अर्जुन काफ्ले
स्याङ्जा, वैशाख २६ गते । जिल्लाको विकासका लागि महत्वपूर्ण मानिएका योजनामा बजेट व्यवस्थापन हुन नसक्दा यहाँको सगम्र विकास प्रभावित हुने भएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा पूर्वाधार विकास कार्यालय स्याङ्जाले निर्धारण गरेका विभिन्न १० वटा योजना अलपत्र पर्ने भएका छन् । चालु आर्थिक वर्षमा निर्माण हुने भनिएका १२१ योजनामध्ये १०३ वटा योजना कार्यान्वयनमा गएकोमा आठ वटा योजना कार्यान्वयनमा लैजाने गरी मूल्याङ्कनको अन्तिम चरणमा पुगेको सो कार्यालयले जनाएको छ ।
अलपत्र परेका योजनामध्ये सबैभन्दा ठुलो छ करोड बजेटको ज्याग्दीखोला कोरिडोरको विकासनिर्माण रहेको कार्यालयले जनाएको छ । चार करोड रुपियाँ लागत लाग्ने छ वटा योजना विवादका कारणले लागत अनुमानको चरणमै पुग्न सकेको छैन ।
तीन करोड रुपियाँ लागत अनुमान गरिएको बिरुवा–धोबादी हुँदै राङखोला जोड्ने सडक पनि बजेट अभावमा अलपत्र छ । त्यसै गरी संशोधन र ठेक्का आह्वान गर्न नसक्नेमा झन्डै दुई करोड रुपियाँ लागत अनुमान गरिएका १० वटा योजना अलपत्र पर्ने पक्का भएको कार्यालयका निमित्त प्रमुख इन्जिनियर गुरुदत्त अधिकारीले बताउनुभयो । यहाँ छ वटा योजनामा स्थानीयस्तरमा विवाद छ भने अन्य दुई योजनामध्ये संशोधन गर्न‘पर्ने र ठेक्कामा लैजान नसक्ने अवस्थामा रहेको इन्जिनियर अधिकारीले बताउनुभयो ।