‘राजवैद्य’ का थुप्रै पुस्ताले मल्लकालदेखिका राजपरिवार र खानदान घरानाको नाडी छामेर रोग पहिचान गरे । जडीबुटी खोजे, कुटे र आयुर्वेद ज्ञानमा अब्बलता हासिल गरे तर त्यही ‘राजवैद्य’ परिवारका विक्रम वैद्य चाहिँ विश्वभरका मानिसको जिब्रोले खोज्ने स्वाद पहिचान गरेर ‘पाककला’ मा विशिष्टता हासिल गर्नुभएको छ ।
पुख्र्यौली विरासतले विक्रमलाई औषधी विज्ञानतर्फ डोहो-याउन सकेन । उहाँमा मानिसले खोजेको स्वाद चिनेर मन जित्ने ‘पाककला’ प्रति गहिरो अनुराग थियो । त्यसै अनुरागले विक्रमलाई होटेल, रेस्टुरेन्ट व्यवसायतिर डोहो-यायो ।
सन् १९८९ तिर ठमेलमा ‘टम एन्ड जेरी बार’ खुल्यो । विक्रम वैद्य र पुष्करलाल श्रेष्ठले खोलेको त्यो बार त्यतिबेला खुवै चर्चित थियो । वैद्यका अनुसार सन् १९८९ मा विदेशी पर्यटक, सङ्गीतप्रेमी, साहसी पदयात्री र पर्वतारोहीका लागि रमाइलो गर्ने ठाउँका रूपमा ‘टम एन्ड जेरी’ पब केन्द्र नै थियो । त्यतिबेला ठुलो लगानीको बार आफैँमा अनौठो मानिएको थियो । पुष्करलाल श्रेष्ठ ‘टम’ र विक्रम वैद्य ‘जेरी’ भएर खुलेको बार आफैँमा नेपालको साहसिक पर्यटनको एउटा सशक्त साक्षी थियो । तथापि, त्यो पब खानपान र रमाइलोको थलो मात्र थिएन, बरु विश्वका प्रख्यात पर्वतारोही, साहसी पदयात्री र विदेशी कूटनीतिज्ञको साझा चौतारी जस्तै थियो । जहाँ साहसिक यात्रीका अनुभव, कथा, विश्व सङ्गीतको स्वाद र मित्रता एकआपसमा घुलित हुन्थ्यो । ‘टम एन्ड जेरी बार’ को ख्याति पर्यटक, कूटनीतिकमा मात्र सीमित रहेन, ‘द न्युयोर्क टाइम्स’ ले समेत जानैपर्ने ठाउँमध्ये एक स्थान भनेर बारको विषयमा स्टोरी नै छाप्यो ।
‘टम एन्ड जेरी बार’ ले नै विक्रमलाई अतिथि सेवाको अर्थ, पर्यटकसँगको अन्तव्रिर्mयाको महìव र राम्रो आतिथ्यले कसरी संस्कृतिलाई जोड्न सक्छ भन्ने वास्तविकता राम्रोसँग बुझायो ।
त्यसैले त स्वादको खोजी गर्दै विक्रमको पाइला अमेरिकाको ओरेगन, पोर्टल्यान्डदेखि नेपालका दुर्गम हिमाली भेग, पहाड र तराईसम्म फैलिएका छन् । त्यही घुमाइमै विव्रmमले अझ बुझ्नुभयो– नेपाली संस्कृतिको महìव । तथापि, पारिवारिक विरासतका कारण सानैदेखि विक्रमले घुम्नुभएको हो–
मधेशका मौजाहरू ।
पाककलामा बढ्दो रुचिलाई प्राज्ञिक पूर्णता दिन अमेरिकाको पोर्टल्यान्डस्थित विश्वप्रख्यात ‘वेस्टर्न कुलिनरी इन्स्टिच्युट’ पुग्नुभएका विक्रमले कुलिनरी आटर््समा स्नातक गर्नुभयो । त्यसपश्चात् उहाँले सानफ्रान्सिस्कोको चर्चित फरालोन र नेभाडाको बिस्ट्रो रोक्सी जस्ता उच्चस्तरीय भान्सामा स्टार सेफसँग काँधमा काँध मिलाएर तालिम लिनुभयो । जुन अनुभवले उहाँलाई विश्वस्तरको अनुशासन र सूक्ष्मता सिकायो ।
विश्वभरका विभिन्न जातीय र सांस्कृतिक परिकारको गहिरो अध्ययनपछि उहाँ पुनः आफ्नो माटोको सुगन्ध खोज्दै नेपाल फर्किनुभयो । उहाँले नेपालका कुनाकाप्चा पुगेर लोपोन्मुख जातीय परिकारको अनुसन्धान थाल्नुभयो । उहाँले परिकारको अनुसन्धान मात्र गर्नु भएन, नेपाली महिलालाई पश्चिमी पाककलाको तालिम दिएर उनीहरूको व्यावसायिक क्षमता वृद्धिमा सहभागी बन्नुभयो । योगदान दिनुभयो ।
वैद्यले ‘ले कोर्डन ब्लु’ मा अन्तर्राष्ट्रिय परिकार अध्यापन गरेर ‘ओरेगन कुलिनरी इन्स्टिच्युट’ को संस्थापक सदस्य एवं प्रमुख प्रशिक्षकका रूपमा ‘फन्डामेन्टल्स अफ क्युजिन’ मार्फत हजारौँ भान्सेको भविष्य कोर्ने काम गर्नुभएको छ । ‘प्रो सेफ्स ओरेगन’ को बोर्ड सदस्यका रूपमा उहाँले अमेरिकाको पाकनीति निर्धारणमा समेत आफ्नो भूमिका निर्वाह गर्नुभएको पाइन्छ । ‘भोजन नै औषधी हो’ भन्ने आयुर्वेदिक दर्शनलाई आत्मसात् गर्दै आफ्नो बिस वर्षको अनुभवलाई विव्रmमले ‘द मिस्टिक किचेन्स अफ नेपाल’ पुस्तकमा उतार्नुभएको छ । पुस्तक केवल रेसिपीको सङ्ग्रह मात्र होइन, बरु नेपालको भूगोल, इतिहास र संस्कृतिको स्वादिलो दस्ताबेज भएको उहाँको भनाइ छ ।
उहाँ सम्झनुहुन्छ, “हाम्रो घरमा खाना भोक मेटाउन वा स्वादका लागि मात्र थिएन । हामीलाई सधैँ खाना शरीरका लागि औषधी र ऊर्जा हो भनेर सिकाइयो ।”
जुन दर्शनको झल्को पुस्तक ‘मिस्टिक किचन अफ नेपाल’ मा पाइन्छ । पुस्तकले पाठकलाई काठमाडौँका प्राचीन गल्लीदेखि हिमाली भेग, तराई र पहाडका रैथाने चुलोसम्मको यात्रा गराउने छ । पुस्तकमा १५० भन्दा बढी मौलिक परिकार छन्, जसलाई आधुनिक भान्सामा सहजै बनाउन सकिने गरी परीक्षण गरिएको छ । पुस्तकभित्र खानाका परिकार बनाउने विधिसँगै प्रत्येक परिकारको ऐतिहासिक र सांस्कृतिक महìवबारे पनि चर्चा गरिएको छ । त्यसमाथि पुस्तकभित्र सजिएका जीवन्त फोटोग्राफीले नेपालको प्राकृतिक सुन्दरता र खानाको आकर्षणलाई हुबहु उतारिएको छ । सो पुस्तकले विश्वविख्यात ३१ औँ गुर्मान्ड अवाडर््स २०२५ मा ‘विश्वको उत्कृष्ट खाद्य पर्यटन पुस्तक’ को उपाधि जितेको थियो । चलचित्र दुनियाँको अस्कर अवार्ड जस्तै खानपिन दुनियाँको अस्कर जस्तै हो– गुर्मान्ड अवाडर््स । साह्रै प्रतिष्ठित र सम्मानित ।
यो किताबले गुर्मान्ड अवार्ड्स २०२५ जितेको धेरै नेपालीलाई थाहा छैन । तथापि, यही उपाधिले विव्रmम वैद्यलाई चाहिँ संसारभरि घुमाइरहेको छ । उहाँ भन्नुुहुन्छ– “यो उपाधि पाएपछि मेरो जीवनमा धेरै कोणमा सकारात्मक परिवर्तन भएको छ । उपाधिले मेरो कामलाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ, मेरो आत्मविश्वास झन् बढेको छ ।”
अमेरिकामा ‘वेस्टर्न कुलिनरी इन्स्टिच्युट’ मा पढ्दा गुरुले भनेका थिए, “आफ्नो देशको रेसिपी लेख ।”
त्यसपछि विव्रmमलाई प-यो आपत् । गुरुले अभिलेखीकरणको महìव पनि बताए । त्यसपछि उहाँमा लेखनको ऊर्जा पलायो । नेपाली रैथाने खानाका परिकारसँग गाँसिएका संस्कृति र परम्परा, परिकार बनाउने ज्ञान, सिपको अभिलेखीकरणको महìव विव्रmमले बुझ्नुभयो । त्यसपछिको निरन्तर १६ वर्षको खोजले जन्मिएको थियो– ‘मिस्टिक किचन अफ नेपाल’ ।
कोभिडले किताब लेखनको अवसर दिएको स्मरण गर्दै विव्रmम भन्नुहुन्छ, “मनमा हेक्का राखेर नेपाली खानाका बारेमा केही पुस्तक खोजेँ तर प्रभावकारी लागेन । संसार घुमेँ । थरी थरीका किताब जम्मा गरेँ । पढेँ, अमेरिकामा नै आफूले स्थापना गरेको ‘ओरेगन कुलिनरी इन्स्टिच्युट’ मा पढाएँ । यस व्रmममा अभिलेख त तयार भयो तर किताब बनेन । त्यत्तिकैमा कोभिड महामारीले संसार ठप्प भयो र सुरु भयो लेख्ने काम ।” वैद्यको यो यात्रा र उहाँको कृतिले ‘साङ्ग्र्रिला’ भनेर चिनिने नेपालको बिर्सिएको वैभवलाई विश्वसामु पुनः परिचित गराएको छ । नयाँ सिक्नेका लागि यो एउटा पाठ्यपुस्तक हो । अनुभवीका लागि एउटा अमूल्य सन्दर्भ ग्रन्थ । अन्ततः उहाँको पाककला र लेखनले एउटै कुरा प्रमाणित गर्छ– खाना केवल पेट भर्ने माध्यम होइन, यो त एउटा जीवित संस्कृति र सभ्यताको पहिचान हो ।