• २५ वैशाख २०८३, शुक्रबार

कोहलपुर गोल्डकपः पुलिस क्लब फाइनल प्रवेश

blog

बिहीबार भएको खेलमा प्रतिस्पर्धा गर्दै नेपाल पुलिस क्लब र रोयल फुटबल क्लब कर्णालीका खेलाडी । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, वैशाख २५ गते । बाँकेको कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले रोमाञ्चक जित हात पारेको छ । 

बिहीबार बेलुका भएको खेलमा रोयल फुटबल क्लब कर्णालीलाई टाइब्रेकरमा ५–३ गोलले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । अब उपाधिका लागि पुलिसले आयोजक रेसिङ साहारा क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

खेलको सुरुदेखि दुबै टोली आक्रामक शैलीमा उत्रिएका थिए । खेल निर्धारित ९० मिनेटको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पुलिसका कप्तान राम वगाले, सञ्जिव लामा, हेमन्त श्रेष्ठ, सुजन मगर र अनिल टमाटोले गोल गर्दै टिमलाई जित दिलाउनुभयो । 

रोयलका करण शाही, दिवस विसी र बिक्रम ओलीले मात्र गोल गर्न सफल हुनुभयो । कप्तान सुदन विकको सुरूकै प्रहार गोलपोष्टबाट बाहिरिएपछि रोयलमाथि दबाब बढेको थियो । खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेर गणेश पुन मगर ‘प्लेयर अफ दी म्याच’ घोषित हुनुभयो । उहाँले ५ हजार रुपियाँ नगद र ट्रफी प्राप्त गर्नुभयो ।

वैशाख २६ गते हुने फाइनल खेलमा आयोजक रेसिङ साहारा क्लब र नेपाल पुलिस क्लबबिच उपाधिका लागि प्रतिस्पर्धा हुने छ । २०७९ मा सम्पन्न प्रथम कोहलपुर गोल्डकपको उपाधि एफसी क्लब क्यामरुन (क्यामरुन)ले जितेको थियो ।

दोस्रो संस्करणको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८०’ को उपाधि त्रिभुवन आर्मी क्लब र ‘तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप–२०८१’ को उपाधि राइजिङ स्टार फुटबल क्लबले जितेका थिए । प्रतियोगिता वैशाख २६ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताको विजेताले आठ लाख तथा उपविजेताले चार लाख रुपियाँको नगद पुरस्कार प्राप्त गर्ने छन् ।