राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), चैत ५ गते । सूचना प्रविधिको क्षेत्रमा सक्रिय रहँदै आएका झबिलाल डुम्रे यस पटकको चुनावबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डुम्रे आफ्ना प्रतिस्पर्धीभन्दा चार हजार ५२४ मतान्तरसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भागवतप्रकाश मल्लले २० हजार ८३० मत प्राप्त गर्नुभयो ।
कांग्रेस र एमालेको प्रभावक्षेत्र मानिने स्याङ्जा–२ बाट उहाँले निर्वाचित हुने मौका पाउनुभयो । यसअघि यो क्षेत्रबाट कांग्रेसका धनराज गुरुङ निर्वाचित हुनुभएको थियो भने २०७४ सालको निर्वाचनमा एमालेका सचिव पद्मा अर्याल निर्वाचित हुनुभएको थियो । राजनीतिक रूपमा अपेक्षाकृत नयाँ अनुहार मानिने डुम्रे सामाजिक र सङ्गठनात्मक गतिविधिमा भने रास्वपा स्थापनाकालदेखि सक्रिय रहँदै आउनुभएको छ । उहाँ रास्वपा गण्डकी प्रदेशका पूर्वइन्चार्ज तथा अहिले पार्टीको सङ्गठन विभागको जिम्मेवारीमा हुनुहुन्छ ।
वालिङ नगरपालिका–१४, छोरेखर्कमा २०४९ साल साउन ५ गते जन्मिएका डुम्रेले स्नातकोत्तर तहसम्म अध्ययन गर्नुभएको छ । पछिल्ला वर्षमा पोखरालाई कर्मथलो बनाएर व्यवसाय र सामाजिक कार्यमा सक्रिय रहँदै आएका डुम्रेले सूचना प्रविधि र होटेल व्यवसायमा धेरैलाई जोड्नुभएको छ । उद्यमी पृष्ठभूमिबाट राजनीतिमा आएका डुम्रे पहिलो प्रयासमै संसद् प्रवेश गर्न सफल हुनुभएको हो ।
डुम्रेले रोजगारी सिर्जना, उद्यमशीलता विकास, भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना तथा स्याङ्जामा कृषि र पर्यटनका क्षेत्रमा काम गर्ने बताउनुभएको छ । विजयी भएपछि डुम्रेले
स्याङ्जा–२ को विकासलाई केन्द्रमा राखेर अघि बढ्ने बताउनुभयो । स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, रोजगारी सिर्जना र विकासका योजनामा पारदर्शिता कायम गर्ने उहाँको प्रतिबद्धता छ । बर्सौंदेखि स्तरोन्नतिको पर्खाइमा रहेको सिद्धार्थ राजमार्गलगायतमा ध्यान दिने उहाँको भनाइ छ ।