परिशिष्टाङ्क’ शीर्षकमा छापियो । उक्त सम्पादकीयमा ‘रमाइलो शुक्रवार’ को भावी स्वरूपबारे खुलासा गर्दै यस्तो लेखियो, “आजको गोरखापत्रमा नयाँ परिशिष्टाङ्क – रमाइलो शुक्रवार – थपिएको छ । आजको शुक्रबार नेपालीको रमाइलो चहाड गाइजात्रा पनि परेकाले पहिलो ‘रमाइलो शुक्रवार’ गाइजात्रा विशेषको रूपमा पाठकहरूका सामु आएको छ । आउँदा अंकहरू मनोरञ्जनप्रधान हुने छन् भन्ने कुरा त ‘रमाइलो’ शब्दले नै प्रष्ट गरेकै छ । पाठकले पढ्न चाहेको कुरा नेपाली पत्रपत्रिकाले दिन सके उनीहरू विदेशी पत्रपत्रिकाप्रति बढी आकर्षित हुने थिएनन् । ‘रमाइलो शुक्रवार’ परिशिष्टाङ्कको प्रकाशन त्यस दिशामा एउटा सानो प्रयास मात्र हो । पाठकहरूले यसलाई कत्तिको रुचाउने हुन् त्यो त भविष्यले नै बताउने छ । तै पनि हामी आशावादी छौँ ।”

अब रह्यो, निरन्तर खटाइको कुरो । सीमित जनशक्ति तर फरक कार्यशैली र समयमा लेखरचना टोलीले निरन्तर काम गर्दै थियो । हरेक हप्ता दोब्बरभन्दा बढी भार पर्ने गरी आफैँले थपेको काम जो थियो ! यस्तोबेला तीन महिना पुग्दानपुग्दै एक जना सहकर्मीको सरुवा भयो । प्रेस इन्स्टिच्युटबाट प्रशिक्षित एक जनालाई करारबाट तत्काल ‘रिप्लेस’ गरियो । ‘लेखरचना’ टोली बिहान ६ बजे नै कार्यालय पुग्थ्यो र दिउँसोको समयमा आफ्नो ‘फिल्ड’ तिर गएर साँझमा कार्यालयमै भेला भई ९ बजेसम्ममा भोलिपल्टको कामको योजनासहित घर फर्किने गथ्र्यो । गर्मी होस् कि जाडो कहिल्यै काम गर्ने समय र शैली फेरिएन ।

परिशिष्टमा समेटिएका लेखबाट पनि परिशिष्ट प्रकाशनको उद्देश्य र कार्यनीतिबारे बुझ्न मद्दत पुग्छ । यसैले यसपछिका केही अनुच्छेदमा परिशिष्ट प्रकाशनको पहिलो महिनाका चार हप्तामा छापिएका सामग्रीका शीर्षकलाई उल्लेख गरिएको छ । भदौ २ को परिशिष्टमा घटोत्कच शर्मा (बालमुकुन्ददेव पाण्डे) को ‘मलाई पनि साहु लागेको भए...’, परतु (पद्मरत्न तुलाधर) को ‘संकट समाधानका अचूक उपायहरू’, नरेन्द्रराज पौडेलको ‘फुटबल : खेल एक, खेलाडी अनेक’, विश्व शाक्यको ‘गोरु त गोरु नै भए’, श्याम गोतामेको ‘आफ्नै गाईजात्रा’, शरच्चन्द्र वस्तीको ‘त्यस्तालाई भोगटेको बोक्रो भिडाइदिनुपर्छ’ छापिएका थिए । यस्तै लक्ष्मण लोहनीको ‘अख्तियारको चमत्कार’, नवराज कार्कीको ‘तेईस सूत्रे कविता’, कुलमणि देवकोटाको ‘तीन कविता’, तेजनाथ घिमिरेको ‘त्यो विदेशी जासूस हुन्छ’, ईश्वर पोखरेलको ‘यो खर’साबको घर हो’, श्याम सुन्दर शर्माको ‘लौ आयो’, केदार शर्माको ‘घन्टाघर’, केदार सत्यालको ‘फाटेको बगलीसँग’ र कविराज पोखरेलको ‘पत्नी–स्तुति’ छापिएका थिए । ‘जुत्ते संस्कृति’, ‘धन्य कीर्तिपुर’, ‘वर्षको ह भावीरेखा’, ‘बेरंग’ कार्टुन आदि छापिए । स्केच पर्याप्त थिए, शीर्षक हातैले लेखिए । गोरखापत्र संस्थानका कार्टुनिस्ट बराथा अर्थात् बलराम थापा (विसं २००५–२०६३) को योगदान साजसज्जामा उल्लेख्य रह्यो । परिशिष्टको अन्तिम पातामा ‘परिशिष्टाङ्क संयोजक : शरच्चन्द्र वस्ती’ भनी जनाइयो ।

भदौ ९ गते र त्यसपछिका परिशिष्ट ‘चलचित्र’, ‘रंगमञ्च’, ‘भेटघाट’, ‘फेशन’ लगायत ‘लेबल हेडलाइन’ सहित प्रकाशित भए । जस्तो, भदौ ९ गते चलचित्रमा ‘भाग्यरेखा : कसको भाग्य कोरिने हो त ?’, रङ्गमञ्चमा ‘प्रज्ञाप्रतिष्ठानमा गाईजात्राको हास्यव्यंग्य’, भेटघाटमा ‘वसन्त श्रेष्ठ : केटी भनेर पछ्याएर हैरान’, सुटिङमा ‘क्या मोज छ हिरोलाई : पसीना पुछ्न पनि मान्छे राखेको !’, सानो पर्दाको चलचित्रमा ‘दाम्पत्य जीवनमा बज्रेको चट्याङ’, फेसनमा ‘जहाँ शुरु होस् सात दिनमा काठमाडौं आइपुग्छ’, खेलकुदमा ‘अंकको आधारमा हार्नु पनि जित्नु जस्तै हो’, फूलबारीमा ‘सानो नारायण गोपाल के गर्दैछन् हँ अचेल ?’, चित्रकथा, कविता तथा कार्टुन छापिए ।

यस्तै भदौ १६ गते भेटघाटमा ‘उदित नारायण झा : म कस–कसलाई स्पष्टीकरण दिंदै हिँडौँ ?’, चलचित्रमा ‘गोरखा’ अर्थात् ‘शान्तिदीप : लाहुरे हुनु ठीक हो ?’, रङ्गमञ्चमा ‘एक्लो मान्छेको सपना अर्थात् अतिथि यातना’, ‘गाईजात्रा हास्यव्यंग्य चित्रकला प्रदर्शनी : भाषण नछापिएको ५९ दिन भयो’, टेलिभिजनमा ‘पाकिस्थानी टेलिफिल्मै फर्मूला पछ्याउनु बेस’, खेलकुदमा ‘एकै प्वाइन्ट बाँकी भनेको त झण्डै्र ... ।’, भिडियोमा ‘शट त लिइयो तर शूटिङ होइन रहेछ’, ‘नयाँ विषय कहाँबाट खोज्ने ?’, फूलबारीमा ‘पहिलो पटक मै केटी बन्न पर्‍यो’, कविता, चित्रकथा आदि छापिए ।

यसै गरी भदौ २३ गते चलचित्रमा ‘नेपाली दर्शकलाई शम्भु प्रधानको उपहार’, सुटिङमा ‘नायक–खलनायक तम्तयार नायिकाहरूको अत्तोपत्तो छैन’, ‘मसिना मसिना हातमा कुची र रंग’, रङ्गमञ्चमा ‘असल भएर बाँच्न सकिन्छ’, टेलिभिजनमा ‘अपूताली’ अर्थात नक्कली मुजूर’, खेलकुदमा ‘गुलिट ... २१ करोड पर्ने फूटबल खेलाडी’, मुलुकबाहिरमा ‘छोराछोरी त पाल्नै पर्‍यो, होइन त ?’, फेसनमा ‘गए अब मिनी स्कर्टका दिनहरू’, फूलबारीमा ‘रमाइलो बाल मेला’, चित्रकथा, कविता आदि छापिए ।

भदौ ३० को परिशिष्टमा भेटघाटमा ‘वातावरणले कलाकारलाई कहिल्यै छेक्तैन’, ‘रमाइलो रात र फेशनको कवाज’, सङ्गीतमा ‘दुई नदीहरूको एउटा दोभान’, रङ्गमञ्चमा ‘उमेरै नपुगी तरुनो बनाइदिने ?’, खेलकुदमा ‘म्याराडोना : विश्वकपमा खेल्न पाउलान् ?’, ‘यी विवादास्पद चलचित्रहरू’, फूलबारीमा ‘अब केटा भएर नखेल्ने’, ‘फेशनको कथा’, ‘चंगा थरीथरीका’, कविता, ‘बेरंग’, चित्रकथा आदि छापिए । परिशिष्ट प्रारम्भका दिन सम्पादकीयमा उल्लेख गरिए जस्तै परिशिष्टलाई यथासम्भव मनोरञ्जनप्रधान बनाउने प्रयास गरिएको थियो । त्यसबेला ठुलो पर्दाका चलचित्रका अतिरिक्त भिडियो चलचित्र पनि थुप्रै निर्माण हुन्थे । चलचित्र, रङ्गमञ्च, कला प्रदर्शनी, खेलकुदलगायत क्षेत्रका गतिविधि ‘कभर’ गर्ने प्रयास गरिएको थियो । स्थापित लेखकका साथै हालका स्थापित तथा त्यतिबेला नयाँ हस्ताक्षरको योगदान पनि ‘रमाइलो शुक्रवार’ ले राम्रै पाएको थियो ।

परिशिष्टको अवसान

श्रीशशमशेर जबराको राजीनामापछि भागवतचन्द्र कर्माचार्य निमित्त महाप्रबन्धक हुनुभयो । २०४७ जेठ २१ मा होमनाथ दाहाल अध्यक्ष तथा महाप्रबन्धक हुनुभयो । प्रधान सम्पादक पनि फेरियो । २०४७ साउनबाट श्रीप्रसाद गौतम प्रधान सम्पादक हुनुभयो । यसबिच लेखरचना संयोजकलगायतको ड्युटी फेरियो । ‘रमाइलो शुक्रवार’ का पाठ्यसामग्रीमा पनि परिवर्तन देखिन थाल्यो । ‘रमाइलो शुक्रवार’ प्रकाशनका पछिल्ला अङ्कमा ‘एकेडेमीको सन्दर्भ : के भन्छन् यी प्राज्ञ र साहित्यकारहरू !’, ‘नेपाली चलचित्रको उत्थानका प्रमुख तीन पक्ष’, ‘प्राज्ञिक बौद्धिक क्षेत्रमा सहमतिको नयाँ प्रयास’, ‘प्राचीन नेपाली संगीतको अनुसन्धान हुनसकेको छैन’ जस्ता नरमाइला त नभनौँ तर फरक शैलीका सामग्रीले ‘रमाइलो शुक्रवार’ का अग्रभागमा ठाउँ लिन थाले । २०४७ असोज २६ मा त ‘एघारौं एसियाली खेलकूदका पदकधारीहरू’ को सूची नै छापियो । सो परिशिष्टका सामग्री ‘मनोरन्जनप्रधान हुने छन्’ भन्ने सम्पादकीय प्रतिबद्धता नै ओझेलमा प¥यो । प्रज्ञा–प्रतिष्ठानसम्बन्धी सामग्री विवादास्पद र एकपक्षीय रहेको आरोप पनि केहीले लगाए । अन्ततः २०४७ कात्तिक ९ गते शुक्रबारका दिन पाठकले रमाइलो परिशिष्टको सट्टा एउटा नरमाइलो सूचना पाए । त्यो दिन गोरखापत्रको पहिलो पृष्ठमा ‘जानकारी’ शीर्षक अन्तर्गत सार्वजनिक भएको थियो, ‘हाललाई “रमाइलो शुक्रवार” स्थगित गरिएको जानकारी गराउँदछौं । –गोरखापत्र संस्थान’ । १४ महिनाअघि सुरु भएको ‘रमाइलो शुक्रवार’ त्यही दिनदेखि लागु हुने गरी ‘शीतनिद्रा’ मा गयो । 

‘रमाइलो शुक्रवार’ ‘स्थगित’ भए पनि अवसान भएको थिएन । यही सम्झिएर चित्त बुझाउँदै दिन, महिना, वर्ष बिते । यसबिच देशमा व्यवस्था पनि कहिले ओल्टोकोल्टो गर्ने त कहिले फेरिने हुँदै गए । २०६६ असार २७ मा रमेश तिवारी कामु प्रधान सम्पादक हुनुभयो । उहाँको सो कार्यकालमा ‘रमाइलो शुक्रवार’ बन्द भएको पनि १९ वर्षभन्दा अधिक भइसकेको थियो । केही साथीले सम्पादकीय व्यवस्थापनको नेतृत्वसमक्ष ‘रमाइलो शुक्रवार’ फेरि थाल्नुपर्ने चर्चा गरे । केही हप्ताको माथापच्चीपछि २०६७ वैशाख ३१ मा ‘रमाइलो शुक्रवार’ लामो कालखण्डको शीतनिद्राबाट ब्युँझन सफल भयो । 

विसं २०४६ मा ‘रमाइलो शुक्रवार’ सुरु हुँदा ब्रोडसिट आकारमा चार पेजको थियो । २०६७ मा पुनः प्रकाशन गर्दा यसलाई ‘ट्याबल्वायड’् आकारमा आठपेजे बनाएर निकालियो । २०६७ जेठ ७ को परिशिष्टमा ‘सहभागी बनौँ रचनात्मक तरिकाले’ भन्ने आग्रहसहित एउटा सूचना पनि सार्वजनिक भयो । सो सूचनामा उल्लेख थियो, “गोरखापत्रको रमाइलो शुक्रवार युगानुकूल भाव र मिश्रित स्वादको खोजीमा रहेका पाठकका लागि साझा मञ्च पनि हो । यसमा तपाईंको रचनात्मक सहभागिताको खाँचो छ । यसमा तपाईंले दिनुभएको जानकारी, तपाईंले तयार गर्नुभएको सामग्रीले स्थान पाउन सक्छ । समसामयिक घटना र जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने कुनै पनि विषयमा आफूलाई लागेका कुरा लेखेर व्यक्त गर्न सक्नुहुन्छ । तपाईंको निजी जीवनका महत्वपूर्ण र रमाइला–रमाइला क्षणका गुणस्तरीय तस्बिर प्रकाशमा ल्याउन चाहनुहुन्छ भने पनि स्वागत छ ।” 

कामु प्रधान सम्पादक तिवारीले २०६७ भदौ २४ मा सेवाबाट अवकाश लिनुभयो । प्रधान सम्पादक फेरियो तर ‘रमाइलो शुक्रवार’ ले निरन्तरता पाइरह्यो । २०६८ वैशाख ५ मा पुनः प्रधान सम्पादक फेरिएलगत्तै भने यसको प्रकाशनमा ‘ब्रेक’ लाग्यो । वैशाख ९ गते शुक्रबारपछि यो परिशिष्ट निस्केन । पहिलो जन्ममा १४ महिनाको आयु पाएको ‘रमाइलो शुक्रवार’ ले दोस्रो जन्ममा एक वर्ष पनि बाँच्न पाएन ।  

अन्त्यमा

गोरखापत्र संस्थानको इतिहासमा ‘गोरखापत्र’, ‘दी नेप्लिज पर्सपेक्टिभ’, ‘दी राइजिङ नेपाल’, ‘मधुपर्क’, ‘युवामञ्च’, ‘सन्डे डिस्प्याच’, ‘मुना’ र ‘मनोरम अप्सरा’ प्रकाशन भएको पाइन्छ । ‘दी नेप्लिज पर्सपेक्टिभ’, ‘सन्डे डिस्प्याच’ र ‘मनोरमा अप्सरा’ बन्द भए । गोरखापत्र संस्थानका लागि ‘रमाइलो शुक्रवार’ कुनै पृथक् प्रकाशन थिएन, यो गोरखापत्र दैनिकको साप्ताहिक परिशिष्ट मात्र थियो । कुल २६ महिनाभन्दा कम मात्र आयु पाएको ‘रमाइलो शुक्रवार’ मा रोचक शैलीबाट केही नयाँ स्वाद पस्किने प्रयास गरिएको थियो । गोरखापत्रका ग्राहक तथा पाठक सङ्ख्या वृद्धि गर्न पनि सहयोग पुर्‍याएकै थियो । दोस्रो पटक शीतनिद्रामा गएको पनि अब त १३ वर्ष नाघिसकेको छ । सो परिशिष्टको सम्झनाले मात्र पनि बेला बेलामा झकझकाइरहन्छ । 

लेखक गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादक हुनुहुन्छ ।  

प्रस्तुत आलेख ‘‘रमाइलो शुक्रवार’ को जन्म र उतारचढाव’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।

Author
कृष्ण श्रेष्ठ

लेखक गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादक हुनुहुन्छ ।  

लेखक बाट थप