अतीत अनि स्मृति, अझ त्यसभन्दा पर विस्मृति ! सम्झनामा आइरहे भने त स्मृतिमा बाँचिरहन्छ, अतीत । हराएका कुरा त बिलाएर जान्छन् । कहिलेकाहीँ त लाग्छ, “उही पुरानो सम्झना बोकेर फेरि गाउँमा जाऊँ । उही बाल्यकाल बाँचूँ ।” बाल्यकालका ससाना कुराले स्मृतिलाई छपक्कै बनाएको हुन्छ । अटाउन पनि के साह्रो अटाउँदो रहेछ स्मृतिमा । कति जिबीको होला यो मेमोरी ? नाप्न मिल्ने यन्त्र भए विज्ञान मानवले के बाँकी राख्थ्यो र ? सम्झनाका तुइन केबुलकारका फलामे डोरी झैँ बाल्यकाल र वर्तमानलाई जोड्दै ओल्लो पाखो र पल्लो पाखो गर्छन् । म यसबेला ओल्लो पाखोमा उभिएर वारिकै कुरा गरिरहेको थिएँ । कार्यक्षेत्रको जिम्मेवारी, सहभागिता, आफू हुनुको औचित्य, बफादारिता र मनोरञ्जन सबैलाई एउटै धागोमा उनेर उक्लिएको थिएँ, त्यस दिन यात्रामा ।
त्यो यात्रा मात्र यात्रा थिएन । अविस्मरणीय भेट थियो । एउटै परिवारभित्रको उत्सव थियो । आधुनिकताले घेरेको यान्त्रिक जीवनबाट एकैछिन पर सरेर प्रकृतिमा रमाउने एउटा उल्लासमय दिन थियो । तोकिएको समयलाई आफ्नै हातको घडीमा अर्लाम बनाएर म ६ः४५ बजे निस्किएँ, एउटा गन्तव्य बोकेर आफ्नै आँगनबाट । हलुका मन, हलुका रहर, हलुकै थिए पाइला । ७ बजे कार्यकक्षको प्राङ्गणमा भेटिएका एकै कार्यालयका सहकर्मी, हामीलाई चाँडै निस्कनु थियो– आफ्नै काँधले उचालेको गन्तव्यतिर । समय त उही हो । ठोस जस्तो लाग्छ । कहाँ बग्छ र त्यो ?
होइन, फेरि घर्किएको समयलाई हेर्दा ओरालोमा बगेको पानी जस्तो तुरुरु बगिजान्छ । आकारप्रकार, रूपरङ केही नभएको समयको अस्तित्व कसरी बोध होला मानिसलाई ? किन नहुनु ? सबैभन्दा गहिरो अस्तित्व समयको हुन्छ । बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड त हो । भ्याइनभ्याइ शनिबारको काम छोडेर सामूहिक रूपमा रमाउने जमर्को म जस्तै सबैले गरेका होलान् । तर, समयलाई कति ख्याल नगरी ७ बजेको अलाम लगाएर ८ः३० बजे ढलक्क ढल्किनेको प्रतीक्षा गर्दा चाहिँ समयको अस्तित्वको राम्रो बोध हुने रहेछ क्यारे । तापनि केही जवाफ लगाउन सकिएन । समय त चुपचाप थियो, मैले के जवाफ लगाउनु भनेर ओठले ताल्चै ठोकेर बस्यो ।
‘बसे लेउ लाग्छ, हिँडे छेउ लाग्छ’ नभन्दै ९ बजे त झन्डै कलङ्की पुगियो । ७ बजे भेला भएर ७ः३० मा हुइँकिएका भए त निकै चाँडै पो पुगिने रहेछ । लगनखेलबाट हुइँकिएका गाडी बल्खु पुग्दा ठस्स एउटा नेपाली बास्ना नाकमा आएर छरपस्ट भयो । नाभि चव्रmमै असर गरे झैँ उल्टी नै हुन खोज्यो । त्यही उल्टी आउने गन्ध बोकेर जब सवारीले रफ्तार लियो अघिपछि लागेका तीन वटै गाडीलाई उछिन्दै बालाजुतिर हुइँकियो । जीवन पनि यही बसको यात्रा झैँ दौडिरहँदो रहेछ । घरी घरी जीवनमा आइपर्ने समस्या र घटना यिनै बसबाट बदलिरहने दृश्य जस्तै त हुन् नि ! बदलिरहन्छन् परिस्थिति अनुसार । बल्ल बल्ल घन्टौँको भाषण सकेर कुर्सीमा थेचारिएको नेता जस्तै बोलेरै नसकिने आवाज खलबलियो गाडीभित्रको गाइँगुइँ । को कम छन् र यहाँ ? कार्यकक्षबाट फुत्त निस्किएर स्वतन्त्र उडिरहेको हल्लाले शिखर छोयो । ठट्यौली र हँस्यौली जुम्ल्याहा दिदीबहिनीलाई साथमा राखेर हाम्रो स्वतन्त्र टोली हुइँकियो बालाजुतिर । बाइपासबाट घुमेपछि बल्ल नाकले आराम पाए जस्तो लाग्यो । घुम्तीबाट अगाडि नयाँ दृश्य आँखामा तँछाडमछाड गर्दै आए । त्रिशूली राजमार्ग त्यताको बाटो खासै नहिँडेकै परेछ । रमाइलो लाग्दै थियो । सोचेथेँ, निकै व्यवस्थित होलान् यताका बाटा र गल्ली । तर, सोचे जस्तो हुन्न जीवन भन्दै मन बुझाउनुपर्ने अवस्था रहेछ यहाँको । आधुनिक बन्ने तर्खरमा निकै पटक जमर्को गरेर पनि असफलतामा बर्लङ्ङ लडेको हरुवा जस्तै रहेछ सडक । कतै कच्ची, कतै अर्धकच्ची, कतै बुङ्ङ धुलोको तुवाँलो बोकेर हिँडिरहेको थियो सडक ।
कहाँबाट हो दुई वटा सवारीले अघि दौड जितेर गन्तव्यमा पुगिसकेका रहेछन् । बुढीआमैले कम्मरमा बेरेको पटुका झैँ फनफन घुमेको थियो पहाडको बाटो । तिनै बाटाहरूले निकै सुन्दर दृश्यलाई सादृश्य गरिदियो । खुब रमाएर झ्यालबाट टाढासम्म आँखा डुलाएँ । मनको कुनामा एउटा मिठो याद बोकेर हिँडेको यात्रीले वरिपरि झझल्को पाए झैँ टाढा पुगेका आँखाले के के खोजिरहे । त्यही यादलाई सम्झिएर आफैँ मुस्कुराएँ मनमनै । माथि डाँडाको टुप्पोमा देखिएको भुवनेश्वरी मन्दिरले आस्थाको दियो झुलुक्क बालेर आरती गरे झैँ लाग्यो । म भुवनेश्वरीको चरणमा मनमनै झुकेँ । यता गाडीले गन्तव्यमा पु¥यायो । हुरुरु गाडीबाट ओर्लिएर सबै जना जङ्गलको बाटो उकालो लागे । आफ्नो खुट्टा फाले लगाएको घोडा जस्तै भएको थियो । हिँड्न नसक्ने अवस्थामा थिएँ ।
सडकपेटीमा शरीरको ६४ किलोको वजन एउटा खुट्टालाई थमाएर उभिएको मेरो उपस्थिति सबका सामु असहज भए पनि सहकर्मी साथीले पठाइदिनुभएको सानो सवारी नै मेरो साथी र मार्गनिर्देशक बन्यो । गाडीबाट उक्लिएर जङ्गलको माझमा सजिएको ‘वनजङ्गल एडभान्चर’ रिसोर्ट पुग्दा पो थाहा भयो प्रकृति त बडो सुन्दर ढङ्गले मुस्कुराइरहेको रहेछ हाम्रै स्वागतमा । मैले एकैछिन सहरलाई बिलकुलै बिर्सिदिएँ । जङ्गलको बिच बिचबाट छिरेका कलिला घामका किरणले घरी घरी मलाई जिस्क्याउँदै स्पर्श गरिरहेथ्यो । म तिनै दृश्य र स्पर्शलाई महसुस गर्दै लजाइरहेकी थिएँ, आफैँसँग ।
भुवनेश्वरीको दर्शनमा सबै जना पहाडी जङ्गलको बाटो लागे । आफू प्रकृतिलाई छोएर सम्मोहित हुँदै घामका लामा लामा हात खोज्दै कुर्सी सार्दै बसिरहेँ । छेउमा सुजता म्याम पनि हुनुहुन्थ्यो । दुवै जना हिँड्न नसकेर थन्किएका थियौँ । अरू केही सहकर्मी साथी पनि थिए । आधुनिकताको खास्टो ओढेर म क्यामराले दृश्यलाई समेट्न खोज्दै थिएँ । मन भनिरहेथ्यो, “मनका आँखाले छोएका दृश्य मात्र लामो समयसम्म स्मृतिमा आउने गर्छन् ।” मनको कुरा सुन्दै हतार हतार क्यामरा बन्द गरेर प्रकृतिसँग बिस्तारै डुल्न खोजेँ । उही बाल्यकालको घाँसदाउरा र ढिकीजाँतोमा गएर अडियो मन । सबै पदयात्री बनेर उकालो लागे । हामी रिसोर्टको एउटा सानो घरको दलानमा राखिएको ढिकी र जाँतोमा अडियौँ ।
बर्सौंपछि ढिकीको पुच्छरमा टेकेर डङ्ग्रङ्ङ छोड्दा टुप्लुक्क स्मृतिमा दसैँको नौरथा आइपुग्यो । आज रहरले तिनैलाई सुमसुम्याउन आइपुगेका छन् हात । म तिनैलाई दुई आँखाले सुमसुम्याउन थालेँ ।
खितित्त हाँसेर अतीतले गिज्याए झैँ लाग्यो मलाई । अब त हामी आधुनिक भएछौँ कि ? होइन, ढिकीजाँतो छोड्दैमा आधुनिक भइने होइन क्यारे ! आधुनिक हुन त समयको अस्तित्वबोध हुन पर्छ । यत्तिकैमा मनले गम खायो ।
अस्तित्वबोध !!!
“हिजो रातभरि ढङढङ गरेको के हो आमा ?” मैले निदाउन नसकेर सोधेको प्रश्नको सामना गर्दै आमाले भन्नुभएथ्यो ढिकी हो नि नानी !
“के कुटेको आमा त्यसरी ?”
“दसैँलाई चिउरा हो के ।”
“कसले कुटेका नि ! त्यसरी रातभर हाम्रो निद्रा बिगार्ने
गरी ?” मैले जिज्ञासा राखेर सोधेँ ।
हाँस्दै आमाले भन्नुभयो, “तल्लाघरे ठुली भाउजूले ।”
मनमनै सोच्दै थिएँ, “आज त म छिट्टै सुत्छु ।”
“आज खोल्सापारि कर्किनी बुढीको पालो छ,”
आमा भन्दै हुनुहुन्थ्यो ।
यसरी नौरथाका हरेक रात ढिकीले पालो पाउँदैनथ्यो । ढिकी, ढिकी मात्र थिएन । त्यो त समाज थियो । समाजको सेवक थियो । संस्कृतिको धरोहर थियो । सहकार्यको संस्था थियो । भ्रातृत्वको कार्य थियो । मानवताको मेरुदण्ड थियो । आमाले औँला भाँचेर गन्दै गर्दा आफ्नो पालो पु¥याउन मुस्किल परिरहेको थियो । गाउँभरि घरैपिच्छे ढिकी भए पनि चिउरा कुट्न शक्तिशाली ढिकी चाहिँदो रहेछ । जता पनि शक्तिकै काम पो हुनेरहेछ त ! हाम्रो घरको ठुलो ढुङ्गाको ओखल, फलामको साँबी लगाएका दुई÷तीन वटा मुसल, चिउराका लागि काठलाई रेती लगाएर बनाइएको चिल्लो मुसल नै सबैका लागि अति आवश्यक थियो । यी सबै समाजका आवश्यक वस्तु पो रहेछन्, जुन चिजले व्यक्तिगत भएर पनि समाजसेवा गर्दा रहेछन् । आज पनि गाउँमा भ्रातृत्वको आभास छ । आज पनि गाउँमा साथ र सहयोग छ । मानवता छ । आमा हरेक रात सबैलाई ढिकीमा चिउरा कुट्न सहज वातावरण बनाइदिनुहुन्थ्यो । बेला बेला धान भुट्न सघाइदिनुहुन्थ्यो । सबैलाई चिया पकाएर खुवाउनुहुन्थ्यो । निद्रा नलागेपछि त आमाका मिठा मिठा गफ सुनेर त्यहीँ ढिकीकै छेउमा उँग्न मज्जा पनि आउँथ्यो । गाउँ गाउँभन्दा पनि एउटा परिवार थियो । हामी गाउँबाट सहर बनाउन पसेका सहरिया भयौँ । आज जीवनका सारा प्राकृतिक सौन्दर्यलाई स्मृतिमा अटाएर वर्तमानमा यान्त्रिक जीवनको डडाल्नोमा उक्लिएका छौँ ।
बाले बाँसको चोया काढेर पेचा बनाइदिनुहुन्थ्यो । तोरीलाई मज्जाले भुटेर पेचामा राखिन्थ्यो । काठको कोलमा पेचालाई राखेर न्वारानदेखिको बल प्रयोग गर्दै थिचेपछि पेचाबाट तुरुरु तेल निस्कन थाल्थ्यो । बढो रहरलाग्दो दृश्य थियो । बाल्यकालमा देखेको त्यो दृश्य अझै ताजा छ । पेचाबाट भर्खर तप्किँदै गरेको कोलमा पेलेको तोरीको तातो तेल तातो भातमा राखेर खाँदाको स्वाद अब कसले पाउन सक्ला र ? आहा ! त्यो फिलुङ्गेको धुले अचारको स्वाद कस्तो भयो होला ?
सुत्केरी आमालाई तातो दुधमा दुई चम्चा बेसार घोलेर खुवाएपछि रगत बग्न कम हुन्छ भन्दै ढिकीमा कुटेको बेसार लिन आउनुभएकी माथ्लाघरकी भाउजू अचेल कुन बेसार चलाउनुहुन्छ होला ? आयुर्वेदमा विद्यावारिधि गरे झैँ ती अक्षर नचिनेका हजुरआमा त विश्वविद्यालयका ज्ञानका खानी थिए । त्यो जाँतो, हरेक दिन पृथ्वी आफ्नै कक्षमा घुमे झैँ आमाका ती बलिया पाखुरीले घुमाइरहन्थे ।
आजै बिहानयता हिँड्नुअघि मिक्चरमा घर्रर पारेर गोलभेँडाको चटनी बनाइदिएकी थिएँ । साँच्चै त्यो बलेसीको ठुलो मुढोमाथि राखेको सिलौटामा लसलसी पिसेको धनियाँ र गोलभेँडाको चटनीसँग तुलना हुन्छ कि हुन्न होला ? प्राचीनकालदेखि जैविक प्रविधिलाई अवलम्बन गर्दै आएका हाम्रा अग्रजले के जानेका थिएनन् र !
मानवशास्त्र र समाजशास्त्रीय सिद्धान्तलाई अँगालेर बाल्यकालदेखि खेल्दै खेल्दै हुर्किएको गाउँ आज बुढो भए पनि स्मृति वयस्क नै छन् ।
“ओहो ! यहाँ त ढिकी पो रहेछ भारती म्याम ?” जानकी म्यामले कानैछेउमा आएर झस्काउँदा पो फुत्त गाउँबाट सहर फर्किएछु म ।
घुमघाम सकेर सबै जना भेला भएपछि एकछिन फेरि रिसोर्टको आँगन बिहेघरमा रातभर नाचेको भव्य नाचगान
झैँ रन्कियो ।
उही त हो गुँड फर्किन हतार सबैलाई थियो । खानपान र सबैलाई बाटो लगाउँदा निकै साँझ परिसकेको थियो । जङ्गलका माझबाट ओर्लिएको त्यो ओरालो बाटो जङ्गलको सुसाइ र किराकिरीको आवाजले राज गर्न थालिसकेको थियो । ओर्लिनुपर्ने थियो तलसम्म ओरालैओरालो । साथीको हात समाउँदै समाउँदै ओर्लिएँ । जानकी म्यामले झोला बोकिदिनुभयो । मीना म्यामले थपक्कै हात थामिदिनुभएथ्यो । साथ भनेको त साथ नै हो । जाँदा देखिएका पर परका ती सुन्दर दृश्यको तलासमा थियो मन तर अँध्यारोले झपक्क छोपेको थिए पृथ्वी । साँझको सौन्दर्य निकै फरक किसिमले म त्यहीँ देखिरहेथेँ । म नियालिरहेथेँ, सुन्दर दृश्य आँखा निर्मिमेष नहटाई । पृथ्वीमा सर्लक्कै झरेको थियो तारामण्डल । काठमाडौँ सहरलाई हेर्दा लाग्थ्यो, साँच्चै हाम्रो देश त स्वर्गको एक टुव्रmा हो । त्यहीँ आएर स्वर्गको तारामण्डलले बस्ती बसाएको छ । आश्चर्य चकित हुँदै मैले सबैलाई गाडीबाट बाहिर हेर्न अनुरोध गरेँ । अन्जु म्यामलगायत सबै जना त्यही दृश्यमा रोमाञ्चित हुन थाल्नुभयो । यता मेरो मन घरी घरी अतीतमा पुगिरहेको थियो । यो मन सम्झिरहेको थियो डार्बिनलाई र भन्दै थियो, “हे मानव ! अब त फर्क न प्रकृतितिर ।”