नेपाली छापाखानाको इतिहास केलाउँदा १९०८ सम्म पुग्नु पर्छ । १९०८ सालमा पहिलोपल्ट स्थापना भएको छापाखानालाई ‘गिद्धे प्रेस’ नामले चिनिन्छ । प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायत भ्रमणबाट १९०८ सालमा फर्कदा ल्याएको हाते छापाखानाबाट नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास सुरु भएको पाइन्छ । त्यसपछि सरकारी र निजी छापाखानाको स्थापना हुँदै इतिहास छ ।
नेपालमा प्रेस भित्रिएको ५० वर्षपछि विसं १९५८ वैशाख २४ गतेदेखि प्रकाशन सुरु भएको गोरखापत्र नेपालको पहिलो समाचारपत्र हो । प्रकाशनको १२६ बर्से यात्रामा रहेको गोरखापत्रले लेटर प्रेस, अफसेट प्रेस, डिजिटल प्रविधि र रङ्गीन छपाइ प्रविधिमा गरेको सुधार उल्लेखनीय छ ।
नेपाली मुद्रणमा गोरखापत्रले विभिन्न आयाम भित्र्याएको छ । लेटर प्रेसबाट मुद्रण सुरु गरेको गोरखापत्रले अफसेट प्रेस हुँदै डिजिटल प्रविधिको प्रवेश र रङ्गीन छपाइ प्रविधिसम्मको यात्रा तय गरेको छ । छापाखाना भित्रिएको समयमा राणा–परिवार र दरबारका गुरुबाहेक सर्वसाधारणको छापाखाना थिएन । छापाखानामा सरकारी इस्तिहार, लिफा, टिकट आदि सरकारी कागजपत्र छपाउँदा पनि प्राइम्मिनिस्टरको सनद अनिवार्य हुन्थ्यो ।
नेपाली छापाखानाको इतिहास केलाउँदा १९५० सालसम्म फाटफुट रूपमा दुई–तीन प्रेस भित्रिएको पाइन्छ । मनोरञ्जन प्रेस, नारायणहिटी छापाखाना, जङ्गी लिथोग्राफी छापाखाना आदि प्रारम्भिक संस्थाले मुद्रण कार्यलाई अघि बढाएको पाइन्छ ।
१९१९ सालमा ‘मोक्ष–सिद्धि’ जस्तो पुस्तक छापिनु र १९२७ सालमा ऐनसम्बन्धी पुस्तक प्रकाशित हुनु यसै प्रक्रियाका उदाहरण हुन् । सीमित स्रोत र प्रविधिका बावजुद यी प्रेसहरूले ठुलो आकारका पुस्तक छाप्न सफल हुनु उल्लेखनीय उपलब्धि मानिन्छ । निजी क्षेत्रबाट मुद्रण उद्योगको विकासमा ‘पशुपत छापाखाना’ को भूमिका अत्यन्त महत्वपूर्ण रह्यो । विसं १९५० मा यसको स्थापना भएको प्रमाण भेटिन्छ । यस छापाखानाले नेपाली कागजको प्रयोग, छिटो पुस्तक छपाइ र नयाँ नयाँ प्रकाशनमार्फत नेपाली साहित्य र ज्ञानको विकासमा महत्वपूर्ण योगदान पुर्याएको पाइन्छ । भानुभक्त र मोतीराम भभट्ट जस्ता स्रष्टाका कृतिहरूको पुनर्मुद्रण तथा नयाँ पुस्तक प्रकाशनले नेपाली भाषिक र साहित्यिक चेतनालाई व्यापक बनाएको थियो । पशुपत प्रेसबाट विसं १९५५ मा ‘सुधा सागर’ नामक साहित्यिक पत्रिका प्रकाशित भयो । त्यसपछि विसं १९५८ वैशाख २४ गते देवशमशेरको पहलमा ‘गोर्खापत्र’ साप्ताहिक पत्रिकाको प्रकाशन सुरु भयो, जसले नेपालमा पत्रकारिताको औपचारिक सुरुवात ग¥यो ।
नेपालमा मुद्रण प्रविधि (छापाखाना) को स्थापना हुनुअघि हातैले पुस्तक लेख्ने गरिएको पाइन्छ । यस्ता पुस्तकहरू एकातिर पहेँलो, एकातिर सेतो रङ भएको नेपाली बाक्लो घोटुवा पाको कागजमा पाको कालो रङको मसीले र कालो रङ्गको बाक्लो घोटुवा कागजमा सुनौलो मसी (सुनको जलपको मसी) ले हातले लेख्ने चलन थियो । प्रेस कमिसनको रिपोर्ट, २०१५ का अनुसार १९१९ सालमा मनोरञ्जन प्रेसबाट संस्कृतमा ‘मोक्ष–सिद्धि’ नामक पुस्तक रणोद्दीपको सुपरिन्टेन्डेन्टमा केदारनरसिंहद्वारा छापियो । त्यसपछि १९२७ सालमा प्रोपाइटर कमान्डर इन चिफ रणोद्दीपको मर्जीमुताबिक कप्तान विजयजङ्ग पाण्डे क्षत्रिणा शोधितः सन् अक्षर विन्यासी डिट्ठा वीरबहादुर भन्ने लेखिएको ऐनको किताब छापियो । प्रेस कमिसनको रिपोर्ट (२०१५) का अनुसार यसबाट उक्त मनोरञ्जन प्रेसले सरकारी तथा गैरसरकारी दुवै काम गरेको देखिन्छ । समयका दृष्टिले सीमित साधनबिच त्यस प्रेसले १०/१२ साइजको १२ सय पेजी ठेली पुस्तक निकाल्न सक्नु वास्तवमा प्रशंसनीय र महत्वपूर्ण कुरो हो । त्यसपछि दोस्रो प्रेस नारायणहिटी छापाखाना (१९३३) मा मुद्रित कवाजसम्बन्धी एउटा पुस्तक भेटिएको छ ।
त्यसपछि चाहिँ वसन्तपुर जङ्गी लिथोग्राफी छापाखानामा १९४९ सालतिर मुद्रित कवाजसम्बन्धी अर्को पुस्तक पनि प्राप्त छ । सरकारसँग भएका गोरखापत्र छापाखानासम्बन्धी सनद सवाल हेर्दा तात्कालिक समयमा सरकारको टिकट ‘अया’ नामक एउटा छापाखाना भएको बुझिन्छ । यसबाट सरकारी टिकट लिफाहरू त्यसै प्रेसमा छापिने कुरो सिद्ध हुन्छ । एक वर्षभित्र यस प्रेसले दुई/तीन वटा ठाउँ फेर्यो । यही अनुपातले यसको नाम पनि क्रमशः ‘गोरखा पत्र जङगी लिथो–छापाखाना’ (श्रावण १९५६), ‘टाइप छापाखाना’ (भाद्र १९५६) र पछि फेरि केवल ‘छापाखाना’ भएको देखिन्छ । संवत् १९३० देखि १९३३ को बिचमा छापाखाना नामको (प्रेस) पनि स्थापना भयो । यो छापाखाना तत्कालीन नेपालका प्राइम्मिनिस्टर श्री ३ महाराज वीरशमशेर जङ्गबहादुर राणाको निवासस्थान नारायणहिटीमा थियो । यस कुराको पुष्टि ‘पैदल फौजको कवायद’ भन्ने किताबमा ‘नारायणहिटी छापाखानामा संवत् १९३३ साल । छापन्या सार्जन लक्षमण गुरू भनी लेखिएको र १९४४ साल पौष सुदी १ रोज ६ को सनदमा ‘छापाखानाका पंडीत साधुराम पाध्याले पुर्जि हेरी खोरीया फाडने लकडी चोर्यालाई यस्तो यस्तो हुन्याछ भन्या मसौदा बमोजिम इस्तीहार ६००० छपाई काठ महाल बन्दोबस्त नयाँ मुलुक बन्दोबस्तमा दिन्या काम गर’ भनी लेखिएकोबाट हुन्छ । योबाहेक अर्को एउटा सरकारी छापाखाना पनि थियो । यसलाई ‘जंगी लिथोग्राफी छापाखाना’ भनिन्थ्यो । यो छापाखाना १९४९ सालभन्दा अगाडिदेखि नै वसन्तपुरमा थियो (देवकोटा, २०५९) ।
विसं २००७ को राजनीतिक परिवर्तनपछि नेपालमा छापाखानाको विकास क्रमिक रूपमा भएको पाइन्छ । गोरखापत्र संस्थानको अभिलेख अनुसार खप्ने जिन्सी सामानको अभिलेख अनुसार, आर्थिक वर्ष २०३४/३५ मा गोरखापत्रमा जर्मनीको मिलर कम्पनीमा निर्मित सिङ्गल कलर (मिलर अफसेट मेसिन) सिटफेड अफसेट ल्याइएको थियो, जुन गोरखापत्रमा अद्यावधिक चालु हालतमा रहेको छ । २०३४ सालभन्दाअघि गोरखापत्र संस्थानमा रहेका लेटर प्रेसमध्ये दुई वटा हाइडलवर्ग, दुई वटा भिक्टोरिया, एउटा बेलायती भेन गार्ड, एउटा सेन्चुरी र एक थान टेडल ब्रान्डका मेसिन संस्थानका प्रकाशनको छपाइमा प्रयोग भएका थिए । गोरखापत्रलाई छिटो छपाइका लागि संस्थानले २०३७ साल कात्तिक १४ गते खरिद गरेको ओरियन्ट ब्रान्डको प्रतिघण्टामा १६ हजार कपी आठ पृष्ठ छाप्ने वेब अफसेट मेसिन भित्र्याएको थियो । २०४० सालमा बन्धु वेब मेसिन प्रतिघण्टा २० हजार र प्रति आठ पृष्ठ गोरखापत्र छाप्ने मेसिन ल्याई जडान गरेको थियो ।
गोरखापत्र संस्थानको अभिलेख अनुसार २०४३/२०४४ सालमा चाइनिज अफसेट मेसिन (टु कलर, सिटफेड) खरिद भयो । कम्पोज प्रविधितर्फ पनि हाते कम्पोज प्रविधियुक्त लाइनो तथा मोनो ब्रान्डका हट मेटल कम्पोज हुँदा २०३८ सालमा भेरिटाइपर मेसिन जडान गरी सोही मेसिनबाट कम्पोज ब्रोमाइडमार्फत पेज बनाउने काम भयो । संस्थानका प्रकाशनलाई अझ छिटो प्रकाशित गरी पाठकसमक्ष पुर्याउन संस्थानले २०४८ सालमा प्रतिघण्टा ३० हजारप्रति छाप्ने सुपर वेब अफसेट मेसिन खरिद गरी प्रविधिमा एक कदम अगाडि बढेको थियो । यस्तै २०५० असोज १३ गते गोरखापत्र संस्थानले सुपर ओरियन्ट वेब अफसेट मेसिन र २०५२ भदौ २८ गते लिथो टेक्स टुइन फ्रेम प्रिन्टिङ डाउन युनिट, २०५९ असार २२ गते ओरियन्ट सुपर वेब अफसेट फोर एचआई कलर मेसिन, २०७२ माघ २३ गते भ्वोइलेट सिटिपी मेसिन, २०७१ जेठ २ गते वेब अफसेट प्रिन्टिङ मेसिन फोर एचआई नयाँ खरिद गरेको थियो ।
गोरखापत्र संस्थानको अभिलेख अनुसार आर्थिक वर्ष २०५८/५९ मा संस्थानले फोर कलर फोरआई मेसिन १६ पृष्ठ एकै पटक छाप्ने मेसिन खरिद गरेको थियो । त्यसका साथै संस्थानले क्रियो ब्रान्डको हङकङमा निर्मित इमेजसेटर मेसिन खरिद गरी आफ्ना प्रकाशनको गुणस्तर सुधारमा प्रयास गरेको थियो तर नयाँ प्रविधिसँग उपयुक्त जनशक्तिको विकासमा संस्थानको चासोको अभावले उक्त प्रविधि संस्थानमा धेरै समय चल्न सकेन ।
गोरखापत्र संस्थानसँग हाल कम्प्युटर टु प्लेट मेसिन (सिटुपी) मेसिन काठमाडौँ, विराटनगर र कोहलपुर गरी तीन वटा रहेका छन् । काठमाडौँमा रहेको सिटुपी मेसिन थर्मल (तापीय) प्रविधि अन्तर्गतको मेसिन हो । यो मेसिन र प्लेट दुवै थर्मल प्रविधि अन्तर्गतका हुन् । यो ग्लेज प्रिन्ट मेसिन २०७२/७३ सालमा खरिद गरिएको हो । गोरखापत्र विराटनगर कार्यालयमा लेजर भ्वाइलेट प्रविधिको सिटुपी मेसिन २०७६ भदौमा सञ्चालन भएको हो । यस्तै कोहलपुर कार्यालयमा २०७८ चैतमा जडान भएको लेजर प्रविधिको सिटुपी मेसिन हो । यो न्युजप्रिन्ट मेसिन २०७८ साल चैतमा सञ्चालनमा आएको पाइन्छ । गोरखापत्र संस्थानसँग काठमाडौँस्थित कार्यालयमा २०६६ सालमा खरिद गरिएको ‘दी प्रिन्टर हाउस दिल्ली’ निर्माण गरेको सुपर ओरियन्ट (आठ कलर, आठ श्याम÷श्वेत अर्थात् १६ पेज एकै पटक छाप्ने मेसिन रहेको छ । त्यसको केही वर्ष अर्थात् २०७७ सालमा अर्को मेसिन युनिट थपियो र अहिले १२ प्लस आठ गरी एकै पटक २० पेज छापिन्छ । यो मेसिन १५ वर्ष पुरानो मेसिन हो । अहिले काठमाडौँमा गोरखापत्रसँग पाँच वटा मेसिन छन् । जसमा तीन वटा रङ्गीन (कलर) युनिट, दुई वटा श्याम/श्वेत युनिट छन् । जसले एकै पटक १२ प्लस आठ गरी २० पेज छाप्छ । यो मेसिनले अहिले ३६ हजार प्रतिघण्टा (सिपिएच कपी पर आवर) का दरले पत्रिका छाप्छ । गोरखापत्रको विराटनगर कार्यालयमा रहेको वेब अफसेट मेसिन, प्रेस लाइन इन्डियाले निर्माण गरेको एक्सेल मेसिन हो । यो वेब अफसेट मेसिन २०७५ फागुन १६ गते खरिद गरिएको हो । विराटनगरमा २०७६ साल भदौमा यो मेसिन जोडिएको हो । दुई वटा कलर, दुई श्यामश्वेत गरी आठ कलर, आठ श्यामश्वेत छाप्ने १६ पेज एकै पटक छापिन्छ ।
गोरखापत्रको कोहलपुर संस्करण प्रिन्ट गरिरहेको मेसिन २०५७ मा ‘दी प्रिन्टर हाउस इन्डिया’ को ओरियन्ट ब्रान्डको हो । यसले चार प्लस १२ गरी चार कलर १२ श्यामश्वेत छाप्छ । यहाँ एक कलर तीन श्याम/श्वेत मेसिन युनिट छन् । यसले पनि ३६ हजार प्रति प्रतिघण्टा छाप्छ । यही मेसिनबाट गोरखापत्र दैनिक श्यामश्वेतबाट रङ्गीन (कलर) प्रिन्टमा गएको हो । संस्थानको पछिल्लो फड्को विसं २०७७ मा ‘साकुराई’ ब्रान्डको फोर कलर सिटफेड मेसिन खरिदलाई मान्न सकिन्छ । सो मेसिनबाट संस्थानका मासिक प्रकाशनको कभर पेज, क्यालेन्डर र अन्य व्यावसायिक काम गर्न सकिन्छ ।