बाजुरा समाचारदाता
बाजुरा, वैशाख १९ गते । यहाँका अधिकांश ग्रामीण सडक बर्खा सुरु हुनुअघि नै भत्किन थालेका छन् । स्थानीय तहले बनाएका ग्रामीण क्षेत्रका कच्ची सडक प्री मनसुनमा हुँदा परेको वर्षाले भत्किन थालेका हुन् ।
यहाँका हिमाली, स्वामीकार्तिक खापर, जगनाथ, बुढीनन्दा, गौमूल, बडीमालिका, बुढीगङ्गा, त्रिवेणी, खप्तड छेडेदहलगायतका पालिकाका गाउँबस्ती ग्रामीण सडकको पहुँचमा छन् ।
बाजुराका स्थानीय तहले २०७५ सालदेखि २०८३ सालसम्म यहाँका गाउँबस्तीलाई सडक सञ्जालको पहुँचमा राखेका हुन् । स्थानीय तहले कच्ची रूपमा गाउँमा सडक पु-याउने काम गरेको भए पनि कालोपत्रे गर्ने काम भने अझै सुरु गरेका छैनन् ।
सडक कालोपत्रे नहुँदा अहिले कम पानी पर्दा पनि ती सडक भत्किन थालेका छन् । ग्रामीण सडकले यहाँका बासिन्दालाई हिउँदको महिना केही सहज बनाउने गरेको छ तर बर्खाको समयमा भने उस्तै समस्या भोग्नु परिरहेको छ ।
खप्तड छेडेदह गाउँपालिकाका बासिन्दा पदम रोकायाले ग्रामीण सडकले हिउँदको महिना केही सहज बनाए पनि बर्खाको समयमा भने आउजाउ गर्न निकै सास्ती हुने गरेको बताउनभुयो । उहाँले भन्नभुयो, “स्थानीय सरकारले जसरी गाउँमा कच्ची रूपमा सडक पु-याउने काम गरेको थियो । त्यसै गरेर ती सडक कालोपत्रे गर्नुपर्ने हो तर अहिलेसम्म त्यतातिर ध्यान दिन सकेको छैन ।”
खप्तडछेडेदह गाउँपालिका–१, काँडा र २ को जयवागेश्वरी फलफूल तथा तरकारी उत्पादन हुने ठाउँका रूपमा चिनिन्छ । यहाँ कच्ची सडक पुगेको झन्डै चार वर्ष भयो तर अहिलेसम्म ती सडक हिउँदमा चल्ने र बर्खाको समय अवरुद्ध हुने गर्छन् ।
विसं २०७५ देखि बन्न थालेका ग्रामीण सडकले अहिले यहाँका स्थानीयलाई घरदेखि बजारसम्म आउजाउसँगै दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न निकै सहज बनाएको छ । गाउँसम्म सडक नहुँदा स्थानीय उत्पादनले बजार पाउन निकै गाह्रो थियो । अहिले गाउँमा सडक पुगेपछि यहाँका बासिन्दाले स्थानीय उत्पादन बजार लगेर बिक्री गर्ने गरेका छन् ।
खप्तड छेडेदह गाउँपालिकाका उपाध्यक्ष बिसु नाथले खप्तड छेडेदहका अधिकांश गाउँबस्ती सडकको पहुँचमा रहेको बताउनुभयो । उहाँले भन्नभुयो, “यहाँका बासिन्दालाई सहज हुने गरेर हामीले गाउँमा सडक पु-याउने कामलाई पहिलो प्राथमिकता दिएका थियौँ । अहिले यहाँका प्रत्येक गाउँबस्ती सडक सञ्जालको पहुँचमा छन् । सडकले यहाँका स्थानीयलाई गाउँमा उत्पादित कृषिउपज बजार लानसमेत निकै सहज बनाएको छ ।”
यी सडक सधैँ सञ्चालन हुने गरेर आगामी वर्ष सडक कालोपत्रे गर्ने कामलाई पहिलो प्राथमिकता दिइने योजना रहेको नाथले बताउनभुयो ।