• २६ वैशाख २०८३, शनिबार

घरदैलोमा राहदानी

blog

सुर्खेत समाचारदाता

सुर्खेत, वैशाख २६ गते । सुर्खेतका सबै स्थानीय तहमा हुलाकमार्फत जनताको घरदैलोमा राहदानी पु¥याउन सुरु भएको छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेत र हुलाक निर्देशनालय सुर्खेतबिच बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको थियो । जिल्ला प्रशासन कार्यालय, सुर्खेतका तर्फबाट प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्याय र हुलाक निर्देशनालयका तर्फबाट हुलाक निर्देशक गोविन्दप्रसाद पाण्डेले सेवा सुचारु गर्ने गरी हस्ताक्षर गर्नुभएको हो । 

राहदानी विभागबाट राहदानी प्राप्त भइसकेपछि जिल्ला प्रशासन कार्यालयबाट सुर्खेतस्थित हुलाक निर्देशनालयले राहदानी बुझी सेवाग्राहीको घरदैलोमा वितरण गर्ने जनाइएको छ । वितरण गरिसकेको राहदानीको जानकारी हुलाक निर्देशनालयले जिल्ला प्रशासन कार्यालयलाई दिनु पर्छ ।  

हुलाक निर्देशनालय सुर्खेतका सूचना अधिकारी सुनिता खत्रीले आगामी आइतबारदेखि घरदैलोमा राहदानी पु¥याउने तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार हाल राहदानी मात्र हुलाकमार्फत बुझाइने छ । नागरिकताका सम्बन्धमा भने प्रशासन तथा इलाकामा सम्बन्धित व्यक्तिको औँठाको छापसमेत आवश्यकता पर्ने हुँदा त्यस बारेमा कुनै निर्णय नभएकाले पहिलो चरणमा हुलाकले राहदानी पु¥याउन सम्झौता गरेको उहाँको भनाइ छ । 

नेपाल सरकार मन्त्रीपरिषद्को गत चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको बुँदा नं. २७ मा सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी विकास गर्ने नीति अनुसार  राहदानी नागरिकता, प्रतिलिपि, लाइसेन्सलगायत सरकारी कागजात घरमै पु¥याउने जनाएको थियो । 

यसैबिच दैलेख पञ्चकोशी समाचारदाताका अनुसार दैलेखवासीको राहदानी घरमै पुग्ने भएको छ । सार्वजनिक सेवा प्रवाहलाई सहज, छिटो र प्रविधिमैत्री बनाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय दैलेखबिच समझदारीपत्रमा हस्ताक्षर भएसँगै उक्त सेवाको सुरु गरिएको हो ।

सम्झौतापत्रमा प्रमुख जिल्ला अधिकारी आन्दह सारुमगर र जिल्ला हुलाक कार्यालय प्रमुख निर्मला थापाले हस्ताक्षर गर्नुभएको हो । वैशाख २६ गतेदेखि नै जारी हुने राहदानी सेवाग्राहीको इच्छा अनुसार हुलाकमार्फत घरमै पु¥याइने प्रमुख जिल्ला अधिकारी सारुमगरले बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयमै पुगेर राहदानी बुझ्न चाहने सेवाग्राहीका लागि पुरानै व्यवस्था यथावत् रहने जानकारी दिनुभयो ।

यस्तै जिल्ला हुलाक कार्यालयका प्रमुख निर्मला थापाले राहदानी लिन प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता अब हट्ने बताउनुभयो । उहाँले राहदानी वितरणलाई थप सहज, व्यवस्थित र सेवामैत्री बनाउन जिल्ला प्रशासन कार्यालय परिसरमै हुलाक काउन्टर सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “घरमै राहदानी बुझ्ने सेवा पूर्ण रूपमा स्वेच्छिक हो । जिल्ला प्रशासन कार्यालयबाटै राहदानी लिन चाहनेले सामान्य प्रव्रिmया पूरा गरे पुग्छ भने हुलाकमार्फत घरमै राहदानी बुझ्न चाहने सेवाग्राहीले थप फाराम भर्नुपर्ने छ । घरसम्म पु¥याउँदा हुलाक ऐन अनुसारको दस्तुर भने लाग्ने छ ।”

जिल्लामा लागु भएको उक्त सेवा अन्तर्गत राहदानीका लागि आवेदन दिने सेवाग्राहीले चाहेको खण्डमा आफ्नै घरमा राहदानी बुझ्न सक्ने छन् । जिल्ला प्रशासन कार्यालय दैलेखका अनुसार नागरिकलाई घरदैलोमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यो सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।