शंकर केसी
सल्यान, वैशाख १९ गते । सल्यानमा चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म चार हजारभन्दा बढी घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा विस्तार गरिएको छ । जिल्लामा विद्युतीकरणको काम जारी रहे पनि अझै करिब २७ प्रतिशत घरधुरी विद्युत् सेवाबाट वञ्चित छन् ।
नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलका अनुसार गत साउनदेखि हालसम्म चार हजारभन्दा बढी घरमा विद्युत् सेवा पुर्याइएको छ । हालसम्म ७३ प्रतिशत घरधुरीमा विद्युत् पुगेको र तीमध्ये ६४ प्रतिशत उपभोक्ताले मिटर जडान गरिसकेको उहाँले जानकारी दिनुभयो । बाँकी क्षेत्रमा विद्युतीकरण विस्तारको काम जारी रहेको उहाँको भनाइ छ ।
विद्युत् विस्तारकै क्रममा दार्मा गाउँपालिकाका तीन वडामा पहिलोपटक राष्ट्रिय प्रसारण लाइन पुगेको छ । वडा नं. २ लिरापाज, वडा नं. ४ सिँगारीकोट पुखाद र वडा नं. ६ भुर्तिवाङका करिब दुई सय घरधुरीमा बुधबारदेखि विद्युत् सेवा सञ्चालनमा आएको हो । सल्यान वितरण केन्द्रले तीनवटा ट्रान्सफर्मर जडान गरी आवश्यक वितरण संरचना निर्माण गरेर सेवा विस्तार गरेको जनाएको छ ।
वर्षौंदेखि सौर्य बत्तीको भरमा जीवनयापन गर्दै आएका स्थानीय राष्ट्रिय विद्युत् सेवा पाएपछि उत्साहित भएका छन् । हाल ती क्षेत्रमा मिटर जडान कार्य सुरु भइसकेको छ ।
जिल्लामा विद्युत् आपूर्तिका लागि तुल्सीपुरबाट आउने ३३ केभी राष्ट्रिय प्रसारण लाइन प्रयोग भइरहेको छ । वनगाड कुपिन्डे नगरपालिकाको सल्लीबजार क्षेत्रमा भने सुर्खेत वितरण केन्द्रमार्फत विद्युत् सेवा उपलब्ध हुँदै आएको छ । हाल जिल्लामा सितलपाटी र थारमारेमा दुईवटा सबस्टेशन सञ्चालनमा रहेका छन् ।
यस्तै खलंगा, सितलपाटी, लुहाम, कपुरकोट र थारमारेमा रहेका फ्युज सेवा केन्द्रहरूले मर्मत सम्भार कार्यलाई सहज बनाउँदै आएका छन् । तर उपभोक्ताले अझै पनि भोल्टेज कमी, प्रणाली अवरोध तथा लाइन विस्तारमा ढिलाइ जस्ता समस्या भोग्नुपरेको गुनासो गर्दै आएका छन् ।
सल्यानमा वार्षिक रूपमा करिब पौने नौ करोड रुपियाँ बराबरको विद्युत् खपत हुने गरेको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा एक करोड आठ लाख ४३ हजार ९६६ युनिट विद्युत् बिक्री भएकोमा आठ करोड ७५ लाख ३५ हजार ५३८ रुपियाँ आम्दानी भएको वितरण केन्द्रले जनाएको छ ।