वासिङ्टन, वैशाख २५ गते । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तीन वटा अमेरिकी नौसेनाका ‘डेस्ट्रोयर’ सुरक्षित रहेको र कुनै क्षति नभएको जानकारी दिनुभएको छ । ती युद्धपोत हालै हर्मुज जलडमरूमध्य पार गर्ने क्रममा रहेका थिए ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ती युद्धपोत ‘विश्वस्तरीय’ भएको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार जहाजले सुरक्षित रूपमा आफ्नो यात्रा पूरा गरेको छ । अमेरिकी सैन्य स्रोतका अनुसार, सो क्षेत्रमा इरानी पक्षबाट मिसाइल, ड्रोन तथा साना जहाजमार्फत अमेरिकी नौसैनिक जहाजलाई लक्षित गरिएको थियो ।
तर अमेरिकी सेनाले ती आक्रमणलाई सफलतापूर्वक रोक्दै आवश्यक प्रतिकारात्मक कारबाही गरेको बताइएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकी जहाजमा कुनै क्षति नभएको स्पष्ट पार्दै इरानी आक्रमणकारीलाई भने उल्लेखनीय क्षति पुगेको दाबी गर्नुभएको छ । साथै, उहाँले भविष्यमा यस्ता गतिविधि दोहोरिए अझ कडा र प्रभावकारी प्रतिक्रिया दिइने चेतावनी पनि दिनुभएको छ ।
उहाँले इरानलाई छिटो कूटनीतिक सम्झौता गर्न आग्रह गर्दै, भविष्यमा थप कडा कदम चालिन सक्ने सङ्केत पनि गर्नुभएको छ । हर्मुज जलडमरूमध्य विश्वको अत्यन्त महत्त्वपूर्ण तेल आपूर्ति मार्ग मानिन्छ । पछिल्लो समय यस क्षेत्रमा देखिएको तनावले अन्तर्राष्ट्रिय सुरक्षा तथा ऊर्जा आपूर्तिमा चिन्ता बढाएको छ । अमेरिकी अधिकारीले आफ्नो सेनालाई सुरक्षा गर्न पूर्णरूपमा सक्षम रहेको जनाउँदै, परिस्थितिलाई थप जटिल बनाउन नचाहेको पनि स्पष्ट पारेका छन् । यस क्षेत्रको अवस्थालाई लिएर अन्तर्राष्ट्रिय समुदायले समेत नजिकबाट निगरानी गरिरहेको बताइएको छ । रासस/सिन्ह्वा