• १९ वैशाख २०८३, शनिबार

बर्दघाटमा नापी र मालपोत सेवा सञ्चालन गर्न आवेदन

blog

बर्दघाट नगरपालिका

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, वैशाख १९ गते ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई भूमि प्रशासनसम्बन्धी सेवा आफ्नै पालिकाबाट सञ्चालन गर्न औपचारिक रूपमा आवेदन पेश गरेको छ ।

नगरवासीको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै बर्दघाट नगरपालिकाले पत्र पठाएर नापी तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवा सञ्चालन गर्न आफू पूर्ण रूपमा तयार रहेको जानकारी गराएको हो । मन्त्रालयले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाट प्रवाह गर्ने सम्बन्धमा जारी गरेको सूचनाका आधारमा यो कदम चालिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठले भन्नुभयो, “नगरवासीलाई जग्गासम्बन्धी सानो कामका लागि पनि टाढा धाउनुपर्ने बाध्यता हटाउनु हाम्रो मुख्य उद्देश्य हो । जनताको निरन्तरको चाहना र मागलाई सम्मान गर्दै हामीले स्थानीय स्तरबाटै नापी र मालपोत सेवा प्रवाह गर्न मन्त्रालयमा आवेदन दिएका छौँ ।”

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बर्दघाट नगरपालिका स्थानीय तहबाटै सम्पूर्ण भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्न पूर्ण रूपमा तत्पर रहेको बताउनुभयो । उहाँका अनुसार सेवा स्थानीय तहमा आउने कानुनी सुनिश्चितता भए सेवा प्रवाहलाई थप चुस्त र पारदर्शी बनाउन सकिनेछ ।

नापी र मालपोत कार्यालयबाट प्रदान गरिने सेवा स्थानीय स्तरमै उपलब्ध हुँदा बर्दघाटवासीको समय र खर्च दुवै बचत हुनुका साथै प्रशासनिक कामकाजमा सहजता आउने विश्वास गरिएको छ । यस सम्बन्धमा नगरपालिकाले आवश्यक समन्वयका लागि नेपाल नगरपालिका संघलाई पनि जानकारी गराएको छ ।