अजय शाहर
गौशाला (महोत्तरी), वैशाख २६ गते । महोत्तरीका अधिकांश युवाको सपना अझै पनि वैदेशिक रोजगारीमै सीमित छ । राम्रो आम्दानीको आशामा दैनिक सयौँ युवा गाउँघर छाडेर विदेशिने क्रम जारी छ । तर यही भिडबाट फरक बाटो रोज्दै स्वदेशमै कृषि क्षेत्रमा लागेका एक युवा कृषकले मिहिनेत र लगानीमार्फत सफलता हासिल गरेका छन् ।
सम्सी गाउँपालिका–५, गाढाका रामध्यान मण्डल अहिले महोत्तरीका सफल युवा कृषकका रूपमा परिचित हुनुहुन्छ । उहाँको सफलताले गाउँका धेरै युवालाई कृषितर्फ आकर्षित गरिरहेको छ ।
केही वर्षअघि रामध्यान मण्डल पनि वैदेशिक रोजगारीको सपना बोकेर विदेश जानुभएको थियो । सन् २०१५ मा रोजगारीका लागि विदेश जानुभएका उहाँ १३ महिनामै स्वदेश फर्किनुभयो । विदेशमा कठिन श्रम, परिवारबाट टाढा बस्नुपरेको पीडा र असुरक्षित जीवन अनुभवपछि उहाँले आफ्नै देशमा केही गर्ने अठोट लिनुभयो । त्यसपछि कृषि क्षेत्रलाई नै आफ्नो भविष्य बनाउने निर्णय गर्नुभयो ।
आज उहाँ रामगोपालपुर नगरपालिका–स्थित लक्ष्मीपुर क्षेत्रमा वर्षौँदेखि बाँझो रहेको जमिनलाई उत्पादनशील बनाएर व्यावसायिक तरबुजा खेती गरिरहनुभएको छ । माध्यमिक विद्यालय बसपिट्टीको २२ बिघा जमिन वार्षिक ६ लाख ५० हजार रुपियाँमा लिजमा लिएर सुरु गरिएको खेतीमध्ये करिब ७ बिघा जमिनमा अहिले तरबुजा खेती भइरहेको छ । यस खेतीमा हालसम्म करिब १४ लाख रुपियाँ लगानी भइसकेको उहाँले बताउनुभयो ।
तरबुजा खेतीबाट पहिलो चरणमै करिब ३ लाख ५० हजार रुपियाँ बराबरको उत्पादन बिक्री भइसकेको छ । यस सिजनमा करिब २५ लाख रुपियाँसम्म आम्दानी गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । अहिले उहाँ खेतमै बसेर तरबुजाको स्याहार–सुसार, कामदार व्यवस्थापन र बजारसम्म ढुवानीको काममा व्यस्त हुनुहुन्छ । उत्पादन जनकपुर, ढल्केवर, बर्दिबासलगायत बजारमा बिक्री भइरहेको छ । बजारमा राम्रो माग भएकाले बिक्रीमा समस्या नभएको उहाँको अनुभव छ ।
रामध्यान मण्डलले “माँ वैष्णोदेवी कृषि फर्म” मार्फत पछिल्लो ६ वर्षदेखि सम्सी गाउँपालिका र रामगोपालपुर नगरपालिकामा करिब ५४ बिघा जमिनमा फलफूल, तरकारी, माछापालन तथा कुखुरापालन गर्दै आउनुभएको छ । उहाँको फर्ममा हाल १६ देखि १७ जनाले रोजगारीसमेत पाएका छन् । कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउँदै स्वदेशमै रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण उहाँले प्रस्तुत गर्नुभएको छ ।
यद्यपि कृषि क्षेत्रमा चुनौती पनि धेरै रहेको उहाँ बताउनुहुन्छ । बाली चोरी हुने, नीलगाई, बँदेल र बाँदरजस्ता जङ्गली जनावरले क्षति पुर्याउने तथा सुरक्षाको अभावजस्ता समस्याले किसानलाई कठिनाइ हुने उहाँको भनाइ छ । सिँचाइका लागि पानी र विद्युतको सहज पहुँच नहुँदा खेती गर्न थप समस्या भएको उहाँले बताउनुभयो । सिँचाइका लागि उहाँले दमकल प्रयोग गर्दै आउनुभएको छ ।
सरकारले किसानलाई समयमा मल, बिउ, सिँचाइ र विद्युत उपलब्ध गराए कृषि क्षेत्रबाट अझ बढी लाभ लिन सकिने उहाँको विश्वास छ । स्थानीय सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा नराख्दा धेरै किसान आकर्षित हुन नसकेको उहाँको भनाइ छ ।
तरबुजा खेतीबारे जानकारी दिँदै उहाँले पुसदेखि माघसम्मको समय उपयुक्त हुने बताउनुभयो । यसपालि भारतको मद्रासबाट बिरुवा ल्याई माघमा रोपिएको उहाँले जानकारी दिनुभयो । बिरुवा रोपेको करिब ७० दिनमा फल लाग्ने र ९० दिनभित्र बजारमा पठाउन सकिने उहाँको अनुभव छ । गर्मीयाममा माग बढी हुने भएकाले तरबुजा खेती लाभदायक बन्दै गएको उहाँ बताउनुहुन्छ ।
रामध्यान मण्डलको सफलताले अहिले धेरै युवा प्रभावित भएका छन् । विदेश जाने सोच बनाएका युवासमेत उहाँसँग परामर्श लिएर तरकारी, माछापालन, केरा तथा तरबुजा खेतीतर्फ आकर्षित हुन थालेका छन् । “विदेशमा पसिना बगाउनुको सट्टा आफ्नै देशमा मिहिनेत गर्दा परिवारसँगै बसेर सम्मानपूर्वक जीवनयापन गर्न सकिन्छ,” उहाँ भन्नुहुन्छ ।
कृषिमा ठुलो सम्भावना रहेको उल्लेख गर्दै उहाँले सरकारको उचित सहयोग र पूर्वाधार विकास भए हजारौँ युवा विदेशिनुपर्ने बाध्यता अन्त्य हुन सक्ने धारणा व्यक्त गर्नुभयो । उहाँको सफलताले महोत्तरीका युवामा स्वदेशमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाएको छ ।
मण्डलको कृषि सफलता बारे जानकारी पाएपछि मधेश प्रदेशका सभामुख रामअशिष यादवले हालै उहाँको कृषि फर्मको अवलोकन गर्दै प्रशंसा गर्नुभएको थियो । उहाँले युवालाई कृषि क्षेत्रमा आकर्षित गरेको भन्दै मण्डललाई धन्यवाद दिनुभयो ।
यसअघि महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायत सुरक्षा निकायका प्रमुखहरूले समेत उहाँको कामको प्रशंसा गर्दै सम्मान गरेका थिए ।