• १७ चैत २०८२, मङ्गलबार

मैदानको खेलाडी, मनको गायक

blog

काठमाडौँ, चैत १७ गते  । नेपाली सेनाबाट स्वैच्छिक अवकाश लिएका लेफ्टिनेन्ट कर्नेल डा. खेमबहादुर क्षेत्री साधना, साहस र सृजनाका प्रतिविम्ब हुनुहुन्छ । सैन्य पोसाकभित्र एउटा कठोर योद्धा, प्राज्ञिक क्षेत्रमा एक गहिरो अध्येता र कलाको मञ्चमा एक भावुक सर्जकका रूपमा उहाँ चिनिनुहुन्छ । 

पाल्पाको तानसेनस्थित तेलघाको प्राकृतिक काखमा जन्मिएका क्षेत्रीको नसा नसामा पहाडको दृढता र गाउँले माटोको सुगन्ध छ । सानैदेखि खेलकुद र सङ्गीतप्रति उहाँको लगाव अस्वाभाविक थियो । त्यो समय, जब मार्सल आटर््सलाई समाजले संशयको दृष्टिले हेथ्र्यो र सिक्ने अवसर सीमित थिए, उहाँले आफ्नो भित्री हुटहुटीलाई मर्न दिनुभएन । विद्यालय पढ्ने कलिलो उमेरमै स्वर्गीय गुरु निर्णय श्रेष्ठबाट क्योकुसिन कराँते सिक्दै उहाँले खेल जगत्मा पाइला टेक्नुभएको थियो । आजको उचाइमा पुग्नुमा उहाँको त्यो बाल्यकालको जग र दृढ इच्छाशक्ति नै मुख्य आधार मानिन्छ ।

उच्च शिक्षाका लागि पोखरा पुगेका क्षेत्री उसु खेलमार्फत आफ्नो शारीरिक र मानसिक सामथ्र्य तिखार्ने काम गर्नुभयो । नेपालमा आइटिएफ तेक्वान्दोको सुरुवाती चरणमा उहाँ एक सक्रिय साधकका रूपमा उभिनुभयो । सेतो बेल्टबाट सुरु भएको उहाँको त्यो यात्राले गुरुहरू राजकुमार थापा र किसान बरालको मार्गनिर्देशनमा निकै ठुलो फड्को मा¥यो ।

सन् २००० मा काठमाडौँमा सम्पन्न अन्तर्राष्ट्रिय सेमिनारमा तेक्वान्दोका संस्थापक जनरल चोई हङ हीबाट प्रत्यक्ष प्रशिक्षण लिन पाउनु उहाँको जीवनको स्वर्ण अक्षरले लेखिने क्षण बन्यो । सोही वर्ष पहिलो राष्ट्रिय आइटिएफ प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेपछि उहाँको खेल कौशलले राष्ट्रिय पहिचान पायो । अनुशासन, जीवनदर्शन र आत्मबलको त्रिवेणी मानिने तेक्वान्दोलाई उहाँ आफ्नो जीवनको मेरुदण्ड मान्नुहुन्छ ।

सैन्य सेवाको कठिन जिम्मेवारीमा रहँदा पनि उहाँले आफ्नो प्राज्ञिक प्यासलाई मेटाउन छोड्नुभएन । मानव अधिकार जस्तो गम्भीर र संवेदनशील विषयमा विद्यावारिधि गरेर उहाँले आफूलाई केवल कमान्डर मात्र नभई एक बौद्धिक व्यक्तित्वका रूपमा पनि स्थापित गर्नुभयो । शक्तिको अभ्यास गर्ने संस्थामा रहेर पनि मानव अधिकार र मानवीय मूल्यको वकालत गर्ने उहाँ एक सन्तुलित बहुआयामिक व्यक्तित्व हुनुहुन्छ ।

जसको हातमा हतियार थियो, त्यही हातले जब सारङ्गीको तार रेट्छ वा बाँसुरीमा मधुर धुन भर्छ, तब कोमल मनको परिचय खुल्छ । मादल, हार्माेनियम र बाँसुरी बजाउन सिपालु क्षेत्रीको साङ्गीतिक यात्रा विसं २०६० देखि व्यावसायिक रूपमा सुरु भएको हो । उहाँले हालसम्म थुप्रै गीतमा आफ्नो स्वर र सङ्गीत दिइसक्नुभएको छ ।

चर्चित गायिका अञ्जु पन्तसँगको सहकार्यदेखि हाल निर्माणाधीन चलचित्र ‘परी’ मा गायिका रचना रिमालसँग गाउनुभएको शीर्ष गीतसम्म आइपुग्दा उहाँले नेपाली सुगम सङ्गीतमा आफ्नो बलियो उपस्थिति जनाउनुभयो । सङ्गीतकार सुरेश गैरे र गीतकार दिनेश थपलिया जस्ता हस्तीसँगको सहकार्यले उहाँलाई एक परिपक्व गायक र सङ्गीतकारका रूपमा चिनाएको छ ।

अवकाशपछिको जीवनलाई उहाँले विश्रामको माध्यम बनाउनुभएन, बरु समाजसेवा र अध्ययनको नयाँ अध्याय सुरु गर्नुभयो । खेलकुदको विकास, नेपाली लोकसंस्कृतिको जगेर्ना र सामाजिक रूपान्तरणका अभियानमा उहाँ उत्तिकै सक्रिय हुनुहुन्छ । राष्ट्रप्रतिको जिम्मेवारी केवल बर्दी लगाउँदा मात्र हुँदैन भन्ने कुरा उहाँले आफ्नो सामाजिक सक्रियताबाट पुष्टि गर्नुभएको छ ।