जनार्जन खत्री
सर्लाही, वैशाख २५ गते । सर्लाहीको बरहथवामा प्रहरीले १६ वर्षकी एक बालिकाको विवाह रोकेको छ । बरहथवा नगरपालिका–६, मुसहर बस्तीमा बालविवाह हुन लागेको सूचना पाएपछि त्यहाँ पुगेको प्रहरीले विवाह रोकेको हो ।
१६ वर्षकी बालिकाको आउने आइतबार सर्लाहीकै चन्द्रनगर गाउँपालिका–४, पोखरियामा विवाहको कार्यक्रम तय भएको थियो । स्थानीयबाट बालविवाह हुन लागेको सूचना पाएपछि अभिभावकलाई सम्झाइबुझाइ गरी विवाह रोकिएको इलाका प्रहरी कार्यालय बरहथवाका महिला तथा बालबालिका, ज्येष्ठ नागरिक सेवा केन्द्रका इन्चार्ज एवं प्रहरी निरीक्षक सुष्मा कठायतले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रहरीसहित वडाध्यक्ष, कर्मचारीलगायत गएर बालविवाह नगर्न–नगराउन सचेत गराइएको छ । २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाउने कानुनी प्रावधान रहेको छ ।
कानुन अनुसार २० वर्ष पुगेपछि मात्र विवाह गर्न सचेतना जगाउँदै अहिले विद्यालयमा पुगेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको प्रहरी निरीक्षक कठायतले बताउनुभयो ।