काठमाडौँ, वैशाख २६ गते । काठमाडौँको जमलस्थित ‘एल्लो प्यागोडा होटेल’ को भान्सामा यतिबेला युद्धस्तरमा काम भइरहेको छ । भाँडाको आवाज, मसलाको सुगन्ध र ओभनको रापबिच एक जना व्यक्ति निकै शान्त मुद्रामा देखिनुहुन्छ । सेतो सुकिलो कोट र शिरमा ककर्ड सेफ ह्याट (टोपी) लगाउने राम खड्काको हातमा एउटा चक्कु छ र अगाडि विभिन्न तरकारी । उहाँको काट्ने शैलीमा यस्तो निपुणता छ, मानौँ कुनै कलाकारले क्यानभासमा कुची चलाइरहेको छ तर यी सिपालु हात र सुकिलो पोसाकको पृष्ठभूमिमा ओखलढुङ्गाका पहाड, अभावका काला रात र आँसुले निथ्रुक्क भिजेका विगतका पाना लुकेका छन् ।
आजभन्दा दुई दशकअघि ओखलढुङ्गाको एउटा दुर्गम गाउँमा खड्काको बाल्यकाल बितिरहेको थियो । बुबा भारतीय सेनामा हुनुहुन्थ्यो, आमा घरको खेतीपाती र मेलापातमा व्यस्त । पहाडको त्यो जीवन कठिन थियो । घरबाट बसपार्क पुग्नै दुई घण्टा ओरालो झर्नुपथ्र्यो । गाउँमा खेतीपातीको काम चल्थ्यो तर रामको मन कहिल्यै माटो र कोदालोसँग जोडिएन । उहाँ भन्नुहुन्छ, “दसैँमा जब काठमाडौँबाट मानिस नयाँ र सफा लुगा लगाएर गाउँ आउँथे, मलाई उनीहरूको त्यो चमक देखेर अचम्म लाग्थ्यो । मलाई पनि त्यस्तै सुकिलो बन्ने रहर थियो ।” त्यही रहरले उहाँलाई एसएलसीपछि काठमाडौँमा ल्याइपु¥यायो ।
सपना बोकेर काठमाडौँ छिर्नुभएका रामका लागि सहर सोचे जस्तो जादुमयी रहेन । न हातमा कुनै सिप थियो, न खल्तीमा पैसा । सुरुमा उहाँले एउटा मिठाई पसलमा जागिर सुरु गर्नुभयो, जहाँ उहाँको मासिक तलब मात्र चार सय रुपियाँ थियो । “त्यो समय सम्झिँदा अहिले पनि गला अवरुद्ध हुन्छ,” राम विगत कोट्याउनुहुन्छ, “कति रात आधा पेट भात र एक कप चियाको भरमा बिते । कोठामा पुग्दा भोकले पेट पोलिरहेको हुन्थ्यो तर भविष्यको आशाले आँसु पुछ्दै निदाइन्थ्यो ।” होटेलको चम्किलो ‘एग्जेक्युटिभ सेफ’ को पदसम्म आइपुग्न उहाँले भाँडा माझ्नेदेखि तरकारी काट्ने (हेल्पर) सम्मको काम निकै इमानदार भएर गर्नुभयो ।
रामको करियर ‘ओमी चाइनिज रेस्टुरेन्ट’ बाट औपचारिक रूपमा सुरु भयो । त्यसपछि उहाँले वैशाली होटेल (ठमेल), ठमेल इको होटेल र रोयल सिङ्गी जस्ता प्रतिष्ठित होटेलमा आफ्नो पसिना बगाउनुभयो । आज उहाँ नेपाली, भारतीय र इटालियन परिकारका ‘मास्टर’ मानिनुहुन्छ तर चिनियाँ खाना बनाउनुलाई अझै पनि एउटा चुनौतीका रूपमा लिने गर्नुहुन्छ । उहाँको एउटा दार्शनिक बुझाइ छ, “खाना केवल पेट भर्ने वस्तु होइन, यो त मुडको प्रतिविम्ब हो । कहिलेकाहीँ मेहनत गरेर बनाउँदा पनि पाहुना खुसी हुँदैनन्, कहिलेकाहीँ सामान्य कुराले पनि उनीहरूको मन जित्छ ।”
एल्लो प्यागोडा होटेलमा हुने राजनीतिक भेटघाट र समारोहका कारण रामले देशका शीर्ष नेतृत्वको स्वादलाई नजिकबाट चिन्ने मौका पाउनुभएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई रामले बनाएको रोस्ट चिकेन र ग्रिल चिकेन निकै मन पर्छ । केपी शर्मा ओलीको रोजाइमा जहिले पनि कुरिलोको सुप अग्रस्थानमा रहन्छ । शेरबहादुर देउवा र नन्दकिशोर पुन स्वास्थ्यप्रति सचेत रहँदै ‘बोइल्ड भेज’ (उसिनेको तरकारी) बढी रुचाउनुहुन्छ । राजनीतिज्ञ मात्र होइन, राजेश हमाल र भुवन केसी जस्ता कलाकार पनि रामले पस्केको कन्टिनेन्टल स्वादका फ्यान हुन् । रामलाई खाडी मुलुकबाट कामका लागि धेरै अफर आए तर उहाँले ती अवसरलाई सजिलै त्यागी दिनुभयो । उहाँको एउटै सपना छ, युरोप वा बेलायतका ठुला भान्सामा उभिएर विश्वलाई नेपाली स्वादको परिचय दिने । उहाँ भन्नुहुन्छ, “मलाई पैसा मात्र कमाउनु छैन, मलाई मेरो कलाले संसारभर चिनिनु छ ।”