मौलिक परम्परा, संस्कृति र जीवनशैलीका लागि परिचित छन्, किराँती । किराँत समुदायले प्राचीन समयदेखि नै प्रकृतिलाई जीवनको स्रोत मानेका छन् । नदी, वनजङ्गल, पहाड, हावा, माटो र सूर्यलाई पूजा गर्ने गर्छन् । किराँतीहरू प्रकृतिसँग नजिक त हुन्छन् नै तर उनीहरूको जीवनशैली पनि पर्यावरणमैत्री छ । यसै क्रममा उँधौली र उँभौली विशेष महìवले पूजा गर्नुपर्ने चाड हुन्, जो ऋतु र समय परिवर्तनसँग सम्बन्धित छन् ।
उँधौलीमा बाली भिœयाउने समयको उत्सव मनाइन्छ । उँभौलीमा बाली लगाउने समयको स्वागत गरी मनाइन्छ । यी चाडले कृषि जीवन र प्रकृतिको समय चव्रmलाई प्रतिविम्बित गर्छन् । यो अवसरमा सामूहिक नाचगान, सिली नाच्ने परम्पराले समुदायबिच एकता र सद्भाव बढाउन मद्दत पु¥याउँछ । हरेक वर्ष वैशाखेपूर्णिमा तथा बुद्धजयन्तीको दिन किराँत धर्मावलम्बी साकेवा नाचेर प्रकृतिको पूजा गर्छन् । सिली नाच्दै विभिन्न ठाउँमा छरिएकाले वर्षभरिका दुःख र पीडा बिर्सने गर्छन् । किराँती चाडहरू उत्सव मात्र नभई प्रकृतिसँगको गहिरो सम्बन्ध, सम्मान र सहअस्तित्वका प्रतीक हुन् । प्रकृति पूजा जीवन दर्शनको मूल आधार हो, जसले मानव र प्रकृतिबिच सन्तुलन राख्ने सन्देश दिन्छ । मानिसहरू संस्कार र संस्कृतिको प्रभावबाट पूर्णतः मुक्त कहिल्यै हुन सक्दैन । त्यसैले भनिएको होला, मानव मन र मस्तिष्कमा ईश्वर भन्नेबित्तिकै किराँतीमा पारुहाङ र सुम्निमा, हिन्दुको शिवपार्वती, मुसलमानको अल्लाह, बुद्ध धर्मावलम्बीको बुद्धको काल्पनिक तस्बिर आउने गर्छ ।
चराचुरुङ्गीहरू लेकतिर लाग्न थाले, वनभरि वासन्ती संस्कार बोकेर फूलहरू फुल्न थाले, वसन्तको पालुवामा प्रकृति सजिन थाले । यति नै बेला प्रकृतिपूजकहरू ढोल, झ्याम्टा, चौँरीको पुच्छर र सेउलीको तालमा साकेवा सिली नाचिरहेछन् । जन्मदेखि मृत्युसम्मको व्रिmयाकलापलाई समेटेर नाचिने यो नाचबाट जीवनभरि प्रकृतिसँगको सम्बन्ध प्रगाढ बनाउँछ । कृषि युगमा पशुपन्छी र मानिससमेत बँेसीबाट लेकाली क्षेत्रमा उक्लने गर्थे । पशुपन्छीको बोलीचालीमा परिवर्तन, हावा, बादलको चालमा फरकपन, वनस्पतिमा नयाँ पालुवा पलाउने समयलाई आधार मानेर खेतीपाती गर्ने किसानको ज्ञान विकसित भएको हो । प्राकृतिक सङ्केतसँग तालमेल मिलाएर नै अहिलेको युगसम्म मानव अस्तित्व विकसित भएर आएको महसुस हुन्छ । पर्यावरणीय सन्तुलन, स्वस्थ मनोविज्ञान, ज्ञान परम्परा आदिको प्रतिविम्ब नै किराँतीले नाच्ने सिली हो भन्नुमा गलत नहोला । सिलीका आफ्नै चाल जस्तै खेतीपाती गर्ने तरिका (रोपाइँ, कटाइ), चराचुरुङ्गीको नक्कल, जनावरको नक्कल, बालीनाली सखाप पार्ने जङ्गली जनावर तथा पशुपन्छीलाई धपाउने तरिकाले गाउने, यो मनोरञ्जन मात्र नभई जीवनको कथा हो । वास्तवमै प्रकृति, कृषि प्रणाली, सांस्कृतिक मूल्य, ज्ञानको पुस्तान्तरण हुन पनि सिकाइरहेको हुन्छ । सिली नाच्दा शरीर सव्रिmय हुन्छ भने खुसी र ऊर्जा बढ्छ । साधारण तर अर्थपूर्ण जीवनशैलीको अनुभूत गराउने पूर्णतः प्रकृतिसँगको जीवनचव्रm, जङ्गल, खोला, पहाडसँगको घनिष्ट सम्बन्ध, प्रकृतिसँगको सम्बन्ध स्पष्ट रूपमा झल्किन्छ । यसको अलावा जीवनका नियम, नैतिकवान्, अनुशासित, सामाजिक मूल्यमान्यतालाई समेटिनु पनि एकदमै खुसीको कुरा हो । यसर्थ उँभौली र उँधौलीमा नाचिने सिली शब्दबिनाको सजीव भाषा हो ।
साँच्चै सौन्दर्यका रूपको सुन्दरतम् मनोभावभित्रको सौन्दर्य केवल देखिने कुरा मात्र होइन, महसुस गर्ने र बाँच्ने तरिका पनि हो । किराँती मनोभाव र सौन्दर्यको सबैभन्दा जीवित अभिव्यक्ति हो । यो नाच मात्र नभई भावना, विचार, प्रकृतिसँगको सम्बन्धलाई शरीरमार्फत व्यक्त गर्ने माध्यम पनि हो । सिली एउटा नाच्ने विधि हो । यसलाई उँभौली, साकेवा, साकेला, बास, तोस भन्ने गरिन्छ र रहिआएको भनाइ अनुसार क-याङकुरुङ उँभो लाग्दा उँभौली, उँधो लाग्दा उँधौली मनाउने गर्छन् । विशेषतः यो आदिमकालदेखि नै सुरु भएको मानिन्छ ।
प्रकृतिपूजकहरू आकाशलाई पिता र जमिनलाई माताको रूपमा पुज्ने गर्छन् । उँभौली र उँधौली धार्मिक चाड नभएर प्रकृति, विज्ञान र मानव जीवनबिचको समन्वय हुन् । यिनै कुराको गहिरो अध्ययन गर्ने हो भने किराँती परम्परा वैज्ञानिक सोचको अर्को रूप हो । यस्ता चाडमा प्रकृतिमा विलिन भएका पुर्खालाई सम्झेर पूजा गरिन्छ । ऋतु परिवर्तनसँगै खेतीपाती, बसाइँसराइ, दैनिक जीवन मौसम अनुसार चल्ने र मानवजीवन हेर्ने समग्र दृष्टिकोण मानिन्छ । पूर्खा पूर्वजलाई सम्झने, धन्यवाद दिने, उनीहरूको ज्ञान र अनुभवलाई मार्गदर्शनका रूपमा लिँदै सहअस्तित्व तथा प्रकृतिसँग जीवन सन्तुलन राख्ने काम गर्छ ।
किराँती चाडहरू धार्मिक कर्मकाण्ड मात्र नभई प्रकृति र मानवबिचको सहअस्तित्वको सन्देश दिने जीवनदर्शन हुन् । यस्तो अद्वितीय परम्परालाई जगेर्ना गर्नु हामी सबैको दायित्व हो, किनकि यसले भविष्यका पुस्ताका लागि सन्तुलित र स्वस्थ वातावरण निर्माण गर्न सहयोग पु¥याउँछ । आधुनिकताको प्रभाव बढ्दै जाँदा पनि उनीहरूले आफ्ना परम्परालाई जोगाइराख्न जरुरी छ । प्रकृतिको सम्मान र संरक्षणबिना दिगो विकास सम्भव छैन । वर्षा लागेपछि खोलानाला बढ्छ, जीव तथा पशुपन्छीहरू उँभो लाग्ने गर्छन् । बिउ छर्ने काम सुरु हुन्छ । भेलबाढीले खेती नबगाओस्, असिना पानीले क्षति नपु¥याओस् तथा हातहतियारले चोटपटक नलागोस् भनेर यो चाड मनाइन्छ भन्ने मान्यता जनमानसमा रहेको पाइन्छ । किंवदन्ती अनुसार जलको राजा नागको छोरीको बिहे थलको राजा पारुहाङको छोरासँग भएपछि छोरीको दाइजोका रूपमा बाबुको मणि माग्दा ढोल झ्याम्टा बजाउँदै भूमिको पूजा गर्दा त्यही मणि प्रकट हुने आश्वासन दिएको भन्ने भनाइ छ । किराँतीहरू भूमि पूजा गर्दा आफ्नै समुदायको जान्ने नोक्छो वा धामीले अदुवा, जाँड अचाउँदै पितृहरूलाई फलाँक्ने गर्छन् ।
सांस्कृतिक सद्भाव, धार्मिक, भाषिक विविधतामा धनी नेपालमा सामाजिक, धार्मिक सहिष्णुताका लागि एकता र पारस्परिक सहयोगको भावना अनिवार्य छ । चाडबाड र संस्कृतिको प्रथम विशेषता भनेको जहिले पनि मान्छे वा मानिसको समुदायद्वारा सृजित भएको हुन्छ । मानवले प्रकृतिबाट यस्ता मानसिक र शारीरिक क्षमता प्राप्त गरेको हुन्छ जसका कारण संस्कृतिको निर्माण गर्न र विकास गर्न सफल हुँदै आएका छन् । आफ्ना पितृलाई सम्झने, आशीर्वाद माग्ने, कुन बाली फल्छ, फल्दैन भनेर जोखना हेर्ने र कृषि औजारलाई समेत पूजा गर्ने यो चाडको अनन्य महìव रहेको छ । किराँत वंशको राज्य थियो भन्ने कुरा इतिहासमा पढ्न पाउँछौँ, त्यसै ताका यो चाडको पनि सुरु भएको अनुमान विज्ञको छ ।